बेजोस, ब्लू ओरिजिन र ट्रम्प-मस्क सम्बन्ध

काठमाडौं । अमेजनका फाउन्डर तथा अर्बपति जेफ बेजोसले स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क र अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निकट सम्बन्धले आफ्नो अन्तरिक्ष कम्पनी ‘ब्लू ओरिजिन’लाई कमजोर नबनाउने उल्लेख गरेका छन् । आइतबार समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा उनले नयाँ प्रशासनको अन्तरिक्ष योजनाबारे आफू ‘धेरै आशावादी’ रहेको पनि बताए । बेजोसले भने, ‘एलनले यो काम सार्वजनिक हितका लागि गरिरहेको र व्यक्तिगत फाइदाका लागि होइन भन्ने स्पष्ट पारेका छन् । म उनलाई यसै रूपमा लिन्छु ।’ ब्लू ओरिजिनका संस्थापक बेजोसको कम्पनी अन्तरिक्ष उद्योगमा स्पेसएक्ससँग प्रतिस्पर्धा गर्छ । फ्लोरिडाको केप क्यानाभेरलमा ब्लू ओरिजिनको ३० तले रकेटको पहिलो प्रक्षेपणको तयारी भइरहेको छ । यो रकेटले स्पेसएक्सको बजार प्रभुत्वलाई चुनौती दिने र ब्लू ओरिजिनको उपग्रह प्रक्षेपण व्यवसायमा लामो समयदेखि प्रतीक्षित प्रवेशलाई सुरु गर्ने अपेक्षा गरिएको छ । मस्कले ट्रम्पलाई जिताउन चुनावको बेला २५ करोड डलरभन्दा बढी खर्च गरेका छन् र अन्तरिक्षसम्बन्धी मामिलामा निर्वाचित राष्ट्रपतिको ध्यान आकर्षित गरेका छन् । गत महिना उनले चन्द्रमामा जानेभन्दा सिधै मंगल ग्रहमा मिसन पठाउनुपर्ने बताएका थिए, जसले नासाको अन्तरिक्ष अन्वेषण कार्यक्रममा ठूलो परिवर्तनको चिन्ता बढाएको छ । बेजोस चन्द्रमा र मंगल ग्रह दुबैमा जानुपर्ने विचार राख्छन् । उनले भने, ‘मेरो आफ्नै विचारमा हामीले दुवै गर्नुपर्छ- हामी चन्द्रमामा जानुपर्छ र मंगल ग्रहमा पनि जानुपर्छ ।’ नासाको मुन प्रोग्रामको परिवर्तनको सम्भावनाबारे सोध्दा बेजोसले भने, ‘हामीले सुरु गरिसकेपछि रोक्ने काम गर्नु हुँदैन । हामीले मुन प्रोग्रामलाई जारी नै राख्नुपर्छ ।’ ट्रम्पको दोस्रो कार्यकालमा नासाको मुन प्रोग्राममा व्यापक परिवर्तन गर्ने र मंगल ग्रहमा मिसन पठाउनमा बढी ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ । बेजोसको ब्लू ओरिजिनले नासासँग चन्द्रमामा अवतरण गर्ने ठूला सम्झौताहरू पाएको छ, जसले स्पेसएक्ससँगको प्रतिस्पर्धामा थप बलियो बनाउँछ । यसैबीच, अमेजनले ट्रम्पको उद्घाटन समारोहलाई आर्थिक सहयोग गरेको छ र प्राइम भिडियोमा यसको प्रत्यक्ष प्रसारण गर्ने योजना बनाएको छ । अन्तरिक्ष उद्योगमा बेजोस र मस्कबीचको प्रतिस्पर्धा बढ्दै गएको छ, जसले नयाँ प्रविधि र अन्वेषणका लागि मार्ग प्रशस्त गरिरहेको छ। बेजोस मस्क-ट्रम्प सम्बन्धलाई आफ्नो कम्पनीका लागि खतरा देख्दैनन् र नयाँ प्रशासनको अन्तरिक्ष योजनाबारे आशावादी छन् । यो प्रतिस्पर्धाले अन्तरिक्ष अन्वेषणमा नयाँ युगको सुरुवात गरेको छ, जहाँ निजी कम्पनीहरूको भूमिका बढ्दै गएको छ । यसले भविष्यमा अन्तरिक्षमा नयाँ उपलब्धिहरूको सम्भावनालाई उजागर गर्नसक्छ । सान्दर्भिक सामग्री  स्पेसएक्सको वृद्धि अधिक विस्फोटक, टेस्लालाई पछि पार्ने स्टारलिंकलाई चुनौती दिँदै चिनियाँ स्याटेलाइट प्रोजेक्ट, अरू पनि प्रतिस्पर्धामा

एप्पलमा ‘नवप्रवर्तन’को अभाव र ‘मनपरि नियम’ भएको जुकरबर्गको आरोप

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले हालैको एक पोडकास्ट अन्तर्वार्तामा एप्पलको आलोचना गरेका छन् । उनले एप्पलमा नवप्रवर्तनको अभाव भएकाे र मनपरी नियमको आलोचना गरे । ‘एकातिर आइफोन उत्कृष्ट भएको छ, किनकि अब संसारमा लगभग सबैसँग फोन छ र त्यसले धेरै अद्भूत चीजहरूलाई सक्षम बनाउँछ,’ जुकरबर्गले  ‘जो रोगन एक्सपेरियन्स’ को एक एपिसोडमा भनेका छन्, ‘तर अर्कोतर्फ … तिनीहरूले त्यो प्लेटफर्म प्रयोग गरेर धेरै नियम राखेका छन् जुन मलाई मनोमानी लाग्छ ।’ ‘मलाई लाग्छ कि एप्पलले केही समयदेखि केही महान आविष्कार गरेकाे छैन । यो स्टिभ जब्सले आइफोन आविष्कार गरेजस्तै हो र अहिले २० वर्षपछि पनि कम्पनी त्यसैगरी बसिरहेकाे छ,’उनले थपे । जुकरबर्गले आइफोनले बिक्री संघर्ष गरिरहेको आफूले सोचिरहेको बताए । उनका अनुसार उपभोक्ताहरूले आफ्नो फोन अपग्रेड गर्न धेरै समय लिइरहेका छन् किनभने नयाँ मोडलहरू अघिल्ला मोडलभन्दा खासै सुधार भएका छैनन् । जुकरबर्गले एप्पलको ३० प्रतिशत डेभलपर शुल्क र तेस्रो पक्ष उपकरणहरूको सीमित पहुँचको पनि आलोचना गरे । उनले भने, ‘उनीहरूले एयरपड्सजस्ता उत्पादनहरू बनाउँछन्, जुन राम्रो छ तर अरू कसैलाई पनि आइफोनसँग सजिलै जडान गर्नसक्ने उपकरण बनाउन पूर्ण रूपमा रोक लगाएका छन् ।’ एप्पलले उपभोक्ताको गोपनीयता र सुरक्षालाई कारण देखाएर आफ्नो नीति बचाऊ गर्ने गरेकोमा जुकरबर्गले भने, ‘यो असुरक्षित छ किनभने तपाईंहरूले यसमा कुनै सुरक्षा निर्माण गर्नुभएको छैन ।’ उनले एप्पलको ‘मनपरी नियमहरू’ हटाइए मेटाको नाफा दोब्बर हुन सक्ने दाबी पनि गरे । एप्पलको भिजन प्रो हेडसेटको आलोचना गर्दै उनले भने, ‘एप्पलले ३ हजार ५०० डलरमा यस्तो केही पठाए जुन हामीले ३०० वा ४०० मा पठाएको भन्दा खराब छ ।’ भिजन प्रो हेडसेटको बिक्री अमेरिकामा निराशाजनक थियो । मेटाले मेटा क्वेस्ट भनिने आफ्नै भर्चुअल हेडसेटहरू बेच्दै आइरहेको छ। जुकरबर्गको यो टिप्पणीले एप्पल र मेटाबीचको प्रतिस्पर्धालाई थप उजागर गरेको छ ।

सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिवन्ध

काठमाडौं । मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवद्र्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिवन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ । जुलाई १, २०२५ मा लागू हुने यो प्रतिवन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ । खाना र पेय पदार्थको मार्केटिङले बच्चाको पोषण ज्ञान, खानाको प्राथमिकता र उपभोग ढाँचालाई असर गर्नसक्ने बताइएको छ ।