किसान लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु (एफपीओ)) मार्फत १२ लाख ९८ हजार २५९ कित्ता साधारण सेयर जारी गर्ने भएको छ । सो प्रयोजनको लागि संस्थाले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता-पत्रमा किसान लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका थिए । किसान लघुवित्तको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ५२ करोड २६ लाख रुपैयाँ र चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (साविकको एनआरएन) कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल माघ ७ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ साल फागुन १६ गतेदेखि आफ्नो वित्तीय कारोबारको शुभारम्भ गरेको हो । धनगढी २, बैहाबेहडी कैलाली केन्द्रीय कार्यालय र बुढानिलकण्ठ ८ मण्डिखाटार, काठमाण्डौमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै किसान माइक्रोफाइनान्स, रामारोशन, क्रिएटिभ र दिव्य लघुवित्त मर्ज गरि आफ्नो कार्यक्षेत्र ४६ जिल्लामा विस्तार गरिसकेको छ । हाल यसका १३६ वटा शाखाबाट लाखौं ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको र हालसम्म १ अर्ब ७ करोड २५ लाख रुपैयाँ बचत ५ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

मेरो सेयरको सेवा बेलुका ८ बजेदेखि अवरुद्ध हुने, ईडीआईएसकाे समय थप

काठमाडौं । मेरो सेयरको सेवा आज चैत १७ गते बेलुका ८ बजेदेखि अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले एक सूचना जारी गर्दै बेलुका ८ बजेदेखि केहि समयका लागि मेरो सेयरको सेवा अवरुद्ध हुने जनाएको हो । मेरो सेयरमा आकस्मिक रुपमा थप सर्भर जडान गर्नुपर्ने भएको र डाटा माईग्रेसन गर्न केही समय लाग्ने भएकाले सो समय पश्चात सेवा बन्द हुने सीडिएससीले बताएको छ । त्यस्तै, मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरु देखा पर्दै आएकोमा सो को समाधानको लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने भएको सीडीएसले जनाएकाे छ । त्यस्तै, मेरो सेयरको सेवा अवरुद्ध हुँदा चैत १६ गते कारोबार भई चैत १८ गते राफसाफ तथा फछ्र्यौट हुनुपर्ने कारोबार ईडीआईएस प्रविष्टि गर्ने समय चैत १८ गते बिहान १० बजेसम्म कायम गरिएको सीडीएसले जनाएको छ ।

वार्षिक साधारणसभामा जान किसान लघुवित्तले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको आगामी चैत २२ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । संस्थाको दोश्रो वार्षिक साधारणसभा चैत २९ गते बस्दै छ ।