नेप्सेको सीईओ बने नारद लुइँटेल
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुइँटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको हो । उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् । नेप्सेको सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको थियो । छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थमन्त्रालयमा बोलाएको थियो । व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरेको थियो ।
कुलमानलाई हटाएर प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र शाक्य नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देब शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
कर्मचारी सञ्चय कोषले माग्यो ३८ जना कर्मचारी
काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारीहरू मागेको छ । कोषले खुला तथा समावेशी प्रतियोगितामार्फत ३८ जना कर्मचारी मागेको हो । कोषका अनुसार प्रशासन, कानुन, प्राविधिक, सूचना प्रविधितर्फ आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्मका कर्मचारीलागि दरखास्त आह्वान गरेको हो । प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन् । आजदेखि २१ दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सक्नेछन् ।