नेपालगञ्ज औद्योगिक क्षेत्र : ३४ उद्योगमा ८ सयलाई रोजगारी, अधिकांश कामदार भारतीय
राँझा । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा ८ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरूले रोजगारी पाएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन् । ती उद्योगमा विगतमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए । औद्योगिक क्षेत्रमा अधिकांश कामदार भारतीय नागरिक छन् । नेपालीलाई रोजगारीमा प्राथमिकता दिन माग गर्दै आए पनि आफूहरू सफल हुन नसकेको नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य पूर्ण केसीले बताए । विसं २०३० मा २ सय ३३ रोपनीमा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग बन्द छ । पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका भाँडा, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइउड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडाकुँडा उत्पादन हुने गरेका छन् । औद्योगिक क्षेत्रभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित भेरी प्राविधिक शिक्षालय पनि सञ्चालनमा छ ।
आइएमई रेमिट्यान्सको सीईओमा दिवाकर पौडेल नियुक्त
काठमाडौं । आइएमई रेमिट्यान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिवाकर पौडेल नियुक्त भएका छन् । जीएमई रेमिट्यान्ससँग मर्जरपछि आइएमई रेमिट्यान्सको सीईओमा पौडेल नियुक्त भएका हुन् । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेर आज (साउन ३० गते)देखि एकीकृत कारोबार सुरु गरेको हो । जीएमई प्राप्तिपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु गरेको यस कम्पनीमा सीईओको जिम्मेवारी पौडेललाई दिइएको हो । पौडेल यसअघि साविक जीएमई रेमिट्यान्सका सीईओ थिए । ९० करोड रुपैयाँ पुँजी रहेको आइएमईले २५ करोड रुपैयाँ पुँजी भएको जीएमई गाभेपिछि चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्स कारोबार रकमका आधारमा आइएमई नम्बर वान कम्पनी हो ।
पारवहनको महाप्रबन्धकमा पोखरेल र खाद्य कम्पनीमा आचार्य नियुक्त, काँग्रेस र एमालेबीच भागवण्डा
काठमाडौं । सरकारले दुई महत्वपूर्ण संस्थाको नेतृत्वमा दुई जनालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल (ईलाम) लाई नियुक्त गरेको छ भने खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस गरेको थियो । जेठ २३ गते आह्वान गरेको विज्ञापनमा आवेदन दिएकामध्ये अन्तर्वार्ता र प्रस्तुतीकरणबाट ३ जना छनोटमा परेका थिए । मन्त्रालयले बैतडीका कर्ण बहादुर कुँवर, काठमाडौंका गोपाल घिमिरे र इलामका प्रकाशप्रसाद पोखरेल सिफारिस गरेको थियो। ती जनामध्येबाट सरकारले पोखरेललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । पाेखरेल नेकपा एमाले निकट मानिन्छन् । उनी यसअघि नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को प्रमुख कार्यकारी अधिकृत थिए । नेफ्स्कुनबाट बाहिरिएपछि उनले विभिन्न ठाउँमा आवेदन पनि दिएका थिए । उनले यसअघि सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि पनि आवेदन दिएक थिए । तर, उनी सर्टलिष्टबाटै बाहिरिएका थिए । यस्तै, खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका आचार्य धादिङका हुन् । उनी नेपाली काँग्रेस निकट रहेको बुझिएको छ । उनी यसअघि नेपाल उद्योग वाणिज्य महासंघमा कर्मचारी थिए । मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्विकार्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।