रिभर फल्स पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् । रिभर फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
एफपीओ निष्काशन र लाभांश पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो वार्षिक साधारणसभा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी चैत १८ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजेर काभ्रेपलान्चोकको बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा १०औं वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ९.१९९ प्रतिशत बोनस र ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न लागेको मिर्मिरे लघुवित्तले प्रिमियममा सेयर अर्थात एफपीओ(फर्दर पब्लिक अफरिङ्) निष्काशन गर्ने प्रस्ताव गरेको छ । स्वेडा लघुवित्तका तत्कालीन संस्थापक सेयरधनीहरुले राखेको कल्स इन एडभान्सको रकमलाई संस्थापक सेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्न र उक्त संस्था प्राप्ती पश्चात संस्थापक सेयर र सर्वसाधारण सेयरपुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकम एफपीओ मार्फत निष्काशन गर्न लागेको संस्थाले जनाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको चैत ८ गतेदेखि चैत १८ गतेसम्म बुक क्लोज हुनेछ । यससँगै चैत ७ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन पाउनुका साथै, प्रस्तावित लाभांश पाउने छन् । सम्बन्धित समाचार मिर्मिरे लघुवित्तको लाभांश घट्यो, अब कति दिन्छ ?
सेयरमा लगानी गर्नेले के कुरामा ध्यान दिने ? यस्ता छन् बैंकर ज्ञवालीको सुझाव (भिडियाेसहित)
सेयर बजारमा लगानी गर्न चाहने व्यक्ति वा लगानीकर्ताले मुख्य ध्यान दिनु पर्ने विषय भनेको मैले कति समयका लागि लगानी गर्दैछु भनेर बुझ्नु पर्छ । समय फिक्स गर्नु पर्छ । छोटाे समयमा लगानी गरेर नाफा कमाउने हो वा लामो समयसम्म लगानी गरेर नाफा गर्ने हो । यी दुई कुरामा लगानीकर्ताले आफुलाई फिक्स गर्नुपर्छ । लामो समयका लगानी गर्ने हो भने कम्पनीको प्रोफाइल राम्रो भएको, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) र डिभिडेन्ट पर सेयर (डीपीएस) राम्रो दिन सक्ने कम्पनी, कम्पनीको म्यानेजमेन्ट राम्रो भएको र कम्पनीको प्रोस्पेक्टस् राम्रो भएको लगायतका आधारभुत विषयहरु अध्ययन गरेर लगानी गर्नुपर्छ । यी विषयहरू अध्ययन गरेर बुझेर लगानी गर्यो भने कुनै न कुनै समयमा यस्ता कम्पनीले राम्रो प्रतिफल दिन्छन् । अब तत्कालिन रुपमा अर्थात सर्टटर्ममै नाफा चाहिएको हो भने मार्केटको इन्फरमेसन अनुसार नै चल्नु पर्ने हुन्छ । ट्रेड पनि त्यही अनुसारको गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा भनेको लगानीकर्ताले रियलाइजेसनको लिमिट राख्न आवश्यक छ । बजारमा ठूला लगानीकर्ता र म्युच्युअल फण्डहरुको पनि भूमिका रहन्छ । उनीहरुले बजार तल माथि गयो भने अलि होल्ड गर्ने भन्दा पनि बेच्च हतारिन्छन् । बजार घट्न थाल्यो भने साना लगानीकर्ता भन्दा पनि म्युच्युअल फण्ड पहिला आँतिन्छन् । म्युच्युअल फण्डले पनि बजारमा धेरै भूमिका र योगदान गर्न सक्छन् । तर, यहाँ सबैलाई नाफा नै चाहिएको छ । त्यस कारणले यी विविध विषयहरुमा सुधार हुन आवश्यक छ । कम्पनीको सम्पूर्ण विषयवस्तु अध्ययन