काठमाडौं । जापानका अधिकारीहरूले पाकिस्तानीहरूले बिना अनुमति निर्माण गरेको एउटा मस्जिद भत्काउने आदेश दिएका छन् ।
जापानको यस मस्जिदमा जानेहरूमा पाकिस्तानका कयौं वरिष्ठ कूटनीतिज्ञहरू सामेल थिए । मस्जिदको उद्घाटनमा पाकिस्तानी राजदूत आफै पुगेका थिए ।
जापान ‘सिटी प्लानिङ एक्ट’ अन्तर्गत गैर–कानुनी निर्माण र जोनिङ नियमहरूको उल्लंघनका कारण यो मस्जिद भत्काइने जनाइएको छ । यसलाई ‘जामा मस्जिद रमजान’ नाम दिइएको छ ।
यो मस्जिद कावागोए सहरको शिमो–अकासाकामा अवस्थित छ । जापानका लागि पाकिस्तानका राजदूत अब्दुल हमीदले यस मस्जिदको उद्घाटन गरेका थिए ।
जापानी अधिकारीहरूले यसलाई आवश्यक स्वीकृति बिना नै बनाइएको बताएका छन् ।
अनुसन्धानबाट उक्त भवन सिटी प्लानिङ एक्ट अन्तर्गत आवश्यक अनुमति नलिइकनै निर्माण गरिएको खुलेको छ ।
कावागोए सहरका अधिकारीहरूको भनाइ छ कि यो भवन एउटा प्रतिबन्धित क्षेत्रमा बनाइएको थियो । विशेष अनुमति नलिएसम्म यहाँ कुनै पनि निर्माण कार्य गर्न पाइँदैन ।