काठमाडौं महानगरले दियो श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले श्रम बैंकमार्फत ९ सय १२ जनाले रोजगारी पाएको जानकारी दिएका छन् । प्रमुख शाहले मंगलबार सामाजिक सञ्जालमार्फत श्रम बैंकमार्फत ३ सय २९ जनालाई निजी तथा ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जानकारी दिएका हुन् । काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो । त्यस्तै यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको उनले बताएका छन् । मेयर शाहले लेखेका छन्,‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ ।’ महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवायुवतीहरू रोजगार/स्वरोजगार भएको पनि मेयर शाहको दाबी छ ।

एनएमबि लघुवित्तले माग्यो ५० जना कर्मचारी, योग्यता कति ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले ५० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सहायक प्रशिक्षार्थीका लागि कोशी प्रदेशबाट १५ जना, मधेश प्रदेशबाट ७ जना, बागमती प्रदेशबाट ६ जना, गण्डकी प्रदेशबाट ९ जना, लुम्बिनी प्रदेशबाट ६ जना, कर्णाली प्रदेशबाट ३ जना र सुदुरपश्चिम प्रदेशबाट ४ जना कर्मचारी माग गरेको हो। जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र उत्तिर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको बेवसाइट  https://nmbmicrofinance.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

माछापुच्छ्रे बैंकको डीसीईओमा अर्याल र डीजीएममा जमरकटेल बढुवा

काठमाडौं । माछापुच्छ्रे बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र नायब महाप्रबन्धक (डीजीएम)मा बढुवा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले साउन १ गते बाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई डीसीईओ पदमा तथा सुभाष जमरकटेललाई डीजीएम पदमा बढुवा गर्ने निर्णय गरेको हो । काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेको बैंकले बताएको छ । बैंकका अनुसार सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहेका छन् । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् । उनीहरु दुवै जना आफ्नो बैंकिङ करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।