गरेर गरेको लगानीले कुनै पनि समयमा राम्रो प्रतिफल त पक्कै दिन्छ । हल्लैहल्लाको भरमा लगानी गरेको हो भने त सेयरबजार जुवाघर जस्तै हुन्छ । बुझेर गरेको लगानी हो भने हाम्रो जस्तो क्यापिटल मार्केटमा लगानीकर्ता पछुताउनु पर्ने अवस्था आउँदैन । बजार हाे तल माथि भइरहन्छ नि । हरेक दिन लगानीको मार्क टु मार्कट गर्दै कहिले उफ्रिने त अर्को दिन हतासिने लगानीकर्ताले बजारमा गुमाउछन् अनि बजारलाई झन तलमाथि हुन मद्दत गर्छन् । विश्ववास आफ्नो लगानीमा हुनुपर्छ । सेयर बजार उथलपुथलकाे कारण मार्चको मध्यसम्म संसारैभरका सबै सेयर बजार ओरालो यात्रामा थिए । त्यसपछि रिकभर हुँदै संसारभरकै परिसूचक उच्च बिन्दुमा पुग्यो । न्युओर्क, भारत र नेपालमै कोभिडको बीचमा परिसूचकले उच्च विन्दु पार गरेर नयाँ रेकर्ड राख्यो । सेयर बजार बढ्दा हौसिने र घट्दा निराश हुने लगानीकर्ताको प्रवृति छ । नेपालकै सन्दर्भमा कुरा गर्दा १२ सयमा रहेको नेप्से परिसूचक बढेर २६ सयमा पुग्दा लगानीकर्तालाई वास्तै छैन । तर, २६ सयबाट २०/२५ अंकले घट्यो भने आत्तिएर बेच्न दौडिने प्रवृति लगानीकर्ताको छ । जुन सेयर बजारका लगानीकर्ताहरुका लागि उपयुक्त हुन सक्दैन । सर्वप्रथम यो प्रवृतिलाई सुधार्न आवश्यक छ । नेपाली सेयर बजारका लगानीकर्ताहरु बजार बढ्यो भने किन्ने तर बजार घट्न लाग्यो भने बेच्न दौडिहाल्छन् । हामी कहाँ आधारभुत ज्ञानको अभाव छ । हाम्रा लगानीकर्ताहरुमा वित्तीय चेतनाको अभाव छ । लगानीकर्ताले ‘डिभिडेण्ड इल्ड’ हेर्नुपर्छ । कम्पनीको प्रोफाइल हेर्नु पर्ने हो । कम्पनीको व्यवस्थापन कस्तो छ भनेर हेर्नु पर्ने हुन्छ । कम्पनीको इपीएस (प्रतिसेयर आम्दानी) लगायतका पक्षहरु अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ । तर, हामी फलानोसँग मर्ज हुने भयो, फलानो कम्पनीको राइट सेयर आउने भयो भन्ने लगायतका हल्लाहरु सुनेर लगानी गर्न दौडिन्छौं । त्यही भएर हल्लाको भरमा बढेको सेयर बजार हल्लाकै भरमा घट्छ । यो सामान्य विषय नै हो । त्यसैले ‘फण्डामेन्टल्स’को आधारमा गरेको लगानी सुरक्षित हुन्छ । राम्रो हुन्छ । अगाडि बढ्छ । आजको दिनमा सेयर बजारको प्रबृत्ति बढी जसो ‘पर्फरमेन्सबेस्ड मार्केट प्राइस’भन्दा पनि ‘हल्लाबेस्ड मार्केट प्राइस’ छ । यसैले विनाकारण घटबढ हुने, आन्तरिक सूचना चुहावटको कारणले पनि मार्केट तलमाथि हुने अवस्था देखिएको छ । अहिले बजार विश्वास गर्न लायक भइसकेको अवस्था छैन । त्यसैले बजारको इण्डिकेटरले सही संकेत गर्छ त भन्दा ‘आई कान्ट सिरियस’ । तर, यो विस्तारै सुधार हुँदै जाने प्रक्रिया हो । हिजोभन्दा आज धेरै परिवर्तन भएको छ । हिजो दुई चार जनाले चाहे भने परिसूचक जता पनि लान सक्थे । सेयर मूल्य जता पनि लान्थे । तर, आज हेर्नुभयो भने बजारमा दैनिक १० देखि ११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । धेरै विषयहरु सकारात्मक छन् । तर, प्रयाप्त छैन । सुधारका कामहरु गर्नुपर्ने धेरै छन् । पुँजी बजारमा भएको ‘फरमेन्स’ र विकास भने सन्तोषजनक छ भन्नुपर्छ, सकारात्मक कुराहरु पनि हाईलाईट गर्नुपर्छ । भिडियो हेर्न यसमा क्लिक गर्नुहोला (चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नबिल बैंकका डीजीएम हुन् । उनीसँग गरिएको कुराकानीमा आधारित)