संसारभरि सेयर बजारमा गिरावट, धनीहरूको सम्पत्तिमा के भयो उतारचढाव ?

काठमाडौं । यो साता भारतको सेयर बजारमा गिरावट आएको छ । यस अवधिमा सेन्सेक्स ४००० अंकभन्दा बढीले घट्यो र लगानीकर्ताहरूले १ सय ६० खर्ब रुपैयाँ गुमाए । शुक्रबारको गिरावटका कारण देशका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थ १६ अर्ब ६२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ३६ खर्ब १२ करोड रुपैयाँले घटेको छ । योसँगै उनको कुल सम्पत्ति १ खर्ब ५ अर्ब डलरमा झरेको छ । देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा १४औं र एसियामा पहिलो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ८ अर्ब ९३ करोड डलरले बढेको छ । यसैबीच अडानी समूहका अध्यक्ष गौतम अडानी १ खर्ब डलर क्लबबाट बाहिरिएका छन् । शुक्रबार उनको कुल सम्पत्ति ९ करोड ४० लाख डलरले घट्यो र उनी १८औं स्थानमा झरेका छन् । योसँगै उनको कुल सम्पत्ति ९९ अर्ब ५० करोड डलरमा झरेको छ । यस वर्ष उनको कुल सम्पत्ति १५ अर्ब २० करोेड डलरले बढेको छ । उता, विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टका संस्थापक वाल्टन परिवारका तीन सदस्यको नेटवर्थ अहिले अडानीको भन्दा बढी छ । यसमा जिम वाल्टन (१ खर्ब ३ अर्ब डलर), रोब वाल्टन (१ खर्ब र एलिस वाल्टन ९१ खर्ब) पर्छन् । अमेरिकी सेयर बजारमा शुक्रबार निकै वृद्धि भएको छ । जसका कारण त्यहाँका धनीहरूको नेटवर्थ निकै बढेको छ । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति ६ अर्ब ७३ करोड डलरले सबैभन्दा बढी वृद्धि भएको छ । उनी २ खर्ब ६३ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । मार्क जुकरबर्ग २ खर्ब ११ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा र जेफ बेजोस २ खर्ब ९ अर्ब डलरका साथ तेस्रो स्थानमा छन् । यस्तै, बर्नार्ड अर्नाल्ट १ खर्ब ९३ अर्ब डलरसहित चौथो, पाँचौमा ल्यारी एलिसन १ खर्ब ८३ अर्ब डलर, छैठौंमा बिल गेट्स १खर्ब ६१ अर्ब डलर, सातौंमा ल्यारी पेज १ खर्ब ५१ अर्ब डलर, आठौंमा वारेन बफेट १ खर्ब ४६ अर्ब डलर, नवौंमा स्टिभ बाल्मर १ दर्ब ४५ अर्ब डलर र सर्गे ब्रिन १ खर्ब ४२ हर्ब डलरसहित दशौं स्थानमा छन् । एजेन्सी

