टानको अध्यक्षमा नवराज दाहाल निर्वाचित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका दाहालले ३३१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गरेका थिए । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले पनि ५० मत प्राप्त गरेका टान निर्वाचन समितिले जनाएको छ । टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा राना विजयी भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष दाहालले टानको व्यावसायिक छविलाई उचो बनाउन सम्पूर्ण व्यवसायीलाई एकताबद्ध गरेर लैजाने बताए । गणतान्त्रिक स्टोनियाँका लागि नेपाली वाणिज्यदूतसमेत रहेका अध्यक्ष दाहाल नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक छन् । रासस

एनबीआईले सिद्धार्थ बैंकका कर्मचारीलाई विभिन्न तालिमहरु उपलब्ध गराउने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई)ले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएकाे छ । जसका लागि सिद्धार्थ बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । यी दुई संस्थाले कर्मचारीको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा गरेका छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर गरेका हुन् । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर १०३ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५५० भन्दा बढी पीओएस मार्फत् उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई निःशुल्क तालिम दिइने 

काठमाडौं । सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न यस तालिम दिन लागेको हो । वैदेशिक रोजगार प्रवद्रधन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना (सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम’ सञ्चालन गर्न लागेको हो । तालिम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । तालिमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ/गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालिम दिइने उनले बताए । बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोेल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर/वेटर, हाउसकिपिङ र कफि मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डका लागि आशयपत्र माग गरेको छ । यसमध्ये मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा एक हजार ५०० जनासम्मका लागि आवासीय तालीम दिइने लक्ष्य राखिएको छ । तालिम लिएकाले विदेश गएपछि बढी तलब पाउने तथा स्वदशै पनि स्वरोजगार बन्नसक्ने अपेक्षा लिइएको छ । निर्देशक काफ्लेले आशयपत्र दिएकामध्येबाट पहिलो चरणमा केहीलाई सूचीकृत गरी त्यही मध्येबाट बोलपत्र आह्वान गरिने जानकारी दिए । सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेका लागि यो उत्तम अवसर भएकाले विदेशमा जान चाहनेलाई तालिममा सहभागी हुन उनको आग्रह छ । सकेसम्म सातै प्रदेशमा त्यस्ता तालिम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उनको भनाइ छ । अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन् । यो तालीम पश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालिम प्राप्त गर्ने रोजगारीमा जानेछन् । रासस