चलचित्र विकास बोर्डको अध्यक्ष बने दिनेस डिसी

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा (एमाले) निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।

दिनेश आमात्यले पाए आइएमई लाइफको कामु सीईओको जिम्मेवारी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश बहादुर आमात्य नियुक्त भएका छन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आमात्यलाई कामु सीईओको जिम्मेवारी दिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए । एमबीएसम्म अध्ययन गरेका आमात्यले सन् १९९२ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा करियर सुरु गरेका हुन् । उनले नेशनल लाइफमा सन् २००७ सम्म विभिन्न विभागमा अधिकृत पदमा कार्यरत रहेर काम गरेका थिए । सुर्या लाइफ इन्स्योरेन्समा सन् २००८ देखि सन् २०१७ सम्म सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका आमात्य सन् २०१७ देखि हालसम्म आइएमई लाइफमा आवद्ध छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयालको पदावधि सकिएपछि बाहिरिएका थिए । २०७७ मा कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका फुयाँलको गत शुक्रबार चार वर्षे कार्यकाल सकिएपछि बाहिरिएका हुन् ।

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेना भनाए छनोट निर्देशनालय जङ्गी अड्डाले २८० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ १४७ जना, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि १४ जना, महिला २४ जना, आदिवासी जनजाती ३८ जना, मधेसी ३३ जना, दलित १८ जना र पिछडिएको क्षेत्रबाट ६ जना गरी २८० जनाका लागि दरखास्त आह्वान गरेको हो । आज भदौ ७ गतेदेखि असोज ५ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ । दोब्बर दस्तुर तिरेर असोज १२ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।