चेम्बरको साइबार सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साइबार सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साइबार सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन् । अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साइबार सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापन समेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन साथै इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् । चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले साइबार सुरक्षाको विषयमा आवश्यक सहयोग, सुझाव पाउने विश्वास लिएको उल्लेख गरेका छन् । चेम्बर अफ कमर्शका आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिका अध्यक्ष विज्ञान श्रेष्ठ रहेका छन् ।
राष्ट्र बैंकमा गुणाकरलाई शक्तिशाली विभाग, पौडेललाई प्रवक्ताको जिम्मेवारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका छन् । गभर्नर अधिकारीले आइतबार उनलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । यसअघि डा. भट्टले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए । अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएपछि डा. भट्टलाई जिम्मेवारी दिइएको हाे। भट्टले यसअघि पनि अनुसन्धान विभागको जिम्मेवारी सम्हालिसकेका छन् । डा. भट्ट यसअघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए । भुक्तानी प्रणाली विभागमा भने वरिष्ठ निर्देशक विनोदराज आचार्यलाई कायमुकायमको जिम्मेवारी दिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेललाई आज (साउन १४ गते) देखि लागु हुने गरी राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्ता पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेका छन् । साथै, उनले बैंक सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको डीईओ बने रामकुमार थापा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप-कार्यकारी अधिकृत (डीईओ) मा रामकुमार थापा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको गत साउन ३ गतेको निर्णयअनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप-कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हाे । विसं. २०५४ सालमा शाखा अधिकृत (तह ७) को रूपमा तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।