सुदुरपश्चिम प्रदेश पुग्यो श्रम कार्यालय
काठमाडौं । अब सुदुरपश्चिम प्रदेशबाटै श्रम स्वीकृति प्राप्त हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खोलेको हो । श्रम कार्यालय खुलेसँगै त्यहिँबाट श्रम स्वीकृति लिन सकिनेछ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले श्रम कार्यालयको उद्घाटन गरेका हुन् । सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खुलेसँगै अब सातै प्रदेशबाट श्रम स्वीकृति पाइने भएको छ ।
शुक्रबारदेखि सुदूरपश्चिमबाटै श्रम स्वीकृति, स्थानीयलाई राहत
काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए । श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो । मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो । सरकारले गत आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्न शुरु गरिसकेको छ । अब प्रदेश नं १ को श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पु¥याइएको र छिट्टै सेवा प्रवाह गरिने तयारी रहेको संयोजक खनालले जानकारी दिए । सूपवासीलाई राहत प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । सुपवासीले हजारौँ खर्चेर काठमाडौँ आइ श्रम स्वीकृति लिनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । श्रम स्वीकृतिलगायत अन्य सेवा केन्द्रिकृत हुँदा सेवाग्राहीले सानो कामका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो । श्रम स्वीकृतिकै लागि ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा निकै लामो लाइन लाग्नुपर्ने अवस्था थियो । रासस
स्ट्याण्डर्ड चार्टर्डको सिइओमा दस्तिदार नियुक्त
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड(एससीबी नेपाल) मा नयाँ प्रमुख कार्यकारी अधिकृत(सिइओ)का रुपमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकिङ क्षेत्रका २५ वर्षको अनुभव भएका भारतीय नागरिक तस्तिदारलाई बैंकको सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । ब्रुनाईका प्रमुख कार्यकारी रहेका दस्तिदारलाई चार्टर्ड नेपालको सिइओ नियुक्त गर्ने निर्णय गरिएको हो । जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि नयाँ सिइओ नियुक्त गरिएको हो । नयाँ सिइओको कार्यकाल फेब्रुअरी १५ देखि शुरु हुने कम्पनी सचिव बिमल सिंहले जनाएका छन् ।