लघुकर्जा लघुवित्तले मात्रै प्रवाह गर्न पाउन्, व्याज तिर्ने समय थपियोस्
काठमाडाैं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०५९/६० देखि नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । सामान्यता बजेटपछि नेपालमा राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने गर्छ । नेपाल सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट लेराउने गर्छ भने बजेटले तय गरेको आय-व्ययको हिसाबमा राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्छ । यो नीति सामान्यता बजेटपछि नै सार्वजनिक गरिन्छ । धेरैको चासो रहने यस मौद्रिक नीतिले खास गरि उच्च आर्थिक वृद्धि हासिल गर्न, वित्तीय बजारमा स्थायित्व ल्याउन, निक्षेप र कर्जाको ब्याजदरमा सन्तुलन कायम गर्न,रोजगारीहरुको सिर्जना गर्न, वित्तीय पहुँचको वृद्धि गर्न, सेयर बजारलाई गति दिन, भुक्तानी प्रणाली सुदृढीकरण गर्ने विषयलाई सुदृढ गर्न विभिन्न वित्तीय उपकरणहरू सहित मौद्रिक नीति आउने गर्दछ । सबैले चासोको साथ हेरिएकाे यो मौद्रिक नीतिलाई लघुवित्त कर्मीहरुले पनि कस्तो आउला भनेर चासो लिईरहेको अवस्था छ । हाल राष्ट्र बैंकले क्षेत्र अनुसरा नै कमिटि गठन गरेर सुझावहरु संकलन गरिरहेको अपस्था छ र सबै क्षेत्रका ज्ञाता तथा आबद्ध ब्यक्तिहरुले आफ्ना क्षेत्रलाई राम्रो बनाउने उद्देश्यले सुझावहरु दिईरहेको अवस्था छ । अब आउने मौद्रिक नीतिले पनि लघुवित्त क्षेत्रमा कस्तो प्रभाव पार्छ । कोरोना को प्रभावले लघुवित्त क्षेत्रलाई पारेको प्रभावको बारेमा सम्बोधन कतिसम्म गर्छ र खस्कँदै गएको लघुवित्त क्षेत्रलाई सहि दिशामा लेराउन के कस्ता खालका नीति नियम आउलान् भन्ने चासो सर्बत्र रहेको छ । अब आउने मौद्रिक नीतिले लघुवित्त क्षेत्रलाई निम्न बिषयहरु समेट्न जरुरी देखिन्छ । २०७८/०७९ मा लघुवित्त क्षेत्रको मौद्रिक नीतिमा आशा क, ख, ग, वर्गका बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउनु पर्ने विपन्न वर्ग कर्जाको व्याजदर आधारदर भन्दा बढि नहुने गरि उपलब्ध गराउनु पर्ने र लघुवित्त संस्थाहरूलाई पनि बेश रेटमा फिक्स प्रिमियम जोडी व्याजदर तोक्ने व्यवस्था भएमा विपन्न परिवारलाई जाने कर्जाको ब्याज दर कम हुने देखिन्छ । धितो कर्जा सीमा वृद्धि २५ लाख रूपैयाँसम्मको व्यवस्था र कुल कर्जाको ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउनु पर्ने छ । निषेधाज्ञा अवधिभरमा असुल हुन नसकेको कर्जाको साँवा व्याज भुक्तानी अवधि घटिमा ६ महिना थप गर्नुपर्ने तथा सो कर्जाको कर्जा नोक्सानी व्यवस्था असल वर्गकै कर्जा सरहको सुबिधा दिनुपर्ने छ । लघुवित्त वित्तीय संस्थाबाट प्रभाव भएको कृषि क्षेत्रको कर्जालाई व्याज अनुदान दिने व्यवस्था गर्नेुपर्ने तथा क, ख, ग बर्गका बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा बिपन्न वर्ग कर्जा गणना जस्तै बैंक वित्तीय संस्थाबाट लिएको कर्जा कृषि क्षेत्रमा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाको कृषी कर्जामा गणना गर्ने व्यवस्था हुनुपर्ने देखिन्छ । सहुलियत पूर्ण कर्जा अन्तर्गत शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जामा कर्जाको सिमा बन्देज हटाउनु पर्ने छ । लघुवित्तको मुख्य काम भनेको लघुकर्जा प्रवाह गर्ने भएको हुँदा लघुकर्जा लघुवित्त वित्तीय संस्थाबाट मात्रै कर्जा प्रवाह हुने व्यवस्था मिलाउनु पर्ने छ। बैंक तथा वित्तीय संस्थाभन्दा अन्य क्षेत्रहरु सीआईटी, संञ्चय कोष, बीमा कम्पनी तथा अन्य क्षेत्रहरुबाट पनि कर्जा लिने व्यवस्था मिलाउनु पर्ने छ । एक प्रदेशभन्दा बढि प्रदेशमा कार्यक्षेत्र भई कार्य गरिरहेका लघुवित्त वित्तीय संस्थालाई राष्ट्रिय स्तरको हुनु या एउटा प्रदेशमा मात्र सीमित हुनु भनि दिएको समय सीमालाई थप गर्नुपर्ने छ । त्यस्तै, नेपाल राष्ट्र बैंकबाट वित्तीय संस्थालाई प्रदान गरिएको पुर्नकर्जाको भाखा अवधि थप गर्नुपर्ने छ । (लेखक जाेशी ग्लाेबल आईएमई लघुवित्तका प्रमुख कार्यकारी अधिकारी हुन् ।)
नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ । संस्थाले साउन १ गतेदेखि लागू हुुने गरी काठमाडौंको टेकुमा रहेको आरविवि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो सम्बन्धी असार ६ गते दुई संस्थाबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतपत्रमा नेरुडे लघुवित्तको तर्फबाट प्रबन्ध संचालक सुधिर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । यससँगै संस्थाको सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य आरबिबि मर्चेन्ट मार्फत हुने भएको छ । आरबिबि मर्चेन्ट बैकिङ्ग लि. राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो ।
राताम्मे बजारमा एनटीसीसहित १७ कम्पनीको सेयर मूल्य बढ्यो, नारायणीको मूल्यमा सर्किट
काठमाडौं । उच्च गिरावट देखिएको मंगलबारको बजारमा पनि १७ कम्पनीको सेयर मूल्य बढेको छ । २२७ कम्पनीको कारोबार भएको बजारमा १७ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको सेयर सर्किट लेभलमा कारोबार भएको छ । ७१ अंकले घटेकोे घटेको बजारमा पनि बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ७१७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँले बढी हो । कम्पनीले हकप्रद जारी गर्ने प्रकृया अघि बढाएसँगै लगानीकर्ता एकाएक संस्थाको सेयरमा झुम्मिएका हुन् । संस्थाले हिजो मात्रै शतप्रतिशत हकप्रद जारी गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । बाेर्डले स्वीकृति दिएसँगै संस्थाले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छ । त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर मूल्य ४.३३ प्रतिशतले बढेर ७१७ रुपैयाँ पुगेको छ । एनटीसीको सेयर मूल्य १.७३ प्रतिशतले बढेर प्रतिकित्ता १२९४ रुपैयाँ पुगेको छ । र, बरुण हाइड्रोको सेयर मूल्य १.५६ प्रतिशतले बढेर प्रतिकित्ता ५२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सेयर बजार राताम्मे: एकैदिन २.४६ प्रतिशतले घट्यो नेप्से, साढे ११ अर्बको कारोबारमा पुनर्बीमा कम्पनीको उच्च सोमबार विभिन्न १० वाणिज्य बैंकको ऋणपत्रको सेयर मूल्य बढेको छ । १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५, १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३, १० प्रतिशत नबिल डिबेन्चर २०८२, १० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६, १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४, १०.२५ प्रतिशत सनराइज बैंक डिबेन्चर २०८३, १०.२५ प्रतिशत ग्लोबल आईएमई बैंक डिबेन्चर २०८०/८१, ११ प्रतिशत एनआईसी एशिया डिबेन्चर ०८२/८३, ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स डिबेन्चर २०८५ र ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ को सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ । त्यसैगरी, म्युचुअल फण्डमध्ये ३ वटाको इकाई मूल्य सामान्य प्रतिशतले बढेको छ । जसमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी म्युचुअल फण्डको इकाई मूल्य १.८९ प्रतिशतले बढेर प्रतिइकाई १३.४५ रुपैयाँ पुगेको छ । त्यस्तै, कुमारी इक्विटी फण्डको १.७६ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ०.६० प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा २२७ कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये पोखरा फाइनान्स र यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य क्रमशः ९.२६ र ९.१२ प्रतिशतले घटेको छ । त्यस्तै, बाँकी कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ प्रतिशतभन्दा कमले घटेको छ ।