नेपाल लाइफ जाँदै प्रविणरमण पराजुली, डीसीईओको जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रविणरमण पराजुली नियुक्त हुने भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले रिलायन्स लाइफका सीईओ पराजुलीलाई नेपाल लाइफको डीसीईओमा नियुक्त गर्ने तयारी गरेको हो । उनलाई डीसीईओमा नियुक्त गर्नको लागि छलफल भइरहेको तर निर्णय भने भइसकेको छैन । आधिकारिक निर्णय भएपछि मात्रै पराजुलीले नेपाल लाइफमा डीसीईओको कार्यभार सम्हाल्ने छन् । पराजुलीले गत २०७४ पुस महिनादेखि रिलायन्स लाइफको सीईओ पदको जिम्मेवारी सम्हालेका थिए । ४ वर्षेको लागि नियुक्त भएका सीईओ पराजुलीको कार्यकाल गत पुस १२ गते मात्रै सकिएको हो । त्यसअघि उनले नविल इन्भेष्टमेन्ट बैंकिङमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । बीमा क्षेत्रमा ४ वर्ष काम गरेका पराजुलीसँग बैंकिङ र पुँजी बजारको समेत राम्रो ज्ञान र अनुभव छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पौडेलले पाए निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले निरन्तरता पाएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पौडेललाई दोश्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो । एक साताअघि बसेको सञ्चालक समितिको बैठकले पौडलको कार्यकाल सकिनु एक महिना अघि नै थप ४ वर्षको लागि निरन्तरता दिने निर्णय गरेको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस महिनादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको हो । सीईओ पौडेलको कार्यकाल थप्नको लागि सञ्चालक समितिले नियामक निकाय बीमा समितिमा पेश गरेको छ । समितिको स्वीकृति पाएपछि उनले सिटिजन लाइफमा दोश्रो कार्यकाल सम्हाल्ने छन् । पौडेलले गत २०७४ साल माघदेखि सिटिजन लाइफको सीईओको कार्यभार सम्हालेका हुन् । उनको कार्यकालमा छोटो अवधिमा कम्पनीले उच्चदरको ग्रोथ हासिल गरिरहेको छ । सिटिजनमा प्रमुखको नेतृत्व कार्यकाल सम्हाल्नुअघि उनले मेटलाइफ इन्स्योरेन्समा प्रमुख वित्तीय व्यवस्थापक भएर १५ वर्षसम्म काम गरेका थिए । त्यसअघि ६ वर्ष अडिट फर्ममा काम गरेका पौडेलसँग शिक्षण पेशा र एनजीओरआइएनजीओमा समेत काम गरेको अनुभव छ । चितवन स्थायी घर भएका पौडेलले गृह जिल्लामै स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । २०५३ सालमा काठमाडौं आएका उनले मेटलाइफमा काम गर्दागर्दै अमेरिकाबाट फिलोसिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट (एफएलएमआई) डिग्री समेत लिएका छन् ।

स्वरोजगार बन्दै बाँकेका दलित महिला, मासिक ५० हजारसम्म कमाउँदै

फाइफ फाेटाे राँझा । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिकरूपमा कृषि पेशामा होमिएका छिन् । अहिले उनको फार्ममा ४२ बाख्रा, छ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँसपालन गरेरै जीविकोपार्जन गर्दै आएको उनले बताइन् । लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेको उनले जानकारी दिइन् । गाभर दलित महिला समूहमा आवद्ध उनले आफूसहित घरका चार जनालाई कामले भ्याइनभ्याई हुने गरेको बताइन् । ‘बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दानापानी खुवाउने कामले फुर्सद नै हुँदैन । हामीले घरमै स्थानीय चारो बनाएर कुखुरापालन गर्दै आएका छौँ’, पदमीकलाले भनिन् । खजुरा गाउँपालिका–६ सिमलघारी निवासी सुनिता विकले दुई वर्ष भयो नास्ता पसल सञ्चालन गरेको छ । