बजार पुँजीकरणले नाघ्यो ३४ खर्ब ६ अर्ब, सात महिनामै ९० प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा बजार पुँजीकरण ९० प्रतिशतले बढेको छ । गत असार मसान्तको तुलनामा माघ मसान्तसम्मको बजार पुँजीकरण ८९.९९ प्रतिशतले बढेर ३४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जबकी २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, एक वर्षको अवधिमा नेप्से परिसूचक ८७.७३ प्रतिशतले बढेको छ । २०७६ माघ मसान्तमा १३४६ रहेको नेप्से परिसूचक २०७७ माघ मसान्तमा बढेर २५२६.९ बिन्दुमा पुगेको छ । २०७७ माघमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१६ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७२.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.२ प्रतिशत रहेको छ ।

ग्रीन लाइफ हाइड्रोको आईपीओ सूचीकृत, मंगलबारदेखि कारोबार हुने

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २ गते नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर भोलि अर्थात (चैत ३ गते) मंगलबार देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल जीएलएच दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको पुतलीसडकस्थित सानिमा क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना चयन

काठमाडौं । पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना निर्विरोध चयन भएको छ । फागुन २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिमा ६ जनालाई निर्विरोध निर्वाचित गरेको हो । यससँगै नयाँ समितिमा समूह ‘क’ बाट ५ जना र समूह ‘ख’ बाट एक जना गरि ६ जना सञ्चालक चयन भएका हुन् । कम्पनीको चौथो र पाँचौं वार्षिक साधारणसभा गत फागुन २४ गते सम्पन्न भएको हो ।