शहरी विकास मन्त्रालयमा दुई जना राज्यमन्त्री एकैपटक पुगे, मन्त्रालय स्पष्ट नपारी मन्त्री पठाउँदा खैलाबैला
काठमाडौं १६, मंसिर । सत्तारूढ दल नेपाली कांग्रेसबाट सरकारमा सिफारिस गरिएका १० राज्यमन्त्रीले बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सिफारिसमा परेका राज्यमन्त्रीहरूको शपथग्रहण भएको हो । त्यसलगत्तै नवनियुक्त राज्यमन्त्रीहरू आफ्ना सम्पर्कमा रहेका पत्रकारहरूलाई सम्पर्क गर्दै पदभार ग्रहण गर्न तोकिएका मन्त्रालयतिर लागे । त्यसपछि सहरी विकास मन्त्रालयमा भने फरक माहोल बन्यो । त्यहाँ नवनियुक्त राज्यमन्त्री सुवर्ण ज्वारचन र मिठु मल्ल आफू नै सम्बन्धित मन्त्रालयको राज्यमन्त्री भएको भन्दै केहीबेर भनाभन गर्दै बसे । त्यसबेला सुवर्ण ज्वारचनको नाम राज्यमन्त्रीको नेम प्लेटमा लेखिएको थियो । तर, मिठु मल्लले आफूले नै सहरी विकास राज्यमन्त्रीको शपथ लिएको भन्दै मन्त्रालयका कर्मचारीलाई नाम टाँस्न लगाइन् । हतारहतार त्यहाँका कर्मचारीले कागजमा नाम प्रिन्ट गरेर मिठु मल्लको नाम टाँसे । वास्तविकता के रहेछ भने मंगलबार पार्टीले सिफारिस गरेको राज्यमन्त्रीको सूचीमा सुवर्ण ज्वारचनको नाम सहरी विकास राज्यमन्त्रीमा रहेको सञ्चार माध्यममा खबर आयो । तर, शपथग्रहणमा भने सम्बन्धित मन्त्रालयमा मिठु मल्लको नाम रहेछ । नवनियुक्त राज्यमन्त्री मल्लले कुराकानीमा भनिन्, ‘मैले शपथग्रहण गर्दा सहरी विकास राज्यमन्त्रीको नै गरेकी हुँ ।’ उनले नाम परिवर्तन भएको बारे आफूलाई जानकारी नभएको बताइन् । भनिन्, ‘मलाई गाडी तथा पीएसओ तोकिँदा पनि सहरी विकास राज्यमन्त्री भनेर तोकेर नै पठाइएको छ, त्यसअनुसार नै गएको हुँ ।’ सहरी विकास मन्त्रालयका निमित्त सचिव शम्भु केसीले सरकारले मिठु मल्ललाई सहरी विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेर पठाएको र आफूले स्वागत गरेर ल्याएको बताए । उनले नेम प्लेट अर्कैको नाममा टासिएको बारे आफूलाई जानकारी नभएको बताए । कागजमा प्रिन्ट गरेर नाम टाँसिएको थियो नि भन्ने जिज्ञासामा निमित्त सचिव केसीले ढिला गरी शपथ भएकाले नेम प्लेट बनाउन नभ्याएर कागजमा नै प्रिन्ट गरेर टाँसिएको बताए । नवनियुक्त राज्यमन्त्री सुवर्ण ज्वारचनले भने वाणिज्य राज्यमन्त्रीमा शपथ लिएको बुझियो । यस घटनामा मन्त्रालयका बीचमा नै आवश्यक सहकार्य तथा परिपक्वता नभएको देखियो । राजधानी दैनिकबाट ।
साउदीमा चार सय नेपाली कामदार भोकभोकै, तीन ठाँउका नेपाली कामदार विचल्लीमा
