एनबी बैंकको डेपुटी सिइओमा श्रेष्ठ र एजिएममा देवकोटा नियुक्त

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुरेन्द्रभुषण श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, बैंकको सहायक महाप्रवन्धक (एजिएम) मा सुरेश देवकोटा नियुक्त भएका छन् । सन् १९९६ मा एभरेष्ट बैंकबाट आफ्नो बैंकिङ करियर शुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए । उनले भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आईसीआई) बाट सीए कोर्ष पूरा गरेका हुन् । श्रेष्ठले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको विदेशी व्यवस्थापन टिमको सदस्यको रुपमा जिम्मेवारी निर्वाह गर्नुका साथै विश्व बैंक तथा एसियाली विकास बैंक (एडीबी)अन्तर्गत नेपाल लगायत बंगलादेशमा पनि वित्तीय सुधार कार्यक्रमहरुमा काम गरेको अनुभव रहेको छ । त्यस्तै, एजिएम सुरेश देवकोटा पनि सीए हुन । इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)बाट सीए कोर्ष पूरा गरेका उनी हाल सोही संस्थाको पार्षद समेत छन् । देवकोटाले सन् २००५ बाट आफ्नो बैंकिङ करियर शुरु गरेका हुन् ।

मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष निरौला नियुक्त

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सन्तोष निरौला नियुक्त भएका छन् । वैशाख ७ गते बसेको कम्पनी संचालक समितिको बैंठकले निरौलालाई आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सिईओ निरौलाले आगामी वैशाख २२ गतेदेखि कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् ।

गोकर्ण बिष्ट भन्छन्- अब खाडीमा भेडा चराउन धाउनु पर्दैन

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अब युवाहरुले खाडी मुलुकमा भेडा चराउन धाउनु नपर्ने बताएका छन् । गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, “अब युवा खाडीमा भेडा चराउन जानु पर्दैन ।” उनले देशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्न दावी गर्दै भने,“गाउँमै हजारौं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ, खाडीमा भेडा चराउन जानु पर्दैन ।” मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने धारणा पनि राखे । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”