ट्रम्प र मेलोनीबीचको विवाद के हो ?

ट्रम्पको आक्रोश– संकको बेला इटालीले साथ दिएनू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीचको विवादले झन् जटिल रूप लिएको छ । डोनाल्ड ट्रम्पले फेरि एकपटक मेलोनीको आलोचना गरेका हुन् ।

ट्रम्पले अनुसार अमेरिकाले दशकौंदेखि इटालीको रक्षा गर्दै आएको छ, तर जब परीक्षाको घडी आउँछ, तब उनीहरू अमेरिकाको साथमा हुँदैनन् ।

डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा सोमबार लेखेका छन्, ‘नेटोमा खर्बौं डलर खर्च गरेपछि पनि इटाली र त्यहाँकी प्रधानमन्त्री इरानको आणविक खतरालाई लिएर हाम्रो साथमा उभिने सोचसमेत राख्दैनन् ।’

‘दशकौंदेखि हामी उनीहरूको रक्षा गर्छौं, तर जब परीक्षाको समय आउँछ, तब उनीहरू हाम्रो र संसारको रक्षाका लागि उपस्थित हुँदैनन् यो राम्रो होइन,’ उनले थपे ।

ट्रम्प र मेलोनीबिचको यो पछिल्लो विवादलाई बुझ्नका लागि केही समय अगाडिका घटनाक्रम र दुई देशबीचको बदलिँदो भू-राजनीतिक सम्बन्धलाई हेर्नुपर्ने हुन्छ । 

वैचारिक रूपमा दक्षिणपन्थी विचारधाराका कारण यी दुई नेताबीच पहिले निकटता देखिने गरेको थियो, तर सत्तामा आएपछि मेलोनीले इटालीको राष्ट्रिय स्वार्थ र युरोपेली संघ (ईयू) सँगको सन्तुलित सम्बन्धलाई प्राथमिकतामा राखिन्, जसले ट्रम्पको अपेक्षा अनुसारको ‘पूर्ण समर्थन’ पाउन सकेन । 

ट्रम्पको लामो समयदेखिको गुनासो भनेकै युरोपेली देशहरूले नेटोमा पर्याप्त रक्षा खर्च नगरेको र अमेरिकाले सुरक्षाको बोझ बोकिरहेको भन्ने हो । यही कारणले उनले पटक–पटक इटाली जस्ता देशहरू संकटको घडीमा आफ्नो साथमा नउभिएको आरोप लगाउँदै आएका छन् ।

यसपटकको विवादको मुख्य कारक भने ‘फोटो डिप्लोमेसी’ बनेको छ । ट्रम्पले एउटा इटालेली टेलिभिजनमा जी–७ सम्मेलनको प्रसङ्ग कोट्याउँदै मेलोनीले आफूसँग तस्बिर खिचाउन अनुरोध/बिन्ती गरेको दाबी गरेपछि परिस्थिति एकाएक तातियो । 

यो टिप्पणी मेलोनीका लागि आफ्नो प्रतिष्ठामाथिको प्रहार थियो, जसका कारण उनले तुरुन्तै भिडिओ सन्देश जारी गरी ट्रम्पको दाबी ‘पूर्ण रूपमा मनगढन्ते’ रहेको भन्दै खण्डन गरिन् । 

यसले दुई नेताको व्यक्तिगत सम्बन्धमा मात्र नभई कूटनीतिक स्तरमै चिसोपना ल्याइदियो, जसको परिणामस्वरुप इटालीका विदेशमन्त्री एन्टोनियो तायानीले आफ्नो नियोजित अमेरिका भ्रमण नै रद्द गरे । 

विशेषगरी, इरानको आणविक मुद्दा र मध्यपूर्वको रणनीतिमा अमेरिकाले खोजेको जस्तो साथ युरोपेली देशहरूबाट नपाउनु नै ट्रम्पको पछिल्लो आक्रोशको वास्तविक राजनीतिक पृष्ठभूमि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Share News