एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्डमा असार १० गतेदेखि आवेदन दिन पाइने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले आगामी असार १० गतेदेखि एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । बन्दमुखी प्रकृतिको योजना रहेको उक्त फण्डको अवधि ७ वर्षको रहेको छ । उक्त फण्डमा इच्छुकले न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । उनीहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभएमा आगामी असार २४ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएको छ ।
जीवन विकास लघुवित्तले आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो । बोर्डले कम्पनीलाई जेठ ३० गते एक सय रुपैयाँ अंकित दरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ जारी गर्नको लागि अनुमति दिएको हो । यससँगै माइक्रोफाइनान्स समूह अन्तर्गतको यस संस्थाले बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत चुक्ता पुँजीको ३२.५० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । सो मात्राको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ नाघ्ने छ । त्यस्तै, संस्थालाई आईपीओ निष्काशन गर्न इक्रा नेपालले ‘इक्राएनपी(आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ ।
नेप्से परिसूचक ९० प्रतिशतले बढ्दा बजार पुँजीकरणमा १०७ प्रतिशतकाे वृद्धि
काठमाडाैं । पछिल्लाे १० महिनामा नेप्से परिसूचक ९० प्रतिशतले बढेकाे छ । गत २०७७ असार मसान्तमा १३६२.४ बिन्दुमा पुगेकाे नेप्से परिसूचक २०७८ काे बैशाख मसान्तमा २६८४.१ बिन्दुमा पुगेको छ । जुन २०७७ बैशाख मसान्तमा १२०१.६ बिन्दुमा रहेको थियो । २०७८ बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रूपैयाँ रहेको नेपाल राष्ट्र बैंककाे तथ्यांकले जनाएकाे छ । २०७८ बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ बैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ५६० अर्ब ८८ करोड रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ को दश महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रूपैयाँ बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड रूपैयाँ बराबरको साधारण शेयर, ४३ अर्ब २० करोड रूपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रूपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड रूपैयाँ बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब २७ अर्ब ४० करोड रूपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १७ अर्ब ५४ करोड रूपैयाँ बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड रूपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब ५० करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५ करोड रूपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ४० अर्ब ४३ करोड रूपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।