वित्तीय विवरण त्रुटिपूर्ण रहेको भन्दै रैराङ हाईड्रोले सच्यायो प्रतिसेयर नेटवर्थ र ईपीएस

काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण त्रुटिपूर्ण रहेको बताएको छ । कम्पनीले आज (जेठ २७ गते) एक सूचना जारी गर्दै यसअघि सार्वजनिक गरिएको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ र ईपीएस (प्रतिसेयर आम्दानी) मा त्रुटि भएको जानकारी गराएको हो । कम्पनीले गत बैशाख २० गते तेश्रो त्रैमासिक विवरणको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यसमा प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ र इपीएस १३.०३ रुपैयाँ उल्लेख गरिएको छ । तर आज एक सूचना मार्फत उक्त तथ्याङ्कमा भुलबस गलत भएको कम्पनीले जानकारी गराउँदै सच्याएको छ । जसअनुसार कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १०९.०८ . रुपैयाँ र इपीएस ९.१७ रुपैयाँ रहेको जनाईएको छ ।

पहिलो दिनमै सीईडीबी हाइड्रोको सेयरमा सर्किट, कतिमा भयो अन्तिम कारोबार ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर सर्किट लागेको हो । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । जुन पहिलो कारोबारको तुलनामा ४१ रुपैयाँले बढी हो । पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँमा शुरु भएको थियो । त्यसको २१ मिनेटको अवधिमै कम्पनीको सेयर सर्किट लेभल कारोबार भएको हो । र, बुधबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४५७ रुपैयाँमा भएको हो । कम्पनीको मार्केट देप्थ अनुसार दिनभरको कारोबारमा कम्पनीको ९ लाख ६३ हजार ३०४ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका थिए भने बेच्ने कोही पनि थिएनन् । हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको हिजो अर्थात जेठ २५ गतेमात्रै सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर र कम्पनीका संस्थापकले लगानी गरेको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर समेत गरी कूल ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । दाेश्राे बजारमा सेयर कारोबारको लागि कम्पनीको सिम्बोल ‘सीएचडीसी’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १३८.७९ रुपैयाँ र अधिकतम ४१६.३७ रुपैयाँ तोकेको थियाे । यससँगै कम्पनीकाे पहिलाे काराेबार अधिकतम मूल्यबाट शुरू भएकाे थियाे ।

लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले डाक्यो विशेष साधारण सभा, पुँजीको अनुपात मिलाउने

काठमाडौं । सर्वोत्तम सिमेन्टले आगामी असार १० गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे तीनकुनेस्थित न्यौपानेटावरको पाँचौ तल्लाको हलमा सभा आव्हान गरेको हो । सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.००६ प्रतिशत नगद गरी कूल २०.१२४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । १९.११८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ । त्यस्तै, कम्पनीको हाल जारी तथा चुक्ता पुँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनुपात मिलान गर्ने सँगै यी व्यवस्था अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने कम्पनीले जानकारी गराएको छ । साथै, उक्त संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने कम्पनीले जनाएको छ ।