अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा २३ प्रतिशत कम, ६ जना कार्यकारी मध्ये १ जना मात्र महिला
क्यानवेर्रा, १ मंसिर । अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष सकिन लागेको यस समयसम्म पनि महिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाई गरेका छन् । करिब १२ हजार अष्ट्रेलियाली रोजगारदाता र चालिस लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो संस्थाले जनाएको छ ।लैङ्गिक समानता सम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले “पूर्वाग्रह र विभेद” का कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको बताए । “तर मलाई लाग्छ, यहाँ केही सकारात्मक संकेतहरु पनि छन्,” उनले भने। उनका अनुसार अघिल्ला बर्षहरुको भन्दा यस बर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ । यस बर्ष १.६ प्रतिशत घटेको उनले बताए । अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबीसी) सँग निर्देशक लिब्बीले भने, “समानतामा पुग्न हामी अझ धेरै हिड्न बाँकी छ ।” “अहिलेसम्म पनि ६ जना प्रमुख कार्यकारी अधिकृत मध्ये ५ जना पुरुष नै छन् र चार जना निर्देशक मध्ये तीन जना पुरुष छन्” उनले जानकारी दिए । निर्देशक लिब्बीले यो अन्तरको अन्त्य गर्न व्यवस्थापनको क्षेत्रमा महिलाहरु शसक्त रुपमा आईरहेको बताए । उनले भने “यहाँ अर्को पनि प्रेरणाको तथ्य छ, त्यो के भने यस बर्ष पहिलो पटक ४२ जना महिलाहरुले व्यवस्थापकीय जिम्मेबारी पाउने गरी नियुक्ती तथा पदोन्नती भएको छ । एजेन्सी
सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रबन्धकमा अजेश कोइराला नियुक्त
काठमाडौं, १ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रवन्धकमा अजेश कोइराला नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकमा रेमिटान्स प्रमुख भई यो क्षेत्रको अनुभव लिएका कोइराला केही समय अघिदेखि अमेरिकामा बस्दै आएका थिए । त्यसैगरी, कम्पनीले कान्तिपुर समूहको ब्राण्ड म्यानेजरको रुपमा काम गर्दै आएका सन्देश कटुवाललाई ब्राण्ड प्रमुख र एभरेष्ट बैंकमा काम गर्दै अाएका रवि शाक्यलाई आइटी प्रमुख नियुक्त गरेको कम्पनी स्राेतले बतायाे । सन् २००६ देखि विप्रेषण सेवाकाे काम गर्दै आएको सिटी एक्सप्रेसले पछिल्लो समयमा कारोबार विस्तार गर्दै लगेको छ ।
६ महिना भित्र ११४५० युवालाई रोजगारी उद्योग मन्त्रालयको तयारी
काठमाडौं, ३० कात्तिक । उद्योग मन्त्रालयले ११४५० युवालाई रोजगारी दिने कार्ययोजना तयार पारेको छ । मन्त्रालयले ३ हजार भूकम्प पीडितलाई समेट्ने गरि ११४५० जनालाई रोजगारी दिने कार्ययोजना अघि सारेको हो । उद्योग मन्त्री नविन्द्रराज जोशीले ६ महिनाभित्रै सो मात्रामा युवाहरुलाई रोजगारी दिने गरि कार्यक्रम तयार भैरहेको बताए । उनका अनुसार सुरुमा ४५ दिने तालिम सञ्चालन गरिनेछ भने त्यसपछि अर्काे ४५ दिने दोश्रो चरणको तालिम सञ्चालन गरिनेछ । सो तालिममा सहभागीहरुले सहज रुपमा रोजगारी प्राप्त गर्न सक्नेछन् भने स्वरोजगार बन्न पनि सक्नेछन् । ‘हाम्रो तालिममा सहभागीहरुले सहजै रोजगारी पनि प्राप्त गर्नेछन र स्वरोजगार बन्न पनि सक्नेछन’, मन्त्री जोशीले भने । मन्त्रालयले रोजगार बन्ने भन्दा पनि तालिमपछि स्वरोजगार बनेर अन्यलाई समेत रोजगारी दिन सक्ने गरि उद्यमी तयार पार्ने योजना अघि सारेको पनि उनले बताए । अघिकतम ९० दिनको तालिमका सहभागीहरुलाई भएर तयार पारिएको जनशक्तिका लागि रोजगारीको कुनै पनि अभाव नहुने दावी उनले गरे ।‘तालिम लिएपछि कोहि पनि बेरोजगार बस्नु पर्दैन, जागिर पनि पाइन्छ र आफैं रोजगारदाता पनि बन्न सकिन्छ’,मन्त्री जोशीले भने । तालिममा सहभागीहरुलाई रोजगार दिन सम्बन्धित क्षेत्रका उद्योगी व्यवसायी तयार रहेको पनि उनले दावी गरे । तालिम लिएका अधिकांश युवा विदेशीने गरेको विगत सुनाउँदै मन्त्री जोशीले नेपालमै रहने वातावरण समेत सरकारले बनाउने बताए । यी हुन रोजगारी पाइने क्षेत्र मेटल फेब्रिकेशन, नुडल्स, फर्निचर, उनी तथा फेल्ट, नेपाली गलैँचा, प्राकृतिक रेसा तथा हाते कागज, बेमौसमी तरकारी, पुष्प व्यवसाय, कपाल काट्ने, बेकरी तथा दुध प्रसोशन, अल्लो, मिथिला आर्ट, मोबाइल मर्मत, मौरी पालन, ढाकाको कपडा र थाङका लगायतका क्षेत्रको तालिम दिइनेछ ।