मध्य भोटेकोशीले साढे एक अर्बको आईपीओ जारी गर्ने

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले २५ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैशाख ५ गते मात्रै यस संस्थालाई अंकित मूल्य १०० को एक करोड ५० लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले एक अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी सो मात्राको सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

साधना लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । साधना लघुवित्तको वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको १८ प्रतिशत अर्थात ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

‘एनआईबिएल समृद्धि फण्ड-२’: बिक्रीबाट उठेको रकम विभिन्न क्षेत्रमा लगानी, लगानीकर्तालाई हरेक वर्ष लाभांश

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडको ‘एनआईबिएल समृद्धि फण्ड-२’ नामक म्युचुअल फण्ड आगामी बैशाख १३ गतेदेखि खुल्ने भएको छ । यससँगै इच्छुक लगानीकर्ताले सो दिनदेखि उक्त फण्डमा लगानी गर्न पाउने छन् । बन्दमुखी प्रकारको यो योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ बराबरको रहेको छ । प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि निष्काशन गरिने छ । त्यस्तै, कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिने क्यापिटलले जनाएको छ । इच्छुक आवेदकले आगामी बैशाख १३ गतेदेखि छिटोमा बैशाख १७ गतेसम्ममा इकाई किन्न सक्ने छन् । उनीहरुले १० रुपैयाँको प्रतिइकाईका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड २० लाख इकाईसम्मको खरिदका लागि आवेदन दिन सक्ने छन् । क्यापिटलका अनुसार न्युनतम ६ करोड इकाई बिक्री हुनुपर्ने र अधिकतम १५ करोड इकाई सकारिने छ । सो मात्राको इकाई बिक्री भएपश्चात इकाई बिक्री बन्द गरिने छ । यो योजना ईकाई बाँडफाँड भएको मितिले १० वर्षमा परिपक्क हुने छ । सो अवधि पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानुन बमोजिम वितरण गरने छ । उक्त फण्ड बिक्रीको लागि कोष प्रर्बद्धकको रेटिङ्ग ‘इक्राएनपी माइनस आईआर ए’ र योजना व्यवस्थापकको रेटिङ्ग इक्राएनपी एएमसी क्वालिटी थ्री प्लस (एमसीथ्री+) रेटिङ्ग पाएको थियो । योजनाको उद्देश्य यो योजनाले इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बजारमा लगानी गरी दक्ष लगानी सेवाद्वारा योजनाका लगानीकर्तालाई सर्वाधिक प्रतिफल दिने छ । साथै, एक संस्थागत लगानीकर्ताको हैसियतबाट बजारको दिगो विकासमा सघाउ पर्याउने उद्देश्यले यस योजनाका इकाईहरु निष्काशन गरिएको क्यापिटलले जनाएको छ । कहाँ कहाँ लगानी हुन्छ ? योजनाको इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकम कुनै वा सबै क्षेत्रमा लगानी हुनेछ । नियमावलीको नियम ३४ एवं निर्देशिकाको अधिनमा रही क्यापिटलले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत धितोपत्रमा लगानी गर्ने छ । नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बील तथा मुद्रा बजारका अन्य साधनहरुमा पनि यो लगानी गर्न सकिने छ । त्यस्तै, बैंक निक्षेप, मुद्रा बजार उपकरण, बोर्डले तोकिदिएको अन्य क्षेत्रहरु र साथै योजनाको लगानी गर्न सक्ने क्षेत्र तथा लगानीको सिमा सम्बन्धमा सामूहिक लगानी कोषमा व्यवस्था भए बमोजिम लगानी गरिने क्यापिटलले जनाएको छ । विदेशमा लगानी गर्ने योजना छ कि छैन ? यो योजनाको रकमलाई हाल विदेशमा लगानी गर्ने