एक रुमको अपार्टमेन्टबाट देसाईले बनाए १० हजार ४६ करोडको सम्पत्ति

दिल्ली । गुजरात स्टेटकाे सूरतका सबैभन्दा धनी व्यक्ति अश्विन देसाईको कथा प्रेरणाले भरिपूर्ण छ । कुनै समय उनी एउटा रुम भएको अपार्टमेन्टमा बस्थे । आज उनको कुल सम्पत्ति १० हजार ४६ करोड भारु छ । देसाई इथर इन्डस्ट्रिजका संस्थापक हुन् । उनले सन् २०१३ मा यस कम्पनीको बीजाराेपण भएकाे थियाे । साेही कम्पनीले उनलाई अर्बपति बनाएको छ । आउनूहोस्, उनको सफलताको यात्राको बारेमा छाेटकरीमा चर्चा गरौं : २०१३ मा कम्पनीकाे सुरुवात देसाईले २०१३ मा इथर इन्डस्ट्रिजको स्थापना गरेका थिए । आज यो कम्पनी कृषि रसायन, औषधि, तेल र ग्यासजस्ता उद्योगहरूमा विशेष रसायन आपूर्ति गर्ने प्रमुख कम्पनी बनेको छ । इथरको गुजरातमा दुईवटा कारखाना छन् । उनका छोराहरू रोहन र अमनले व्यवसाय सञ्चालन र प्राविधिक पक्षहरू सम्हाल्छन् । यससँगै देसाईकी पत्नी पूर्णिमा बोर्डकी सदस्य हुन् । जुन २०२२ मा देसाईले आफ्नो कम्पनीलाई पब्लिक बनाएर १०.३ करोड डलर उठाए । कम्पनीको सेयर १० प्रतिशत प्रिमियममा शेयर बजारमा सूचीकृत भएको थियो । यसले देसाईलाई अर्बपति बनायाे । १९७६ बाटै यात्रा सुरु देसाईको उद्यमी यात्रा १९७६ मा सुरु भएको थियो । त्यसपछि उनले आफ्नाे ज्वाइँसँग विशेष रसायन व्यवसाय सुरु गरे । फोर्ब्सको रिपोर्टका अनुसार देसाई आफ्नी आमासँग सुरत गएका थिए, जहाँ उनका ज्वाइँ बस्थे। देसाईकाे मन आफ्नाे केही गर्ने दृढ संकल्प थियो । उनले सुरुदेखि नै आफ्नो व्यवसाय सुरु गरेका थिए । उनका ज्वाइँलाई पनि केमिकल उद्योगको बारे कुनै ज्ञान थिएन । एउटा रुमकाे अपार्टमेन्ट सुरतमा एक रुमको अपार्टमेन्टमा बस्दा देसाईले सहरको बाहिरी भागमा एउटा इनारसहितको सानो खेत भाडामा लिएका थिए । यहाँ उनले सल्फ्युरिल क्लोराइड उत्पादन सुरु गरे । यो एक धेरै खतरनाक अकार्बनिक कम्पाउन्ड हो । त्यो बेला याे भारतमा आयात भइरहेको थियो । याे केमिकलले डाई र औषधी उद्योगमा महत्त्वपूर्ण भूमिका खेल्छ । बिस्तार हुँदै काराेबार आफ्नो व्यावसायिक सफलता बाहेक देसाई पौडी र कवितामा निकै रुचि राख्छन् । इथर इन्डस्ट्रीज अझै विस्तार भइरहेको छ । कम्पनीले सुरतमा अर्को कारखानाको खाेल्नका लागि जग्गा हेरिसकेकाे छ । सूरतका दोस्रो धनी व्यक्ति फारुक जी पटेल हुन् । उनको कुल सम्पत्ति ९ हजार ७ सय करोड भारु छ । पटेल केपी ग्रुपका मालिक हुन् । यो समूह हरित ऊर्जा क्षेत्रमा काम गर्दछ । एनजे इन्डिया इन्भेष्टमेन्टका नीरज चोक्सी सूरतका अर्बपतिहरूमध्ये तेस्रो स्थानमा छन् । उनी ९ हजार ६ सय करोड रुपैयाँको सम्पत्तिका मालिक हुन् ।

