मनोज ज्ञवाली नबिल बैंकको सिनियर डीसीईओमा बढुवा

काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रुपमा काम गरिरहेका ज्ञवालीलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजिनामा दिएका उनी नबिल बैंकमा नायव महाप्रबन्धक भएर प्रवेश गरेका थिए । चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्रो अनुभव रहेको छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले मर्चेन्ट बैंकिङ्ग कम्पनीमा  प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् ।  उनले ग्लोवल आईएमई बैंकमा पनि लामो समय काम गरेका थिए । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव रहेको छ । सकारात्मक सोच भएका र प्रष्ट रुपमा विचार राख्न सक्ने ज्ञवाली युवा पुस्तामाझ उत्प्रेरक व्यक्तिको रुपमा पनि परिचित छन् ।

नेफाको अध्यक्षमा राजेन्द्र संग्रौला निर्वाचित, को-को छन् कार्यसमितिमा ?

काठमाडौं । नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको २४औं वार्षिक सधारण सभापश्चात् भएको निर्वाचनबाट अध्यक्षमा संग्रौला, वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ, सचिवमा सुजन कुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित भएका हुन् । यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगा बहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एशोसिएसनले जनाएको छ । संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्वअध्यक्ष प्रकाश सिंह कार्कीलाई मनोनीत र निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी बनेका छन् । नवनिर्वाचित अध्यक्ष संग्रौलाले संस्थालाई नयाँ आयामबाट माथि उठाउने बताए । सरकार तथा सम्बन्धीत निकायसँग सहकार्य गरी फ्रेट फरवार्डस व्यवसायको प्रभावकारितामा अझै सुधार ल्याउने उनको भनाइ छ । अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नयाँ प्रविधिको अवलम्बन गर्दै नयाँ पुस्तालाई फ्रेट फर्वाडिङ्गको पेशामा आकर्षित गर्ने, कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्न प्रशिक्षण र क्षमता विकास तथा कार्य सहजता, भन्सार प्रक्रियाहरुको सरलीकरण र सहजीकरण तथा सीमा क्षेत्रमा भएका अन्य समस्याहरु समाधान गर्न निरन्तर पहल गरिने उनले बताए ।

छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै, रोजगारीको अवसर सिर्जना हुने

तम्घास । जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो । ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । ‘पालिकाभित्र रहेका धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धनमार्फत आम्दानी गर्ने लक्ष्य लिएका छौँ’, उनले भने, ‘रोजगारी सिर्जनाका लागि जिपलाइन निर्माण गरेका हौँ ।’ अध्यक्ष पाण्डेका अनुसार जिल्लामा पहिलो पटक निर्माण गरिएको जिपलाइन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । छत्रकोटले निर्माण गरेको जिपलाइन सबै मिलेर सञ्चालन गर्नुपर्ने भन्दै उनले र अन्य पालिकाले पर्यटन पर्वद्धनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । ‘यहाँ निर्मित जिपलाइनमार्फत पर्यटकलाई थप आकर्षित गर्न अन्य स्थानीय तहले पर्यटकीय पूर्वाधार निर्माण गरेमा जिल्लामा नै पर्यटक भित्राउन सकिन्छ’, अध्यक्ष पाण्डेले भने । उनका अनुसार निर्मित जिपलाइनमा दुई टावरबीचको दूरी नौ सय ६० मिटर रहेको छ भने कूल लम्बाइ एक हजार ८० मिटर र उचाइ ६७ मिटर छ । जिपलाइनमा प्रतिसेकेण्ड १५ देखि २० मिटर दूरी पार गर्न सक्नेछ । सुरु स्टेशनबाट ५५ देखि ७७ सेकेण्डमा यात्रा पार गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताए । पर्यटकको तौल अनुसारमा यात्रा पार गर्न लाग्ने समय भने फरक पर्नेछ । प्रमुख प्रशासकीय अधिकृत पुरीले ८६ लाख ७३ हजार एक सय ४४ रुपैयाँमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले जिपलाइन निर्माण सम्पन्न गरेको हो । यसबाट यात्रा गर्न पालिकाबासीलाई चार सय रुपैयाँ, विद्यार्थीका तीन सय रुपैयाँ, छत्रकोटभन्दा बाहिरका नागरिकलाई पाँच सय रुपैयाँ र विदेशी नागरिकका एक हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको पालिका कार्यालयले जनाएको छ । जिपलाइनमा चढ्ने प्रत्येक पर्यटकका लागि १० लाख रुपैयाँको बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । हाल पालिकाले सञ्चालन गर्ने जिपलाइनको दिगो सञ्चालनका लागि पालिकाले निजी क्षेत्रलाई दिनेगरी तयारी भइरहेको भन्दै केहीदिनमा बोलपत्र आह्वानको तयारी गरिएको उनले बताए । जिपलाइन निर्माण भएसँगै पर्यटन प्रर्वद्धन हुने र रोजगारीका अवसर प्राप्त हुने भन्दै स्थानीय खुसी भएका छन् । स्थानीय उत्पादनको बजारीकरण, पर्यटक प्रवर्द्धनका साथै रोजगारीको अवसर सिर्जना हुने अपेक्षा स्थानीयले गरेका छन् । ‘जिपलाइनले यस क्षेत्रमा थुप्रै मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास लिएका छौँ’, स्थानीय भुवन भुसालले भने । जिपलाइनको नजिकै रिडी–तम्घास सडक पर्दछ । यहाँ वनभोजका लागि थुप्रै आन्तरिक पर्यटक आउने सम्भावना रहेको भन्दै भुसालले धार्मिक आस्थाका हिसाबले चोयघा मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन पनि बढ्ने उनले बताए । रासस