कोरिया जान चाहनेको संख्या बढ्यो, भाषा परीक्षाका लागि ८१ हजारको आवेदन
काठमाडौँ । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि बुधबार अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्न सकिने छ । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै, सन् १०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन् । दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनाल सुरक्षित रोजगारी, आकर्षक सेवा सुविधा, काम गर्ने समयावधिको सुनिश्चितालगायत कारणबाट नेपाली युवाको कोरिया मोह बढेको हुनसक्ने बताउँछन् । उनका अनुसार इपिएस अन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै, सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ । भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउने छन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।
सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । २०७५ साल चैत्र १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि पोखरललाई सिइओमा नियुक्त गर्ने निर्णय भएको हो । तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भए पश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखि नै बैंकमा आबद्ध भई विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पोखरेलले साथै २०६५ साल देखि नै दोस्रो वरियतामा रहेर बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्ध हुनु अघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही कार्य कुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘भित्र सिस्टम र बाहिर इमेज’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताए । नीतिनियमको पालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । बरिष्ठ अर्थविद डा. शंकरप्रसाद शर्मा अध्यक्ष रहेको सिटीजन्स बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।
नेपाल वायुसेवा निगमले ५० पाइलट माग गर्दा २६ जनाको मात्रै आवेदन
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना मा गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ । निगमले क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को पाइलट र जुनियर को–पाइलट फागुन १० गते विज्ञापन खुलाएको थियो । आवदेनको अन्तिम मितिसम्ममा मागको ५२ प्रतिशत मात्रै आवेदन परेको निगमले जानकारी दिएको छ । निगममा भन्दा निजी एअरलान्स कम्पनीमा राम्रो सुविधा पाइने भएकाले आवेदन कम परेको हुन सक्ने अनुमान गरिएको छ । निगम सहप्रवक्ता नवराज कोइरालाका अनुसार निगमले १३ जना सिनियर क्याप्टेन माग गरेको थियो । यो पदमा मागको तुलनामा अत्यन्तै कम संख्याले मात्रै आवेदन दिएका छन् । माग १३ जना गरिए पनि आवदेन एक जनाले मात्रै दिएको कोइरालाले जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार छ ।