आशा लघुवित्तका ग्राहकले ब्याजमा १० प्रतिशत र हर्जानामा शतप्रतिशत छुट पाउने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाका ग्राहकले ब्याज रकममा १० प्रतिशत र हर्जानामा शतप्रतिशत छुट पाउने भएका छन् । संस्थाले हालको अवस्थालाई मध्यनजर गर्दै उक्त छुट दिने व्यवस्था मिलाएको हो । बिश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को दोस्रो लहरको संक्रमण फैलिए संगै देशभरी निशेधाज्ञा तथा बन्दाबन्दीको अवस्था सृजना भई व्यापार व्यवसाय पूर्णरुपमा ठप्प हुन गई आम्दानीमा समेत प्रत्यक्षरुपमा असर परेको छ । यो अवस्थासँगै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले ग्राहकलाई विभिन्न तीन विधामा छुट सुविधा दिने जानकारी गराएका छन् । महामारीको कारण कर्जाको किस्ता नियमित भुक्तानी गर्न नसकेको खण्डमा सो वापत वित्तीय संस्थाको नियमानुसार लाग्ने हर्जाना रकम मिति २०७८ जेठ १ गतेदेखि बन्दाबन्दी पूर्णरुपमा अन्त्य भएको १ महिना अवधिसम्मको लागि नलिने व्यवस्था मिलाएको संस्थाले जानकारी गराएको छ । महामारीको कारण वा अन्य कारणले समेत यस अघि देखि नै वित्तीय संस्थालाई बुझाउनु पर्ने कर्जा रकम भुक्तान नगरेका ग्राहक सदस्यहरुको हकमा २०७८ असार १ देखि असार ३१ गते भित्र हालसम्म रोकिएको सम्पूर्ण साँवा तथा ब्याज भुक्तान गरेको खण्डमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत तथा हर्जानामा शतप्रतिशतका दरले छुट प्रदान गर्ने व्यवस्था मिलाईएको छ । महामारीको कारण ग्राहक सदस्यलाई पर्न गएको क्षतिलाई न्यूनिकरण गर्न हाल प्रदान गर्दै आएको ग्राहक संरक्षण कोष अन्तर्गतको सुविधामा केही शिर्षक थप गरी ग्राहकलाई सुविधा प्रदान गर्ने निर्णय समेत भएको हँदा सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी समयमा नै लाभ लिनुहुन संस्थाले अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६४ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व २२ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ ।

१५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा १५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । ‘४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ ‘घ’’ नामक सो मात्राको ऋणपत्र आज (असार २ गते) नेप्सेमा थपिएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन भएका उक्त ऋणपत्र विकास ऋणपत्र धितोपत्र सूचीकरण विनियमाववली, २०७५ को विनियम ८ अनुसार सूचीकृत भएको हो । ५ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा ४.७९ प्रतिशत व्याजदर पाइने छ । जुन अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ । त्यस्तै, २०७८ जेठ १३ गतेदेखि निष्काशन भएको उक्त ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ १३ गते हुने जनाइएको छ ।

आधा घण्टामै पौने ३ अर्बको कारोबार, ३२ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेकाे विज्ञप्तिको प्रभाव बुधबारको सेयर बजारमा परेको छ । जसकाे कारण नियमित कारोबार खुलेको ३० मिनेट नबित्दै नेप्से परिसूचकमा तीव्र उतारचढाव र उच्च कारोबार भइसकेको छ । ११ बजेर ३० मिनेट जाँदा नेप्से परिसूचक ३२.३३ अंकले घटेर २९८९.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०७ प्रतिशतले घटी हो । शुरुवातमा ओरालो लागेपछि बजार खुलेको १२ मिनेटमा बढेर ३०२३ बिन्दुमा पुगेको परिसूचक पुनः ३००० बिन्दु तल झरेको छ । यो अवधिमा उच्च कारोबार भइसकेको छ । आधा घण्टाको अवधिमै १९२ कम्पनीको पौने ३ अर्ब अर्थात २ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । ३० मिनेट नबित्दै कम्पनीको १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जसको मूल्य प्रतिकित्ता १८८५ रुपैयाँ रहेको छ । यो अवधिमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । उता सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर भने सर्किट लेभलमा कारोबार भएको छ । जसको मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ७३३ रुपैयाँ पुगेको छ ।