काठमाडौ १५, मंसिर । वैदेशिक रोजगारका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका झन्डै चार सय नेपाली कामदार खानासमेत नपाएर भोकभोकै छन् । साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको नेपाली दूतावासले जनाएको छ । ‘साउदी आएकै दिनबाट खाना नपाएको भन्दै दूतावासमा उजुरी आउने क्रम बढेको छ,’ रियादस्थित नेपाली दूतावासका श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले भने, ‘यो ज्यादै संवेदनशील विषय हो ।’ दूतावासका अनुसार २० देखि सय जनासम्म कामदार लिएका कम्पनीहरूले खानासमेत उपलब्ध गराउन सकेको छैनन् । खाना नपाएर आएका ५४ जनाको समूहलाई दूतावासले आफ्नै परिसरभित्रै राखेर आश्रय दिइरहेको छ । ‘दलालका कारण नेपाली कामदारले निकै ठूलो मानसिक यातना भोगेका छन् । खाना नपाएर ज्यानै जाला भन्ने डर भयो,’ उनले भने, ‘हामीसँग सम्पर्कमा आएका सबैलाई खानाको बन्दोबस्त गर्न सकेका छैनौं ।’ धेरैजसो पीडित कामदार दूतावासको सम्पर्कमा समेत पुग्न सकेको छैनन् । कान्तिपुर दैनिकबाट ।
पैसा फल्ने भ्रमले युवा ठगिँदै, खाडी मुलुकदेखि विकसित देशसम्म लैजाने आशामा ठगी
काठमाडौँ ११, मंसिर । वैदेशिक रोजगारीका क्रममा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने नाममा ठगिने युवाको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारमा जान ‘हतार’ गर्दा युवा ठगिने गरेका छन् । ती देशमा आकर्षक तलब सुविधाका साथै काम गर्न सजिलो हुने भएकाले दलालले विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेका हुन् । विशेषगरी उपत्यका बाहिरका ग्रामीण वस्तीबाट सहर पस्ने युवा बढी ठगिने गरेको प्रहरीको कारबाही अध्ययनले देखाएको छ । ‘गाँउबाट आएका सोझासिधा युवा विदेशमा रुखमा पात फलेझै पैसा सजिलै फल्छ भन्ने भ्रम पालेर आएका हुन्छन्’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल भन्छन्, ‘यही भ्रमले उनीहरूलाई ठगिन बाध्य बनाउछ । ऋण गरेर ल्याएको पैसा दलालको हातमा पर्छ ।’ अपराध महाशाखाका अनुसार, गत वैशाखदेखि कात्तिकसम्ममा वैदेशिक रोजगारसम्बन्धी ठगीका करिब ५० वटा घटना दर्ता भएका छन् । तीमध्ये युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाउने नाममा धेरै छन् । ठगिनेहरू पनि विद्यार्थीभन्दा सामान्य मजदुरी काममा जान खोज्ने व्यक्ति धेरै छन् । वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा ठगीका घटना अत्याधिक हुने गरेका थिए तर प्रहरीले कारबाही अभियान सञ्चालन गरेपछि दलालले ठगीको रुट परिवर्तन गरेको भनाइ महाशाखा प्रमुख खनालको छ । खाडीमा हुने ठगीका घटनाप्रति सर्वसाधारणसमेत सचेत भएका छन् । विकसित मुलुक युरोप, अमेरिका, अस्ट्रेलिया र जापानलाई वैदेशिक रोजगारीको नयाँ गन्तव्यका रूपमा प्रयोग गरी अध्ययन, पर्यटक, भ्रमण तथा सेमिनार भिसाका नाममा प्रतिव्यक्ति १० देखि ५० लाख रुपियाँ उठाएर दलालले ठगी गर्ने गरेको पाइएको छ । गाउँबाट पनि उनीहरू दलालमार्फत नै काठमाडौँ आएका हुन्छन्, यहाँ पुगेपछि सुरक्षित जागिर र आकर्षक तलबको प्रलोभनमा युरोप र अमेरिकाको सपना देखाइ ‘ट्रान्जिट’ पार्ने नाममा अवैध बाटो प्रयोग गरी दिल्ली, बैङ्कक, श्रीलङ्का, दुबई र साइप्रसमा अलपत्र पार्ने गरेका छन् । गोरखापत्र दैनिकबाट ।