ग्रीनलाइफ हाइड्रोको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?
काठमाडौं । हाल सेयर निष्काशन तथा बिक्री गरिरहेको ग्रीनलाइफ हाइड्रोपावरको प्राथमिक सेयर(आईपीओ)मा भोलि (माघ २७ गते) सम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा बढी आवेदन परेसँगै उक्त सेयरको निष्काशन बन्द छिटो मिति (अर्थात माघ २७ गते)मा हुन लागेको हो । कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियो । जसमा हालसम्ममा एक अर्ब ९८ करोड रुपैयाँ बढीको आवेदन परिसकेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज(सोमबार) साँझ ५ बजेसम्ममा १० लाख ९१ हजार २५१ जना आवेदकबाट एक करोड ९८ लाख ६१ हजार ७१० कित्ता सेयर माग गरिसकेका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६.१ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा ३२ लाख ५१ हजार ६५२ कित्ता माग गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी गरी बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । र, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेबसाइट तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ । र, सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपेयाँ नाघ्ने छ।
सहकारी बैंक स्थापनाको प्रस्ताव विभागमा पुग्याे, अध्यक्ष भन्छन्ः यस्ता बैंक थप ५ वटा चाहिन्छ
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले मात्रै सहकारी संस्थाहरुमा वित्तीय लगायतका सेवा प्रवाह गर्न नसकेको भन्दै सरोकारवालाहरुले नेपाल सहकारी बैंक दर्ताको प्रस्ताव अघि सारेका छन् । नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगाना लगायत आवेदक संस्थाका प्रतिनिधिहरु आईतबार राष्ट्रिय सहकारी विभागमा सहकारी बैंक स्थापनाको प्रस्ताव लिएर पुगेका हुन् । एक मात्रै सहकारी बैंकले समग्र मुलुकभरका सहकारी संस्थालाई सेवा दिन नसक्ने भएकाले थप ५वटा सहकारी बैंकको आवश्यकता रहेको विस्तृत अध्ययन प्रतिवेदन सहित उनीहरु सहकारी बैंक दर्ताका लागि आवश्यक कागजात लिएर सहकारी बोर्ड पुगेका हुन् । तर विभागले बैंक दर्ता बारे प्राप्त कागजात अध्ययन पछि मात्रै निर्णय दिने बताएको छ । विभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारी ऐन २०७४ ले गरेको व्यवस्था अनुसार आवश्यक प्रमाण पुगेमा आफुहरुले दर्ता प्रक्रिया नरोक्ने बताए । उनले अध्ययन तथा अभिलेख प्रयोजनका लागि तत्काल बैक दर्ताको निवेदनलाई विभागले ग्रहण गरेको जानकारी दिए । उनले भने “हाम्रो काम रित पुर्वक निवेदन आयो आएन भन्ने हो । सहकारी विभागमा जनशक्ति घटेको छ । बन्द खाममा प्राप्त भएका विवरण अध्ययन गर्छौ । पुग अपुग विवरण बारे सूचित गर्नेछौं । यो सहकारी विभागको नोटिसमा आएको छ । अभिलेख प्रयोजनका लागि दर्ता गर्छौं। अनि यसको प्रोसेस बाँकी अगाडि बढ्छ ।” प्रस्तावित बहुउद्देश्य नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले एक मात्रै सहकारी बैंकले ३४ प्रतिशत सदस्यता र ६ प्रतिशत वित्तीय कारोबार मात्रै गरेकाले सम्पुर्ण सहकारी संस्थाको प्रवद्र्धन र वृद्धि विकास तथा आर्थिक कारोबार सञ्चालनका लागि थप ५ वटा यस्ता बैंक आवश्यक पर्ने बताए । गत मा देखि नै आफूहरुले राष्ट्रिय सहकारी बैंक स्थापना गर्ने पहल गरेको उल्लेख गर्दै उनले सहकारी सस्थाहरुको प्रवद्र्धन,राष्ट्रिय उत्पादनमा वृद्धि तथा आयात प्रतिस्थापन गरी समग्र आर्थिक वृद्धिका लागि एक मात्रै सहकारी बैंकबाट सम्भव नहुने बताए । “नेपालमा सहकारी बैंक कम्तिमा ५ वटा चाहिन्छ । सरकारले पनि सहकारीलाई प्राथमिकतामा राखेको छ । आर्थिक पिल्लरको रुपमा राष्ट्रिय सहकारी बैंकले काम गर्नुपर्छ । त्यो एउटा मात्रै बैकले संभव छैन भन्ने कुरा अध्ययन प्रतिवेदन पनि देखाएको छ”, उनले भने ।
तयारी पोशाक व्यवसायीलाई सहुलियत कर्जा दिन त्रिपक्षीय सम्झौता
काठमाडाैं । तयारी पोशाक व्यवसायीलाई सहुलियत पूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएकाे छ । उक्त सम्झाैतामा मेगा बैंक नेपालका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा क्यापिटल मार्केट्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको तर्फबाट अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरेका हुन् । जसमा मेगा क्यापिटल मार्केट्सले तयारी पोशाक उत्पादन गर्ने उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ । यसले स्थानीय स्तरमा तयारी पोशाक उत्पादकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा विस्तारमा सहयोग पुग्नु र यसबाट राष्ट्रको आत्मनिर्भरता अभियानमा टेवा पुग्नुका साथै साना तथा मझौला उद्ममी र उनीहरुसँग आवद्ध मजदुरको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।