बाबुको राजीनामा स्वीकृतसँगै छोरो अध्यक्षमा नियुक्त, पब्लिक कम्पनी प्राइभेट जस्तै
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्ष बनाएको हो । यसअघि कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ थिए । स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका थिए । प्रेमबहादुर श्रेष्ठ ध्रुवकुमार श्रेष्ठका बाबु हुन् । सञ्चालक समितिको एउटै बैठकले बाबुको राजीनामा स्वीकृत गरेर छोरालाई अध्यक्षमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । नेपालमा पब्लिक कम्पनी पनि प्राइभेट कम्पनीको शैलीमा सञ्चालन हुने गरेको र यसले कम्पनीको संस्थागत सुशासन कमजोर हुने गरेको भन्दै यस्तो अभ्यासको आलोचना हुने गरेको छ । तर, लगानीका आधारमा सञ्चालक समिति र अध्यक्ष नियुक्त हुने भएकाले जसको बढी लगानी छ उही कम्पनीको निणर्यक पदमा रहने अभ्यासलाई सामान्यरूपमा लिने अभ्यास पनि रहेको छ ।
कुमारी बैंकको डीसीईओमा सुधीरनाथ पाण्डे नियुक्त
काठमाडौं । कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको हो । उनले बुधबारदेखि बैंकमा डीसीईओ पदको कार्यभार सम्हालेका छन् । पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ । २०४६ सालबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डेलेसँग विभिन्न बैंकहरूमा काम गरेको अनुभव छ । उनी ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट बाहिरिएका थिए । कुमारी बैंकमा रामचन्द्र खनालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएपछि उक्त बैंकमा डीसीईओ पद खाली थियाे ।
आइएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।आइएमई लिमिटेड र जिएमइको मर्जरपछि पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् । आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका पौडेल, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् । आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसन लगायतका कम्पनी सञ्चालक रूपमा समेत पौडेल कार्यरत थिए र छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् । साथै, पौडेल अमेरिकास्थित हार्भड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवासम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन् । उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बीमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने पौडेलले उल्लेख गरेका छन् ।