मासिक ३ लाख पेन्सन बाढ्न थाल्यो सामाजिक सुरक्षा कोष, २ महिना योगदान गरेका परिवारले पनि पाउँदै

काठमाडौं । सामाजिक सुरक्षा कोषबाट नियमित पेन्सन पाउनेको संख्या ३३ पुगेको छ । कोषमा आवद्ध भएका योगदानकर्ताको पति वा पत्नी तथा आश्रित परिवार गरी सो संख्यामा पेन्सन पाउन थालेका हुन् । कोषका अनुसार २ महिना (दुई किस्ता) मात्रै कोषमा रकम योगदान गरेका योगदानकर्ताको पति वा पत्नी तथा आश्रित परिवारले पेन्सन पाइरहेका छन् । यस्तै, योगदानकर्ताको सन्ततिले शैक्षिक बृत्ति अन्तरगतको सुविधा पनि पाइरहेका छन् । कोषले दिएको जानकारी अनुसार योगदानकर्ता प्रकाश तामाङ मोक्तानले कोषमा २ महिना मात्रै योगदान गरेका थिए । उनको निधनपछि कोषले २०७६ असोजदेखि उनका बाबु आमालाई ‘आश्रित बाबु आमाले पाउने सुविधा’ अन्तरगत मासिक १० हजार २ सय रुपैयाँ रकम दिइरहेको छ । यस्तै, २ महिना मात्रै रकम योगदान गरेका रुपेन्द्र थापाकी श्रीमतीले पनि कोषबाट मासिक पेन्सन पाउँदै आएकी थिइन् । योगदानकर्ता थापाको निधनपछि उनकी श्रीमतीले २०७६ असोजदेखि मासिक १७ हजार १ सय रुपैयाँ पेन्सन पाउँदै आएकी थिइन् । थापाकी श्रीमतीको पनि केही समय अघि निधन भइसकेको छ । कोषका योजना अनुसार योगदानकर्ताका परिवारले लाभ प्राप्त गरिरहेको कोषको तथ्यांकले देखाएको छ । कोषका अनुसार योगदानकर्ता अनिता रिजालको निधनपछि उनका श्रीमान्ले २०७७ असारदेखि मासिक २३ हजार ५२२ रुपैयाँ र उनका एक सन्तानले शैक्षिक वृत्ति योजना अनुसार मासिक १५ हजार ६८२ रुपैयाँ पाउँदै आएका छन् । रिजालले कोषमा ११ महिना योगदान गरेकी थिइन् । योगदानकर्ता आइतसिंह लोप्चनको निधनपछि उनकी श्रीमतीले २०७६ पुसदेखि मासिक १४ हजार २०५ रुपैयाँ पेन्सन पाइरहेकी छन् । लोप्चनले कोषमा ५ महिनाको रकम योगदान गरेका थिए । अर्का योगदानकर्ता उत्तरबहादुर थिङको निधनपछि उनकी श्रीमतीले मासिक १२ हजार ३ सय ९० रुपैयाँ पेन्सन पाइरहेकी छिन् । थिङले कोषमा जम्मा ४ महिना मात्रै कोषमा रकम जम्मा गरेका थिए । अर्का योगदानकर्ता कामेश्वर यादबको निधन भएपछि उनकी श्रीमतीले २०७७ कात्तिकदेखि मासिक ५ हजार ८२० रुपैयाँ पेन्सन पाइरहेकी छन् । यादबले कोषमा १५ महिनाको रकम जम्मा गरेका थिए । कोषमा १२ महिना मात्रै रकम जम्मा गरेका तेजबहादुर शाक्यको निधनपछि उनकी श्रीमतीले २०७७ कात्तिकदेखि मासिक ८ हजार ९७४ रुपैयाँ पेन्सन पाइरहेकी छन् । कोषमा ४ किस्ता मात्रै रकम योगदान गरेका दलबहादुर खड्काकी श्रीमतीले मासिक ४ हजार ८७७ रुपैयाँ पेन्सन लिइरहेकी छन् भने उनका २ सन्तानले मासिक ४ हजार ८७७ रुपैयाँ नै शैक्षिक बृत्ति वापतको रकम पाइरहेका छन् । कोषमा १७ महिना योगदान गरेका ध्रुवकुमार कार्कीको निधन भएपछि उनकी श्रीमतीले २०७७ पुसदेखि कोषबाट मासिक ८ हजार ८९२ रुपैयाँ पेन्सन पाइरहेकी छन् । कोषमा ७ महिना योगदान गरेका निर्मल कुमार थापाको निधनपछि उनकी श्रीमतीले मासिक ५ हजार १ सय रुपैयाँ पेन्सन र उनका एक सन्ततिले मासिक ३ हजार ४ सय रुपैयाँ शैक्षिक बृत्तिवापत पाइरहेका छन् । कोषले अहिले मासिक ३ लाख ४ हजार रुपैयाँभन्दा बढी आश्रित परिवारलाई पेन्सन र सन्ततिलाई शैक्षिक वृत्ति वापतको रकम दिइरहेको छ । यो संख्या बढिरहेको कोषले जानकारी दिएको छ । कोषका अनुसार थप ३७ जना योगदानकर्ताको आश्रित परिवार कोषबाट सुविधा लिने प्रक्रियामा छ ।

निर्वाण चौधरीसहित ७ जना बने उद्योग परिसंघका उपाध्यक्ष

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्ततः उपाध्यक्षहरुको टुङ्गो लगाएको छ । धेरै जना उपाध्यक्षको लागि आकांक्षी भएपनि अन्ततः ७ जना परिसंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, उद्योगी कृष्णप्रसाद अधिकारी, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र नेपाल आदर्श निर्माण कम्पनीका संचालक वीरेन्द्रबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको अध्यक्षमा विष्णु कुमार अग्रवाल नियुक्त भइसकेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी परिसंघको प्रावधान अनुसार अध्यक्षमा नियुक्त भएका हुन् । परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भएका हुन् । उनीहरुकाे सपथ ग्रहण मंगलबार नै सम्पन्न भएको छ। परिसंघका अध्यक्ष अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताउनुभयो। औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उहाँले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे । यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए । परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिए ।

विश्व पौडेल बने राष्ट्रिय योजना आयोगकाे उपाध्यक्ष, को हुन् उनी ?

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनीसँग अर्थ र इतिहास सम्बन्धि राम्रो अनुभव छ । उनी हाल काठमाडाैं विश्व विद्यालयमा अध्यापन गराउँछन् । बैठकले डा‍. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङ पनि आयोग सदस्यमा नियुक्त गरेकाे छ । गुरुङ र फुयाल यसअघि पनि सदस्य थिए ।