शीर्ष धनीको सूचीमा किन पर्न चाहँदैनन् चीनका टाइकुनहरू ? यस्तो छ कारण

ई-कमर्स कम्पनी पीडीडीका संस्थापक कोलिन ह्वाङ । फाइल तस्बिर । तस्बिर: ब्लुमबर्ग । काठमाडौं । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यहाँका जनताको सम्पत्ति द्रूत गतिमा बढिरहेको छ तर चिनियाँ टाइकुनहरू अरबपतिहरूको सूचीमा शीर्षमा रहन चाहँदैनन् । यसको कारण हाे- चिनियाँ कम्युनिष्ट पार्टीले अति धनीलाई निशाना बनाउनु । गत महिना ई-कमर्स कम्पनी पीडीडीका संस्थापक कोलिन ह्वाङ चीनको सबैभन्दा धनी व्यक्ति बनेपछि चर्चामा आए । तर उनको नाम चर्चामा आएपछि पीडीडीले नाफाको अनुमानलाई कम गरेर लगानीकर्ताहरूलाई छक्क पार्‍यो । यसको सेयरमा भारी गिरावट आएको छ । ह्वाङले रातारात १४ अर्ब डलर गुमाए र पेय पदार्थ कम्पनी नोङफु स्प्रिङका संस्थापक शान्सन झोङ फेरि चीनको शीर्ष अर्बपति बने । २४ घण्टाभित्र नोङफु स्प्रिङले अप्रत्याशित रूपमा आफ्नो निराशाजनक आउटलुक जारी गर्‍यो र झोङ पनि चाँडै धनी सूचीमा पहिलो स्थानबाट झरे । उक्त घटनाबाट सरकारी कारबाहीबाट बच्न कर्पोरेट दिग्गजहरूले कसरी आफ्नो सेयर मूल्यलाई प्रभाव पार्न सक्छन् भनेर चिनियाँ सोशल मिडियामा छलफल सुरु भयो । सी चिनफिङको ‘साझा समृद्धि’ अभियानको मुख्य जोड भनेको उच्च धनीहरूमाथि कारबाही गर्नु हो । एक वाल स्ट्रीट ब्रोकरले ‘चीनमा के कोही पनि धनी व्यक्ति बन्न चाहँदैन?’ भन्ने कुराकाे निष्कर्षमा पुग्न असम्भव भएकाे बताए । पुरानो मानसिकता सन् १९७० को दशकको उत्तरार्धमा देङ सियाओपिङ सर्वोच्च नेता बनेपछि पुरानो माओवादी मानसिकता परिवर्तन गर्न काम सुरु गरे । विशेषगरी धन कमाउने प्रति वैचारिक शत्रुता परिवर्तन हुन थाल्यो । बढ्दो पुँजीवादी राष्ट्रमा धनी बन्नु ठूलो कुरा हो भनी उनले सोचे । धनी बन्नु शानदार थियो तर धेरै धनी बन्नु थिएन । चीनले अन्य विकासोन्मुख देशहरूको तुलनामा धेरै सम्पत्ति आर्जन गरिरहेको थियो, तर पनि नाइजेरिया, मेक्सिको र भारतलगायत साना अर्थतन्त्रहरूको तुलनामा यसको सबैभन्दा ठूलो व्यक्तिगत सम्पत्ति मामूली नै रह्यो । २००० दशकाे आर्थिक छलाङकाे समयमा पनि त्यहाँ एक अलिखित सीमा थियो । उक्त सीमाले कसैको व्यक्तिगत सम्पत्ति १० बिलियन डलरभन्दा बढी बढ्न दिँदैन थियाे । कम्तीमा दुई अर्बपतिहरूको कुल सम्पत्ति २०१० को प्रारम्भमा १० बिलियन डलरकाे नजिक पुगेकाे थियाे । तर चाँडै नै उनीहरू भ्रष्टाचारको आरोपमा जेल परे । आरोप निराधार थिए भन्न सकिँदैन तर यसले शंका भने उब्जाएकाे छ । निशानामा काे छ ? सत्तारूढ दललाई हरेक व्यवसायको सम्पूर्ण जानकारी भएकाले धेरै उद्यमी डरले बाँचिरहेका थिए । सन् २०१२ मा सी जीनपीङ सत्तामा आएपछि उनले कुलीन वर्गहरूमाथि भ्रष्टाचारविरुद्धको अभियान चलाए । सुरुमा सार्वजनिक पदमा रहेका ठूला व्यक्तिहरू उनको निशानामा थिए । तर चीनको अर्थतन्त्र सुस्त भएपछि ठूला टेक कम्पनीहरू पनि सरकारको निशानामा परेका छन् । पछिल्ला वर्षहमा धेरै चिनियाँले १० बिलियन अमेरिकी डलरभन्दा बढीको नेट वर्थ बनाए । यसमा अलिबाबाका संस्थापक ज्याक मा सबैभन्दा अगाडि थिए । यो अवस्था २०२० मा परिवर्तन भयो । चीनले लगभग २४० अरबपतिहरू उत्पादन गर्‍याे जुन अमेरिकाको दोब्बर संख्या हो । २०२० काे अन्त्यमा ज्याक माले चीनको सरकारको आलोचना गर्दै भाषण दिए । उनीमाथि कडा कारबाही भयो । अलिबाबाको सेयर मूल्य घट्यो । ज्याक मा धनीहरूको सूचीबाट झरे र जनताको नजरबाट गायब भए । अर्को वर्षको सुरुमा सीले आफ्नो ‘साझा समृद्धि’ अभियान सुरु गरे । चिनियाँ नेतृत्वको ‘समानतावादी’ मूल्यमान्यतासँग मेल नखाने सबै कम्पनीहरू विरुद्ध कारबाही गरियो । बढ्दै छ समस्या चीनमा धेरै धनी हुनु खतरनाक छ । दबाबका कारण भेन्चर क्यापिटल वित्त सुक्न थालेपछि युवाहरू इन्भेष्टमेन्ट अनि बैंकिङजस्ता आकर्षक पेशामा करिअर बनाउन डराउँछन् । धनाढ्यहरू द्रूत गतिमा देश छाडिरहेका छन् । कारबाही सुरु भएदेखि चीन छोड्ने करोडपतिहरूको संख्या बढ्दै गएको छ । गत वर्ष यस्ताे संख्या १५ हजारभन्दा बढी पुगेको थियाे । यो कुनै पनि अन्य देशको तुलनामा धेरै हो । यसकाे प्रमाण याे पनि हाे कि निजी क्षेत्र अब चीनमा पछि हटिरहेको छ । यसले चीनलाई महाशक्ति बनाउन महत्त्वपूर्ण भूमिका खेल्‍याे तर चिनियाँ सरकारकाे नीतिले उल्टै असर गरिरहेकाे छ । २०२१ देखि सेयर बजार ओरालो लागेको छ । तर सरकारी कम्पनीहरूले कुल बजार पूँजीकरणमा आफ्नो हिस्सा एक तिहाइभन्दा धेरै बढाएर ५० प्रतिशत पुर्‍याएका छन् । चीन अहिले विश्वको एक मात्र ठूलो सेयर बजार हो जहाँ सरकारी स्वामित्वका कम्पनीहरूको मूल्य निजी क्षेत्रका कम्पनीहरूको बराबर छ । पछिल्लो तीन वर्षमा व्यक्तिगत सम्पत्तिमा नाटकीय रूपमा गिरावट आएको छ । चीनमा अर्बपतिको संख्या ३५ प्रतिशतले घटेको छ भने बाँकी विश्वमा १० प्रतिशतले बढेको छ । – एजेन्सीहरूकाे सहायताबाट