कुनै योजना रहेको छैन । तथापि भविष्यमा बजारको अवस्था हेरि नियमन निकायको स्वीकृति लिई नियामावलीको व्यवस्था बमोजिम विदेशमा लगानी गर्न सकिने संस्थाले जनाएको छ । योजनाको मुनाफा वितरणको लक्ष्य योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गरिनेछ । खुद मुनाफामध्ये आवश्यकता अनुसार संचित मुनाफा (रिर्टेन अरनिङ्ग) पुनः लगानीका लागि उपयोग गरिनेछ । पुरानो योजनालाई नयाँमा परिणत गर्न सकिने योजनाका ईकाईहरु अर्को योजनामा हस्तान्तरण नहुने व्यवस्था रहेको छ । योजनाको अवधि समाप्त भए पश्चात् योजनाको सम्पत्ति बिक्री गरी इकाईधनीहरुलाई समानुपातिक आधारमा वितरण गरिनेछ । अवधि समाप्त भएको अवस्थामा इकाईधनीको सहमतिमा यस योजनालाई नयाँ योजनामा परिणत गर्न सकिनेछ । योजनालाई नयाँ योजनामा परिणत गर्ने सम्बन्धी व्यवस्था र अपनाउने प्रकृया नियमावलीको अधीनमा रही बोर्डको स्वीकृति अनुरुप हुनेछ । क-कसले आवेदन दिन पाउछन् ? नेपाली नागरिक, गैरआवसीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चयकोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले फण्डको इकाई खरिद गर्न आवेदन दिन सक्ने व्यवस्था रहेको छ । लगानीकर्ताहरुले कसरी पाउँछन् लाभांश ? यस योजना अन्तर्गत लगानी गर्ने लगानीकर्ताहरुले इकाईको अंकित मूल्यमा प्रत्येक आर्थिक वर्षको अन्तमा लगानी गरेको आधारमा योजनाले कमाएको खुद मुनाफा अनुपातमा लाभांश पाउने छन् । यसरी लाभांश दिँदा योजनालाई आफ्नो लगानी वापत प्राप्त हुने  पुँजीगत मुनाफा, व्याज, लाभांश, सेयर प्रत्याभूति कमिशन वा सम्पत्तिको मूल्य वृद्धि वा अन्य वित्तीय कारोबारबाट भएको आम्दानीबाट दिइनेछ । प्रत्येक आर्थिक वर्षमा योजनाले खुद मुनाफाबाट लाभांश दिने निर्णय गर्नेछ । खुद मुनाफाबाट लाभांश कट्टा गरी बाँकी रहेको रकम संचित मुनाफा रहने छ । योजनाको कार्य प्रगतिका आधारमा आगामी वर्षहरुमा अझ बढी लाभांश प्रदान गर्न सकिने छ । कुनै वर्ष योजनाको आम्दानीले नखामेमा योजनाको संचित मुनाफाबाट लाभांश दिन सकिनेछ तथापि योजनाले हरेक वर्ष निश्चित मुनाफा दिने सुनिश्चितता भने रहँदैन । को-को छन् कोष सुपरिवेक्षकमा ? फण्डको कोष सुपरिवेक्षकमा बिमलप्रसाद कोईराला, शम्भुराम सिम्खडा, दुर्गेशमान सिंह, जितेन्द्र बहादुर राजभण्डारी र राजु नेपाल गरी ५ जना रहेका छन् । जसमध्ये अर्थशास्त्रमा पीएचडी गरेका बिमलप्रसाद कोईराला हाल स्वतन्त्र परामर्शदाता हुन् । उनीसँग ३१ वर्षभन्दा बढीको नेपाल सरकारको विभिन्न प्रशासकीय क्षेत्र तथा उद्योग, अर्थशास्त्र तथा अन्तराष्ट्रिय वित्तीय एवं विकासको अनुभव रहेको छ । इन्टरनेशनल रिलेशनमा पीएचडी गरेका शम्भुराम सिम्खडासँग राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा ३० वर्षभन्दा बढीको कार्य अनुभव रहेको छ । उनी हाल काठमाडौंको चिरनमिलन वल्र्डपिस क्याम्पसका संस्थापक हुन् । दुर्गेश मान सिंह आर्थिक तथा राजनैतिक क्षेत्रका विज्ञ हुन् । अर्थशास्त्रमा पीएचडी गरेका सिंह हाल चितवनका गुञ्जमान सिंह हस्पिटलका अध्यक्ष हुन् । एफसीए चार्टर्ड एकाउण्टेन्ट जितेन्द्र बहादुर राजभण्डारीसँग ३९ वर्षभन्दा बढीको व्यवसायिक अनुभव रहेको छ । उनी हाल जे.बि.राजभण्डारी एण्ड डिविन्स चार्टर्ड एकाउण्टेन्टसका प्रमुख पार्टनर पनि हुन् । त्यस्तै, राजु नेपाल व्यवस्थापन, आर्थिक तथा राजनीतिक परामर्श सम्बन्धी क्षेत्रका विज्ञ हुन् । उनीसँग २३ वर्षभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ ।