नेपाल जनरल इन्स्योरेन्सको महाप्रवन्धकमा एसके टमोट नियुक्त

काठमाडौं । नेपाल जनरल इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा एस के टमोट नियुक्त भएका छन् । स्थापनाको क्रममा रहेको यस कम्पनीमा उनले गत सातादेखि नै जिम्मेवारी समालेका छन् । टमोट करिव चार वर्षअघि सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृृत भएका थिए । यूनाईटेड, सिद्धार्थ, रिलायन्स लगायत विभिन्न बीमा कम्पनीहरुमा करिव चार दशक कार्य गरेका टमोटसँग बीमाको प्राविधिक तथा व्यवस्थापकिय विषयमा राम्रो ज्ञान भएको जानकारहरु बताउँछन् । बीमा समितिबाट दुई महिनाअघि लाइसेन्स पाएको यस कम्पनी आगामी जेठ महिनाभित्र सञ्चालनमा आउने तयारीमा जुटेको छ । एक अर्ब रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना छ । कम्पनीको कार्यालय हात्तिसारमा रहने भएको छ । २०६३ सालमा कम्पनी रजिष्ट्रारमा दर्ता भएको यो कम्पनी बीमा समितिले लाइसेन्स नदिदा करिव १२ वर्ष सञ्चालनमा आउन सकेको थिएन । झपट बोहोराले नेतृत्व गरेको यस कम्पनीले बबरमहलमा कार्यलय राखेर धेरै महिना कर्मचारी समेत पालेको थियो । बीमा समितिका पूर्व अध्यक्ष फत्तबहादुर केसीले होच्याएर व्यवहार गरेपछि र व्यवसाय गर्न अनुमति नदिएपछि बोहरा बीमा कम्पनी त्यागेर राजनीतिमा होमिए । उनी हाल ७ प्रदेशको अर्थ तथा योजना मन्त्री छन् ।

महालक्ष्मी विकास बैंकको अध्यक्षमा पून: राजेश उपाध्याय, ९ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.को समितिको अध्यक्षमा पून राजेश उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उपाध्याय कम्पनीको हालै सम्पन्न १६औँ वार्षिक साधारणभाबाट उक्त पदमा फेरि नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नवनियुक्त अध्यक्ष उपाध्यायलाई आइबार(आज) आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । साथै, कम्पनीको सभाले संस्थापक शेयरधनीको तर्फबाट राजेश उपाध्याय, संजय गिरी र राजेशकुमार रौनियारलाई र सर्वसाधारण शेयरधनीको तर्फबाट राहुल अग्रवाल, श्यामसुन्दर रुङ्गटा र रुपेन्द्र पौडेललाई चयन गरेको छ । सोही सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

४४ जना नर्सलाई शिक्षण अस्पताल महाराजगञ्जमा जागिर खाने अवसर

काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जले स्टाफ नर्स र प्राविधिक सहायकतर्फ स्थायी कर्मचारीको माग गरेको छ । अस्पतालले ४० जना स्टाफ नर्स ४ जना प्राविधिक सहायक कर्मचारी माग गरेको हो । फारम भर्न अस्पताले १५ दिनको समयअवधि दिएको छ । अस्पतालको खाता रहेको बैंकमा १५ सय तिरेको रसिद समामेश गरी फारम भरी बुझाउनु पर्नेछ । स्टाफ नर्समा आवेदन दिनका लागि १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । आवेदन दिनका लागि नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी नर्सिङ परिषदमा दर्ता भएको पमाणपत्रको प्रतिलिपी आवश्यक कागजात सहित जेठ ७ गतेसम्म पेस गर्नुपर्नेछ ।