कर्पोरेट डेभलपमेन्ट बैंकले असार २५ गते बोलायो वार्षिक साधारणसभा
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी असार २५ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले आफ्नो तेह्रौं वार्षिक साधारणसभा सो दिन बिहान ७ः३५ बजे पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बस्न लागेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्तिको लागि संस्थाका सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्तावलाई सभाले पारित गर्दै छ । साथै, असार ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।
सिर्जना फाइनान्सको बोनस सेयर सूचीकृत
काठमाडौं । सिर्जना फाइनान्सको १३.५९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (असार ३ गते) बिहीबार मात्रै ११ लाख ५१ हजार ९५० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै, फाइनान्सको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
लघुवित्तको लघु-सर्वेक्षणः हालसम्म १८ प्रतिशतले दिए व्याजमा छुट, बाँकीले पनि दिने
काठमाडाैं । कोभिड-१९ महामारीको दोस्रो लहरको दौरानमा १८ प्रतिशत लघुवित्त वित्तीय संस्थाले व्याजमा छुट दिएका छन् । नेपाल लघुवित्त बैङ्कर्स संघले हालसम्म साे मात्राले ग्राहकलाई व्याजमा छुट दिएकाे र बाँकी ६४ प्रतिशतले पनि दिने याेजना बनाएकाे जानकारी गराएकाे हाे । संघले कोभिड-१९ महामारीको दोस्रो लहरको दौरानमा हालै गरेको लघु-सर्वेक्षण अनुसार साे मात्राले व्याजमा छुट दिएकाे जनाइएकाे छ । साथै, लघुवित्त वित्तीय संस्थाका कर्मचारी कोभिड-१९का कारण अत्यधिक रुपमा प्रभावित भएको उक्त सर्वेक्षणले देखाएकाे जनाएकाे छ । उक्त लघु-सर्वेक्षणमा विद्यमान ७४ मध्ये ६० वटा (८१%) लघुवित्त वित्तीय संस्थाहरु (३ थोक कारोवारी, ५७ खुद्रा कारोवारी) सहभागी भएका थिए । जसमा कुल १८ हजार ४५२ कर्मचारी मध्ये १ हजार ७३६ जना (९.४१%) संक्रमित भएको र ५ जनाको (०.०३%) मृत्यु भएको छ । लघुवित्त वित्तीय संस्थाले कर्मचारी तथा सदस्यको सुविधाका लागि नविनतम व्यवस्थाहरु गरेका छन् । कर्मचारीका लागि सिफ्ट तथा घरबाटै काम गर्ने, कोभिड परीक्षण/खोप, बीमामा थप सुविधा, स्वास्थ्य परामर्श लगायतका व्यवस्थाहरु भएका छन् भने सदस्यका लागि स्वास्थ्य स्थितिको अनुगमन, सचेतना कार्यक्रम, शुल्क जरिवाना मिनाहाको व्यवस्था भएको छ । केही संस्थाहरुले संक्रमित कमर्चारीका लागि उपचार खर्च, बिदा सहुलियत तथा निर्ब्याजी ऋणको व्यवस्था गरेको छ । काेभिड-१९ महामारीको दोश्रो लहरको दौरान लघुवित्त संस्था सञ्चालन सम्बन्धमा सर्वेक्षणले यस्ताे नतिजा देखाएकाे छ । कर्मचारी तथा सदस्य स्वास्थ्य सुरक्षा मापदण्डको पालना व्यवसाय सञ्चालन गर्दा संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड कर्मचारीको हकमा (पञ्जा, मास्क र फसे शिल्डको प्रयोगका साथै कम्तिमा एक मिटर दूरीको पालना) पूर्ण रुपमा र सदस्यको हकमा (साबुन पानी/सानिटाइजर र मास्कको व्यवस्थाका साथै कम्तिमा एक मिटर दूरीको पालना) आंशिक रुपमा मात्र पालना गरेका छन् । व्यवसाय सञ्चालन तथा कार्यक्षेत्रमा आवागमन अत्यधिक संस्थाहरु (९३%) ले स्थानिय निकायका निषेधाज्ञा/बन्दाबन्दीका कारण आफ्नाे व्यवसाय आंशिक रुपमा मात्र सञ्चालन गरेका छन् भने बाँकी ७% पूर्ण रुपमा बन्द छन् । यसरीनै धेरै (६२%) संस्थाहरुले कार्यक्षेत्रमा आवागमन (केन्द्र बैठक तथा सदस्य भेटघाट) बन्द गरेका छन् भने एक तिहाई (३३%) ले अझै आंशिक रुपमा आवागमन कायम राखेका छन् । सदस्य सहयोग तथा राहतका लागि कदम संस्थाहरुले सदस्य सहयोग तथा राहतका लागि विद्युतिय भुक्तानी प्रणाली (२५% ले सञ्चालन गरिसकेको र ४०% ले सञ्चालनको योजना बनाएको) र व्याजमा छुट (१८% ले दिईरहेको र ६४% ले दिने योजना बनाएको) को व्यवस्था गरेको छ । कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि कोषको प्रयोग संस्थाहरुले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि आफुसगं रहेका कोषहरुको न्यायपूर्वक परिचालन गर्दै गरेका छन् । तिनीहरु मध्ये ४७% ले ग्राहक संरक्षण कोषको प्रयोग गरिसकेका छन् भने ५०% ले संस्थागत सामाजिक उत्तरदायित्व कोषको प्रयोग गरिसकेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले सदस्य स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नु र निषेधाज्ञा/बन्दाबन्दी कायम रहेका कार्यक्षेत्रमा आवागमन (केन्द्र बैठक तथा सदस्य भेटघाट) बन्द गर्नु राम्रो हुन्छ । साथै, संस्थाहरुले स्वास्थ्य जोखिम रहित तथा कम लागतमुखी व्यवसाय सञ्चालनका लागि विद्युतिय भुक्तानी प्रणाली लगायतका व्यवस्थामा लगानी गर्नु उपयुक्त हुन्छ ।