नगर विकास कोष ३३ औं वर्षमा प्रवेश : उत्कृष्ट नगरपालिका र खानेपानी आयोजना उपभोक्ता सम्मानित
काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोष ३३ औं वर्षमा प्रवेश गरेको छ । कोषले सहरी क्षेत्रमा पूर्वाधार विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आईतवार राजधानीमा एक भव्य कार्यक्रमका साथ नगर विकास कोषले वार्षिक उत्सव मनाएको छ । नगर विकास कोषको ३३ औं वार्षिकोत्सव समारोहलाई सहरी विकास मन्त्री प्रभु साहले उद्घाटन गरेका थिए । मन्त्रि साहले कोषले गरेको कामलाई प्रशंसा गर्दै सरकारले थप सहयोग गर्ने बताएका छन् । उनले सहरी पूर्वाधारको विकास गर्न कोषलाई निगमका रूपमा एक स्वायत्त एवं दिगो वित्तिय मध्यस्थकर्ताका रूपमा विकास गर्ने बताए । सम्बृद्धिको यात्रामा महत्वपूर्ण भूमिका खेलेको कोषलाई आगामि दिनमा अझ सफलता मिल्नेमा उनले विश्वास व्यक्त गरे । यस्तै सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत विकासका लक्ष्य हासिल गर्न नगर विकास कोषले उल्लेख्य जिम्मेवारी बहन गरेको टिप्पणी गरे । ‘केही करोड रकमबाट सुरु भएको नगर विकास कोषले अर्बौंको कम्पनी बनाउन सफल भएकोमा खुसी लागेको छ ।’ कोषका पूर्व कार्यकारी निर्देशक तथा राष्ट्रिय पुन:निमार्ण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसील ज्ञवालीले भने, ‘कोषले ठूलो फड्को मारेको छ ।’ नेपाल नगरपालिका संघका अशोक बेन्जु श्रेष्ठले नगरपालिकाहरुलाई नगर विकास कोष जस्तो संस्था अपरिहार्य भएकोमा जोड दिए । नगर विकास कोषले हालसम्म ८३ वटा नगरपालिका र ९४ वटा खानेपानी संस्थासँग काम गर्दै आएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए । कोषले ऋण लगानी मार्फत नमुना काम गरेका नगरपालिका र खानेपानी आयोजना उपभोक्ता संस्थालाई सम्मान गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका र सर्लाहीको लालबन्दी नगरपालिका सम्मानित भएका छन् । यस्तै खानेपानी संस्थातर्फ कावासोती खानेपानी उपभोक्ता संस्था नवलपुर र करैया मक्कर उपभोक्ता संस्था रूपन्देहीलाई सम्मान गरिएको छ ।
आशा लघुवित्तले सम्पन्न गर्यो कर्जा जोखिम व्यवस्थापन तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले तालिम सम्पन्न गरेकाे हाे । यही माघ २८ र २९ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ५५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेको कार्यक्रममा वहाले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा जोखिम व्यवस्थापन सम्बन्धी तालिम भोजराज बश्यालले तथा सकारात्मक सोच, उत्प्रेरणा सम्बन्धीश्री राजबहादुर गिरीले प्रशिक्षण दिएका थिए । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा,दिपेन्द्र खनालतथा रामकृष्ण न्यौपानेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे भने जिवसन धामीले सुचना प्रविधि सम्बन्धी तालीम प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्तले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदाै १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६० हजार सदस्यलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ३ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
नेप्सेमा ७ कम्पनीको सेयर कारोबार फकुवा, बिहीबारदेखि किनबेच गर्न पाइने (कुन कुनको)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार रोक्का भएका विभिन्न ७ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत आर्थिक वर्षको विवरण नबुझाएर कारोबार रोक्का भएका कम्पनी मध्ये ७ कम्पनीले बुझाएसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले गत माघ २६ गते मात्रै विभिन्न ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएकाे थियो । जसमध्ये ७ कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेकोले उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको नेप्सेले जनाएको छ । जसमध्ये १ विकास बैंक, १ इन्स्योरेन्स, १ लघुवित्त र ४ हाइड्रो रहेका छन् । नेप्सेका अनुसार कर्णाली डेभलमपेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर कम्पनी, पाँचथरपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, र राधि विद्युत कम्पनीको दोश्रो बजार कारोबार फुकुवा भएको छ । यससँगै, यी कम्पनीको भोलि (माघ २९ गते) बिहीबारदेखि दोश्रो बजारमा कारोबार हुने छ र लगानीकर्ताले सेयर किनबेच गर्न पाउने भएका छन् ।