रिडी हाइड्रोको साधारणसभाले पारित गर्याे ५ प्रतिशत लाभांश
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्नेलगायतका एजेन्डासमेत छलफल गरी पारित गरेको छ । कम्पनीले पारित गरेको लाभांश मंसिर १५ गतेसम्म कायम सेयरधनीले पाउने छन् । रिडी हाइड्रोपावर जलविद्युत तथा ऊर्जाका अन्य आयोजनाहरु विकास, निर्माण र संचालन गर्न उद्देश्यले नेपालीहरुको लगानी भएको कम्पनी हो । यस कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि संचालन गरिरहेको छ । कम्पनीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८.५ मेगावाट क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ कात्तिक १५ गतेदेखि व्यवसायित उत्पादन गरिरहेको छ । रैराङ हाइड्रोपावर डेभल्पमेण्ट कम्पनीले निर्माण गरेको इवाखोला जलविद्युत आयोजनामा समेत यस कम्पनीको २५ प्रतिशत (१४ करोड) शेयर लगानी रहेको छ । आगामी आव वर्षहरुमा कम्पनीको बुटवल सोलार आयोजनाको विद्युत बिक्री आम्दानी तथा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रदान गर्ने लाभांश समेत प्राप्त गर्ने हुँदा कम्पनीको आयमा वृद्धि भई आफ्ना सेयरधनीहरुलाई दिने लाभांशमा पनि वृद्धि हुने कम्पनीको दावी छ । कम्पनीले रिडीखोलाको व्यावासायीक उत्पादन पश्चात् हरेक वर्ष सेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ ।
महुली लघुवित्तको साधारण सेयर नेप्सेमा सूचीकृत, सेयर काराेबार फुकुवा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ६ लाख ४२ हजार २ सय कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । साविकको नव किरण लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको नव किरण लघुवित्त र महुली लघुवित्त १००ः९५ को अनुपातमा एक आपसमा गाभिएका हुन् । साथै, सेयर सूचीकरण गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको महुली लघुवित्तको सेयर कारोबार फुकुवा गरिएको नेप्सले जानकारी गराएको छ ।
यूनाईटेड मोदी हाइड्रोको नगद लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । हाइड्रोले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने घोषणा गरेको हो । मंसिर २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी पुस २२ गते बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको कमलादीमा रहेको हेरिटेज प्लाजाको सभाकक्षबाट भर्च्युअल माध्यमबाट सभा सञ्चालन हुनेछ । सभामा जाने प्रयोजन तथा लाभांश प्रयोजनको लागि पुस ५ गतेदेखि ९ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।