काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति चुनावलाई ‘लज्जास्पद’ र ब्राजिलका जनताका लागि ‘अपमानजनक’ भएको टिप्पणी गरेका छन् ।
वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ब्राजिलको चुनावमा आफूले कुनै पनि उम्मेदवारको पक्ष नलिएको दाबी गरे ।
उनले भने, ‘मैले चुनावमा कसैको पक्ष लिएको थिइनँ । तर, ब्राजिलमा जे भयो, त्यो देखेपछि त्यसलाई शब्दमा व्यक्त गर्नै गाह्रो भयो ।’
ब्राजिलको राष्ट्रपति चुनावमा लुइज इनासियो लुला दा सिल्भाले शानदार पुनरागमन गर्दै जित हासिल गरेका छन् । यो जितसँगै वर्कर्स पार्टीका ८० वर्षीय नेता लुलालाई चौथोपटक राष्ट्रपति बन्ने अवसर मिलेको छ ।
उनले राष्ट्रपति चुनावमा कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।
आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा लगभग सबै मतगणना सकिँदा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत पाएका छन् ।
फ्लाभियो जेलमा रहेका ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुन् ।
लुलाको जित विभिन्न चुनावी सर्वेक्षणका अनुमानविपरीत आएको हो । ती सर्वेक्षणहरूले बोल्सोनारोले झिनो मतान्तरले अग्रता लिने अनुमान गरेका थिए ।
यसअघि अक्टोबरको सुरुवातमा भएको पहिलो चरणको मतदानमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोले करिब दुई प्रतिशत अंकको अग्रता हासिल गरेका थिए ।
तर, दोस्रो चरणको मतदानमा लुलाले नतिजा उल्ट्याउँदै जित हासिल गरेका हुन् ।