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक दुई हजार देखि दुई हजार ५०० सम्मको बिक्री हुने गरेको उनको भनाइ छ । सिर्जनशील दलित महिला समूहका सचिवसमेत रहेकी सुनिताका श्रीमान् खाडी मुलुक कतार पुगेका छन् । ‘समूहमा लागेर नास्ता पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घर खर्च र बाबुलाई स्कुल पढाउन नास्ता पसलबाटै पुगेको छ, श्रीमान्ले कमाएको पैसा चोखै बचाएर राखेकी छु’, उनले भनिन् । पदमीकला र सुनिताजस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही दलित महिला विभिन्न व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न थालेका छन् । थोरै पैसाका लागि पनि विगतमा श्रीमान्को भर पर्दै आएका दलित महिला अहिले कुखुरापालन, तरकारी खेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी घरको आर्थिक व्यवहार सञ्चालन गरेका छन् । दलित महिला सङ्घ (फेडो)ले सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृदि कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिकरूपमा सशक्तीकरणको बाटोमा लम्किएका छन् । विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने या त खाली समय घरमा बसेर बिताउने विपन्न वर्गका दलित महिलासमेत पछिल्लो समय गाउँ–गाउँमा महिला समूह निर्माण गरी स्वरोजगारमूलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका–६ स्थित दलित कृषक समूहका अध्यक्ष देवी विकले बताइन् । ‘दलित महिलालाई आम्दानीको स्रोतको सिर्जना गरी विभिन्न पेशा व्यवसायमा संलग्न गराउन समूहबाट ऋण लगानीसमेत गर्ने गरिएको छ’, उनले भनिन् ‘समूहबाट ऋण लिएर व्यवसाय गरेपछि धेरै जनालाई जीविकोपार्जनमा सहज भएको छ ।’ समूह गठन भएपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिला सस्तो ब्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ । व्यवसाय सञ्चालन गरेपछि जीविकोपार्जनमा सहज भएको बैजनाथ गाउँपालिका–८ राइटरपुर निवासी पम्फादेवी सुनारले बताइन् । तरकारी खेती, कुखुरापालन र बङ्गुरपालन गर्दै आएकी उनले समूहबाट ऋण लिएर उत्पादन गरेको वस्तु बिक्रीबाट मसिक ५० हजारसम्म आम्दानी गर्दै आएको दाबी गरिन् । उनले उद्यमशीलतासम्बन्धी तालिम तथा सहुलियत ब्याजदरमा ऋण पाए गाउँका थुप्रै महिला व्यवसायमा जोडिने र घरेलु हिंसासमेत कम हुने बताइन् । समूहमा आवद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आएकी बैजनाथ गाउँपालिका वडा नं ३ निवासी जुना विकले आर्थिक आम्दानीमा सुधार भएसँगै छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको बताइन् । आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाका लागि स्थानीय सरकारले पनि विभिन्न किसिमका तालिम तथा सहयोग गर्न सके आर्थिक अभावले घरमा हुने हिंसा न्यूनीकरण गर्नमा सहयोग पुग्ने उनको भनाइ छ । दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सशक्तिकरण गराउँदै वडा तथा गाउँपालिकास्तरका संरचनामा सहभागी बनाउन दलित महिला सङ्घ (फेडो) ले लामो समयदेखि कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक दिलासा गौतमले जानकारी दिइन् । दलित महिला सङ्घले हाल बाँकेको बैजनाथ, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत प्रत्येक टोलमा २८ जना सदस्य रहेको समूह गठन गरी महिलाको आवश्यकता र रुचि तथा सीपअनुसार सहयोग गर्दै आएको गौतमले बताइन् । दलित महिलालाई आर्थिक तथा सामाजिकरूपमा अगाडि बढाउन आफूहरूले लक्षित वर्गका कार्यक्रम विनियोजन गरेर लागिपरेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बताइन् । उनलै स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न चाहने र गरिरहेका दलित महिलालाई प्रोत्साहनस्वरुप गाउँपालिकाले सहयोग गर्दै आएको उल्लेख गरिन् । रासस