एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले स्थानीय समुदाय र प्राकृतिक पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण काम गर्नेछ । एडीबीले महाराष्ट्र दिगो जलवायु–प्रतिरोधी तट संरक्षण र व्यवस्थापन परियोजनाले तटीय क्षयीकरण र नदी किनार संरक्षण समाधानहरू गर्ने बताएको छ । तटीय चट्टानहरू,समुद्र तट संरक्षण र वृक्ष रोपणको पुनःस्थापना र समुन्द्री तटलाई स्थिर बनाउन आवश्यक कार्य यो परियोजनाको जिम्मेवारी हो । बैंकले तटीय पूर्वाधार व्यवस्थापन एकाइ स्थापना गरेर तट व्यवस्थापन योजनामा महाराष्ट्र समुद्री बोर्डको क्षमता निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता गरेको छ । यस परियोजनामार्फत् लैङ्गिक समानता र सामाजिक समावेशीकरण, तटीय व्यवस्थापन र जीविकोपार्जनका गतिविधिहरूमा क्षमता निर्माणलाई सहयोग गर्ने जनाइएको छ ।
श्रीलङ्काको पर्यटन आयमा वृद्धि
काठमाडौं । श्रीलङ्कामा सन् २०२४ को पहिलो नौ महिनामा पर्यटन क्षेत्रबाट सङ्कलित राजस्वमा करिब ६१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैङ्क अफ श्रीलङ्का (सीबीएसएल) को तथ्याङ्कले देखाएको छ । श्रीलङ्काले सन् २०२४ को पहिलो नौ महिनामा पर्यटनबाट दुई अर्ब ३५ करोड डलर आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड डलर रहेको थियो । यस दक्षिण एसियाली देशले गत सेप्टेम्बरको महिनामा मात्र पर्यटन क्षेत्रबाट १८ करोड १० लाख अमेरिकी डलर आम्दानी गरेको सीबीएसएल तथ्याङ्कमा उल्लेख भएको छ । यसैबीच, श्रीलङ्कामा गत सेप्टेम्बरमा एक लाख २२ हजार १४० जना पर्यटक भ्रमण गरेका थिए । यो सन् २०२३ को सेप्टेम्बर महिनाको तुलनामा नौ दशमलव ११ प्रतिशतले बढी हो । श्रीलङ्कामा पहिलो नौ महिनामा कुल १४ लाख ८० हजार पर्यटक भ्रमण गरेका छन् भने यस वर्षको अन्त्यसम्म २३ लाख पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । पर्यटन श्रीलङ्काको लागि प्रमुख विदेशी राजस्व स्रोत हो ।
दिल्ली र मुम्बईलाई पछि पार्ने दौडमा नोएडा, प्रोपर्टीको हबमा छिरे डेभलपर्स
काठमाडौं । यसअघि भारतमा जहिले पनि ठूला सहरमा सम्पत्ति किन्ने कुरामा दिल्ली र मुम्बईको नाम अगाडि आउने गर्दथ्यो । तर, पछिल्ला केही वर्षमा तस्बिर फेरिएको छ । भारत र संसारभरिका मानिसहरू निवास र व्यापारको लागि उत्तर प्रदेश र एनसीआरको प्रमुख सहर नोएडातिर लागिरहेका छन् । यही कारणले गर्दा नोएडामा जग्गाको मूल्य आकाशिन थालेको छ । त्रैमासिक आधारमा सन् २०२४ मा यहाँ जग्गाको मूल्य ७ प्रतिशतले बढेको एक प्रतिवेदनले देखाएको छ । नोएडा एनआरसीको प्रमुख सहरमा पर्छ । दिल्लीसँग जोडिएको पश्चिमी उत्तर प्रदेशको यो सहरले पछिल्ला केही वर्षमा धेरै ठूला परिवर्तनहरू देखेको छ । यस्ता परिवर्तनले व्यवसायलाई मात्रै गति दिएको छैन, रोजगारीको अवसर पनि बढाएको छ । देशकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पनि यहीँ बनिरहेको छ । उक्त विमानस्थल आगामी अप्रिलबाट सुरु हुने अपेक्षा गरिएको छ । यसैबीच, सेमीकन्डक्टर र अन्य धेरै क्षेत्रहरूसँग सम्बन्धित कम्पनीहरूले पनि नोएडामा आफ्नो प्लान्ट स्थापना गर्न लागेका छन् । नोएडामा भइरहेको विकासलाई देखेर यहाँ रियल इस्टेटमा उछाल आएको छ । पहिले धेरै किफायती मूल्यका परियोजनाहरू हुने गरेको भए पनि अहिले प्रिमियम लक्जरी दायराका परियोजनाहरू सुरु भएका छन् । विकासकर्ताहरूले ५ करोडभन्दा माथिको प्रिमियम लक्जरी परियोजनाहरू सुरू गर्दैछन् । यो परिवर्तनले बलियो पूर्वाधार र विलासी जीवन बिताउने इच्छालाई झल्काउँछ । नोएडामा महँगो बन्नुका कारण जेवर विमानस्थल जेवर विमानस्थल ग्रेटर नोएडामा निर्माण भइरहेको देशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । यसको काम द्रुत गतिमा भइरहेको छ । आगामी अप्रिलदेखि यहाँबाट उडान सुरु हुनेछ । तर, यो विमानस्थल पूर्णरूपमा तयार हुन अझै समय लाग्ने छ । मेट्रो कनेक्टिभिटी मेट्रो दिल्लीका जनताको जीवन रेखा बनेको छ । नोएडामा पनि यो द्रूत गतिमा फैलिरहेको छ । हाल नोएडामा ब्लू लाइन र एक्वा लाइन चल्छ । यी मेट्रोलाई विस्तार गर्ने र नयाँ रुटमा मेट्रो सञ्चालन गर्ने काम पनि तीव्र गतिमा भइरहेको छ । नमो भारत ट्रेन नोएडामा पनि चल्नेछ । यसबाहेक अन्य धेरै प्रकारका यातायात सञ्चालन हुन थालेका छन् । अन्य सहरहरूसँग कनेक्टिभिटी नोएडा एक्सप्रेसवेको हब पनि बनिरहेको छ । जसमा यमुना एक्सप्रेसवेदेखि इस्टर्न पेरिफेरल एक्सप्रेसवेसम्म पर्दछन् । साथै, नोएडासँग राष्ट्रिय राजमार्ग २४, र राष्ट्रिय राजमार्ग ९१ सहित धेरै राजमार्गहरूसँग जोडिएको छ । दिल्ली–मुम्बईबीच निर्माण भइरहेको एक्सप्रेसवे पनि नोएडा हुँदै जानेछ । यस्तो अवस्थामा नोएडाबाट सडक हुँदै देशको कुनै पनि कुनामा सजिलै पुग्न सकिन्छ । सेमीकन्डक्टर हब नोएडालाई सेमीकन्डक्टर हब बनाउने तयारी भइरहेको छ । यसका लागि ठाउँ तयार छ । धेरै कम्पनीहरूले यहाँ आफ्नो प्लान्ट स्थापना गर्ने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले हालै कौटिल्य कन्क्लेभमा भनेका थिए कि विश्वमा ‘मेड इन इन्डिया’ चिप्स हुनेछ । यस्तो अवस्थामा यहाँ भविष्यका उद्योगहरूको सेटअप भइरहेका छन्, जसका कारण आगामी दिनमा यो सहर विश्वको नक्सामा चम्किने देखिन्छ । एजेन्सी