इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन
काठमाडाैं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिमा आज भएको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षको छलफलपछि कोभिड–१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन निर्देशन दिएको हो । समितिका सभापति रामनारायण बिडारीले प्रभावित युवाहरूले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफूसमक्ष उजुरी दिएकाले तत्काल यो प्रक्रिया अघि बढाउनुपर्ने बताए । दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिड बीमा गराई त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्ने गरी सिधा हवाई सम्पर्कमार्फत पठाउन आग्रह गरेकामा दोस्रो लहरको सङ्क्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सिधा हवाई सम्पर्कका लागि नेपाल एयरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया शुरु गरिएको जानकारी दिए । समितिका सदस्य राधेश्याम अधिकारीले कोरियास्थित नेपाली दूतावासले पनि यसबारे पहल गर्नुपर्ने बताउनुभयो भने अर्का सदस्य डा खिमलाल देवकोटाले पीडित युवालाई मन्त्रालय र संसदीय समितिमा धाउन लगाउनु गलत भएकाले सम्बन्धित निकायका अधिकारीले नै पहल गर्नुपर्ने बताए । रासस
राधी विद्युतको स्वतन्त्र सञ्चालक र कम्पनी सचिवले सम्हाले जिम्मेवारी
काठमाडौं । राधी विद्युत कम्पनीका नवनियुक्त स्वतन्त्र सञ्चालक नितेश्वरप्रसाद कोइरी र कम्पनी सचिव लफिन काजी बज्राचार्यले आफ्नो जिम्मेवारी सम्हालेका छन् । हालै मात्र नियुक्त भएका उनीहरुले आज (साउन १४ गते) देखि आ-आफ्नो पदको जिम्मेवारी सम्हालेका हुन् । साउन १३ गते बसको सञ्चालक समितिको बैठकले कोइरीलाई स्वतन्त्र सञ्चालक र बज्राचार्यलाई कम्पनी सचिवमा नियुक्त गरेको थियो । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकमा सुनिता निरौला थिइन् । उनले राजीनालाई स्वीकृत गरी कम्पनीले उक्त रिक्त हुन लागेको पदमा कोइरीलाई नियुक्त गरेको हो ।
मासिक ३ लाख पेन्सन बाढ्न थाल्यो सामाजिक सुरक्षा कोष, २ महिना योगदान गरेका परिवारले पनि पाउँदै
काठमाडौं । सामाजिक सुरक्षा कोषबाट नियमित पेन्सन पाउनेको संख्या ३३ पुगेको छ । कोषमा आवद्ध भएका योगदानकर्ताको पति वा पत्नी तथा आश्रित परिवार गरी सो संख्यामा पेन्सन पाउन थालेका हुन् । कोषका अनुसार २ महिना (दुई किस्ता) मात्रै कोषमा रकम योगदान गरेका योगदानकर्ताको पति वा पत्नी तथा आश्रित परिवारले पेन्सन पाइरहेका छन् । यस्तै, योगदानकर्ताको सन्ततिले शैक्षिक बृत्ति अन्तरगतको सुविधा पनि पाइरहेका छन् । कोषले दिएको जानकारी अनुसार योगदानकर्ता प्रकाश तामाङ मोक्तानले कोषमा २ महिना मात्रै योगदान गरेका थिए । उनको निधनपछि कोषले २०७६ असोजदेखि उनका बाबु आमालाई ‘आश्रित बाबु आमाले पाउने सुविधा’ अन्तरगत मासिक १० हजार २ सय रुपैयाँ रकम दिइरहेको छ । यस्तै, २ महिना मात्रै रकम योगदान गरेका रुपेन्द्र थापाकी श्रीमतीले पनि कोषबाट मासिक पेन्सन पाउँदै आएकी थिइन् । योगदानकर्ता थापाको निधनपछि उनकी श्रीमतीले २०७६ असोजदेखि मासिक १७ हजार १ सय रुपैयाँ पेन्सन पाउँदै आएकी थिइन् । थापाकी श्रीमतीको पनि केही समय अघि निधन भइसकेको छ । कोषका योजना अनुसार योगदानकर्ताका परिवारले लाभ प्राप्त गरिरहेको कोषको तथ्यांकले देखाएको छ । कोषका अनुसार योगदानकर्ता अनिता रिजालको निधनपछि उनका श्रीमान्ले २०७७ असारदेखि मासिक २३ हजार ५२२ रुपैयाँ र उनका एक सन्तानले शैक्षिक वृत्ति योजना अनुसार मासिक १५ हजार ६८२ रुपैयाँ पाउँदै आएका छन् । रिजालले कोषमा ११ महिना योगदान गरेकी थिइन् । योगदानकर्ता आइतसिंह लोप्चनको निधनपछि उनकी श्रीमतीले २०७६ पुसदेखि मासिक १४ हजार २०५ रुपैयाँ पेन्सन पाइरहेकी छन् । लोप्चनले कोषमा ५ महिनाको रकम योगदान गरेका थिए । अर्का योगदानकर्ता उत्तरबहादुर थिङको निधनपछि उनकी श्रीमतीले मासिक १२ हजार ३ सय ९० रुपैयाँ पेन्सन पाइरहेकी छिन् । थिङले कोषमा जम्मा ४ महिना मात्रै कोषमा रकम जम्मा गरेका थिए । अर्का योगदानकर्ता कामेश्वर यादबको निधन भएपछि उनकी श्रीमतीले २०७७ कात्तिकदेखि मासिक ५ हजार ८२० रुपैयाँ पेन्सन पाइरहेकी छन् । यादबले कोषमा १५ महिनाको रकम जम्मा गरेका थिए । कोषमा १२ महिना मात्रै रकम जम्मा गरेका तेजबहादुर शाक्यको निधनपछि उनकी श्रीमतीले २०७७ कात्तिकदेखि मासिक ८ हजार ९७४ रुपैयाँ पेन्सन पाइरहेकी छन् । कोषमा ४ किस्ता मात्रै रकम योगदान गरेका दलबहादुर खड्काकी श्रीमतीले मासिक ४ हजार ८७७ रुपैयाँ पेन्सन लिइरहेकी छन् भने उनका २ सन्तानले मासिक ४ हजार ८७७ रुपैयाँ नै शैक्षिक बृत्ति वापतको रकम पाइरहेका छन् । कोषमा १७ महिना योगदान गरेका ध्रुवकुमार कार्कीको निधन भएपछि उनकी श्रीमतीले २०७७ पुसदेखि कोषबाट मासिक ८ हजार ८९२ रुपैयाँ पेन्सन पाइरहेकी छन् । कोषमा ७ महिना योगदान गरेका निर्मल कुमार थापाको निधनपछि उनकी श्रीमतीले मासिक ५ हजार १ सय रुपैयाँ पेन्सन र उनका एक सन्ततिले मासिक ३ हजार ४ सय रुपैयाँ शैक्षिक बृत्तिवापत पाइरहेका छन् । कोषले अहिले मासिक ३ लाख ४ हजार रुपैयाँभन्दा बढी आश्रित परिवारलाई पेन्सन र सन्ततिलाई शैक्षिक वृत्ति वापतको रकम दिइरहेको छ । यो संख्या बढिरहेको कोषले जानकारी दिएको छ । कोषका अनुसार थप ३७ जना योगदानकर्ताको आश्रित परिवार कोषबाट सुविधा लिने प्रक्रियामा छ ।