‘एप्पल’को जागिर छाडेर निर्मितले बनाए ‘९ हजार करोड’को कम्पनी

निर्मित पारेख । फाइल तस्बिर । काठमाडौं । मुम्बईको मायानगरीमा रहेकाे एक साधारण परिवारका निर्मित पारेखले एप्पलजस्तो ठूलो कम्पनीमा जागिर छोडेर ९ हजार करोडको बिजनेश खडा गर्न सफल भएका छन् । उनले ‘अपना’ नामको प्लेटफर्म बनाएका छन् । यसले ब्लु कलर जब (शारीरिक श्रममा आधारित) खोज्नेहरू र कम्पनीहरूलाई जोड्दछ । स्थापना भएकाे २२ महिनामा कम्पनी १.१ बिलियन डलर (लगभग ९ हजार १६ करोड भारु)को भएको छ। आज ‘अपना’ मा १ लाख ५० हजार‍भन्दा बढी कम्पनी दर्ता भएका छन् । यसमा अनएकेडेमी, ‍बिगब्यास्केट, लिसियस, ह्वाइटह्याट जुनिअर, फ्लिपकार्ट, जाेमाटाे, डेल्हीवेरीजस्ता ठूला नाम समावेश छन्। काे हुन् निर्मित पारेख? उनकाे बारेमा संक्षिप्तमा जानाैं । सानैदेखि केही फरक गर्न चाहना राख्ने पारेखमा सानैदेखि केही फरक गर्ने विचार थियो । ७ वर्षको उमेरमा उनले डिजिटल घडी बनाएका थिए । त्यसपछि १३ वर्षको उमेरमा उनले रोबोटिक्स प्रोग्रामिङ सिके । पारेखले गुजरातको ‘निरमा इन्स्टिच्युट अफ टेक्नोलोजी’बाट बीटेक गरे। २१ वर्षको उमेरमा आफ्नो पहिलो स्टार्टअप सुरु गरे । जसको नाम इन्कोन टेक्नोलोजी थियो । यो कम्पनीले बाढी व्यवस्थापनका लागि समाधान तयार गर्ने गर्दथ्यो । स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए इन्काेनपछि पारेखले क्रक्सबक्स नामको अर्को कम्पनी खोले । पछि उनले यसलाई इन्टेललाई बेचेका थिए । त्यसपछि उनले डाटा एनालिटिक्सको निर्देशकको रूपमा इन्टेलमा काम गर्न थाले । यस अवधिमा उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए पनि गरे । एमबीए गरेपछि पारेख एप्पल कम्पनीसँग जाेडिए । त्यहाँ उनी आईफोन उत्पादन र रणनीति टोलीको एक हिस्सा बनेका थिए । यसरी सुरु भयो ‘अपना’ भारतमा ब्लु कलर जागिरको क्षेत्रमा देखिएको समस्या देखेर पारेखले एप्पलको जागिर छोडेर भारत फर्कने निर्णय गरेका हुन् । उनको उद्देश्य एउटा प्लेटफर्म सिर्जना गर्नु थियो जसले असंगठित ब्लु कलर जबका कामदारहरूलाई रोजगारदाताहरूसँग जोड्न सकाेस् । उनले कोरोना महामारीअघि नै ‘अपना’ सुरु गरेका थिए । ब्लु कलर जब शारीरिक श्रममा आधारित हुन्छ । २२ महिनामै धमाका स्थापना भएको २२ महिनामा अपनाले निकै धमाका गरिसकेकाे छ । कम्पनी १२५ प्रतिशतकाे प्रभावशाली दरमा बढ्दै गइरहेकाे छ । अहिले भारतमा १ लाख ५० हजारभन्दा बढी कम्पनीहरूले अपनाकाे प्रयोग गरिरहेका छन् ।