लगानीकर्ताले अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन सकिने भएको छ । लगानीकर्तालाई सेयर बजारमा लगानी गरि प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाको लागी आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाईन मार्फत सहज रुपमा घरमै बसी लिई सेयर बजारमा लगानी गरि अल्पकालीन र दिर्घकालीन फाईदा लिन सक्नेछन् । उक्त सेवा लिने ग्राहकको लगानी सम्बन्धी निर्णय गर्दा सेयर बजार सम्बन्धी राम्रो ज्ञान र अनुभव भएका विज्ञ समुहबाट गरिने हुँदा लगानीकर्तालाई कम जोमिख बहन गरि उच्च प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त हुने देखिन्छ । अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एन आई सी एशिया क्यापिटलको वेभसाईट वा सोझै यो लिंकमा क्लिक गरि थप जानकारीको लागी आफ्नो समय अनुकुल भरच्युअल मिटिङ्गको लागि समय बुक गर्न सक्नुहुने छ । साथै उक्त लगानी व्यवस्थापन सेवा लिनको लागि सोझै याे लिंकमा क्लिक गरि रितपूर्वक आवश्यक विवरण/कागजातहरु अपलोड गर्नु पर्ने छ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने छ । साथै क्यापिटलको अनलाईन लगानी व्यवस्थापन सेवाले गर्दा लगानीकर्ताहरु घरमै सुरक्षित बसी हालको विषम परिस्थितिमा सहजै रुपमा लगानी व्यवस्थापनको सेवा लिई सेयर बजारबाट उचित लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ । अहिलेको समयमा सम्पूर्ण काम अनलाईनबाट हुने र परिस्थिति सहज हुन साथ अर्थात निषेधाज्ञा समाप्त भऐ पश्चात आवश्यक प्रकृयाको लागि एनआइसी एशिया क्यापिटलको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौ वा क्यापिटलको शाखा कार्यालयहरुमा उपस्थित भई बाँकी प्रकृया अनिवार्य रुपमा पुरा गर्नुपर्ने छ ।

हकप्रद सेयर जारी गर्न एचआईडीसीएलले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल) ले हकप्रद सेयर निष्काशन गर्नको लागि बुक क्लोजको मिति तय गरेको छ । जेठ १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरको लागि आवेदन दिन योग्य रहनेछन् । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीकाे शतप्रतिशत अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले गत जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो । सम्बन्धित समाचार एचआईडीसीएलले ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने

लगानीकर्ताबाट मात्रै ३२ अर्ब बढी कर उठाउने सरकारको लक्ष्य, गत वर्षकोभन्दा २४५ प्रतिशत बढी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीगत लाभकरबाट मात्रै ३२ अर्ब रुपैयाँ बढी कर उठाउने लक्ष्य राखेकाे छ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा वर्तमान स्रोत र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट गरी कूल ३२ अर्ब २ करोड ६ लाख रुपैयाँ कर उठाउने लक्ष्य लिएको हो । जुन गत वर्षको तुलनामा २४५ प्रतिशतभन्दा बढी हो । सरकारले गत वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ बाट कूल ९ अर्ब २७ करोड ०८ लाख रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो । त्यस्तै, चालु आवको संशोधित अनुमानित पुँजीगत लाभकरको तुलनामा आगामी वर्षको पुँजीगत लाभाकरको लक्ष्य ५.०६ प्रतिशतले बढी हो । सरकारले चालु आवमा ३० अर्ब ४७ करोड ८० लाख रुपैयाँ बराबरको पुँजीगत लाभाकर उठाउने संशोधित अनुमान गरेको छ । आगामी आवमा सरकारले वर्तमान श्रोतबाट ३१ अर्ब ३८ करोड २ लाख र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ६४ करोड ४ लाख रुपैयाँ पुँजीगत लाभ कर उठाउने लक्ष्य लिएको छ । त्यस्तै, सरकारले आगामी वर्षदेखि लागू हुनेगरी दोश्रो बजारका अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई छुट्टाछुट्टै करको व्यवस्था गरिदिएको छ । बजेट मार्फत सरकारले अल्पकालिन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ५ प्रतिशत(हालको बामोजिम) कर लागू गर्ने नयाँ व्यवस्था गरेको हो । यसअघि अल्पकालिन र दीर्घकालिन दुबै लगानीकर्तालाई बराबर अर्थात ५ प्रतिशत नै पुँजीगत लाभकर गरिँदै आएको थियो । नयाँ व्यवस्था अनुसार अब सेयर किनेको एक वर्षअघि नै बिक्री गर्ने लगानीकर्ताले ७.५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । र, सो अवधिभन्दा पछि सेयर बिक्री गर्ने लगानीकर्ताले पुँजीगत लाभकर बमोजिम ५ प्रतिशत कर सरकारलाई बुझाउनुपर्ने भएको छ ।