मध्यपूर्व तनावका कारण तेलको मूल्य वृद्धि

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशंकाप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट पाँच प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ७७ दशमलव ६२ डलर पुगेको छ भने अमेरिकी सम्झौता वेस्ट टेक्सास इन्टरमिडिएट पनि त्यसरी नै बढेको छ । प्रमुख अमेरिकी स्टक सूचकांकहरू दिनको अधिकांश समयमा नकारात्मक रहे । एसएन्डपी५०० शून्य दशमलव दुई प्रतिशतले घटेर बन्द भयो । लन्डन, पेरिस र फ्रेंकफर्टका सेयर बजार सबै रातो भएर बन्द भए । अमेरिकी डकवर्कर्सको हडताल र अमेरिकी फेडरल रिजर्भको आगामी ब्याजदर कदमबारेको अनुमानले पनि लगानीकर्ताहरूलाई प्रभावित गरेको थियो । शुक्रबार प्रमुख रोजगारी प्रतिवेदन आउने भएको छ । डलरको सुरक्षित आश्रय स्थितिले यसको मूल्य बढेको छ । बेलायती पाउन्ड डलरको तुलनामा एक प्रतिशतभन्दा बढीले घटेको छ । बैंक अफ इङ्ग्ल्यान्डका प्रमुख एन्ड्र्यु बेलीले बेलायती ऋण लागतमा तीव्र कटौतीको संकेत दिए । एसियामा येन कमजोर हुँदा टोक्यो दुई प्रतिशतले बढेर बन्द भयो । यसले जापानका निर्यातकर्ताहरूलाई सहयोग गरेको छ । चीनको कमजोर अर्थतन्त्रलाई प्रोत्साहित गर्न चालिएको साहसिक कदमका कारण भएको तीव्र वृद्धिपछि हङकङ एक साताभन्दा लामो समयमा पहिलो पटक घट्यो । यो साता इजरायलमाथि इरानको क्षेप्यास्त्र आक्रमणले इजरायलको गाजा र लेबनानमा तेहरान समर्थित समूहहरूसँगको द्वन्द्व व्यापक क्षेत्रीय युद्धमा परिणत हुनसक्ने डर बढाएको छ । ‘बजारहरू निलम्बित अवस्थामा छन्, इरानविरुद्ध इजरायलको अपेक्षित प्रतिशोधका लागि बजारहरू तयार छन्, यस्तो कदमले तेलको मूल्यलाई व्यापक रूपमा बढाउन सक्छ’, स्वतन्त्र बजार विश्लेषक स्टिफन इन्सले भने । लेबनानी लडाकू समूह हिजबुल्लाहलाई समर्थन गर्ने इरानले इजरायलले जवाफी आक्रमण गरे आफ्नो प्रतिक्रिया बढाउने बताएको छ । लेबनानमाथि इजरायली बमबारीमा अहिलेसम्म एक हजारभन्दा बढी मानिस मारिएका छन् । यसमा बेरुतमा भएका आक्रमणहरू पनि समावेश छन् । इजरायली सेनाले बिहीबार लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकूहरूसँग लडिरहेका थिए र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका थिए । यद्यपि विश्लेषकहरूले गत साता अमेरिकी भण्डारण अपेक्षाभन्दा बढेकाले तेलको मूल्य वृद्धि सीमित हुनसक्ने बताएका छन् । लिबियाको पूर्वी प्रशासनले पनि बिहीबार एक महिना लामो उत्पादन र निर्यात अवरोध अन्त्य गरेको घोषणा गरेको छ । साउदी नेतृत्वको ओपेक प्लस तेल कार्टेलले डिसेम्बरदेखि उत्पादन बढाउने तय गरेको छ । यसले आपूर्तिको चिन्तलाई अझ कम गर्नेछ । लगानीकर्ताहरूले शुक्रबार प्रमुख अमेरिकी गैर–कृषि पेरोल रोजगारी प्रतिवेदनमा ध्यान केन्द्रीत गर्दैछन् । यसले गत महिनाको चार वर्षमा पहिलो पटक कटौतीपछि फेडको ब्याजदर योजनाबारे संकेत दिन सक्छ । बुधबारको आँकडाले सेप्टेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगारीमा अप्रत्याशित वृद्धि देखाएको थियो । रासस

टर्कीएको मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतले घट्यो

टर्किएमा वार्षिक मुद्रास्फीति सेप्टेम्बरमा ४९.३८ प्रतिशतमा घटेको छ । जुन तीन वर्षमा पहिलो पटक मुद्रास्फीति देशको नीतिगत ब्याजदरभन्दा तल झरेको हो । सेप्टेम्बरको लागि मासिक मुद्रास्फीति २.९७ प्रतिशतमा रह्यो । जबकि उत्पादक मूल्य सूचकांक (पीपीआई) ले पनि गिरावटको संकेत देखाएको छ । सेप्टेम्बरमा मासिक उत्पादक मुद्रास्फीति दर १.३७ प्रतिशतमा रेकर्ड भएकोमा उत्पादक मूल्यमा वार्षिक वृद्धि ३३.०९ प्रतिशतमा झरेको छ । यसको तुलनामा अगस्टमा वार्षिक मुद्रास्फीति दर ५१.९७ प्रतिशत थियो । मासिक दर २.४७ प्रतिशत थियो । सरकारको मध्यकालीन कार्यक्रमले सन् २०२४ मा ४१.५ प्रतिशतमा झर्ने र २०२५ को अन्त्यसम्ममा १७.५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । टर्कीएको बढ्दो मुद्रास्फीति र यसको इतिहासमा सबैभन्दा खराब जीवन खर्चको संकटसँग संघर्ष गरिरहेको छ । जुन २०२३ देखि मुलुकले आफ्नो प्रमुख ब्याजदर ८.५ प्रतिशतबाट ५० प्रतिशतमा बढाएर मौद्रिक नीतिलाई कडा पारेको छ ।