२०२० मा अमेरिकी सेयर बजारको अनुभवः ब्रोकरले कमिसन लिदैनन्, यस्ता रहेछन् कमाई हुने कम्पनी

सन् २०२० मेरा लागि अमेरिकी सेयर बजार अध्ययन गर्ने वर्ष रह्यो । मेरो एकाउन्ट रहेको सेयर ब्रोकरले शनिबार र आईतबार बाहेक दिनभरि नै बजारका बारेमा पढाउँछ । अनलाईन कक्षा लिएर अमेरिकी सेयर बजारको वास्तविक अध्ययन गर्ने अवसर मैले पाएँ । यो अध्ययनका लागि कुनै खर्च लागेन । मात्र समय दिएँ । सेयर बजारका बारेमा त नेपालदेखि नै जानकार थिएँ । गत वर्षको अध्ययनले अप्सन मार्केट बुझ्ने अवसर दियो । अप्सन सेयर बजारकै एक औजार हो । यो एकदम नै जोखिमपूर्ण लगानी हो । नयाँ विषय सिक्ने अवसर पाएकोमा दंग छु । एक कित्ता सेयर किनेर भएपनि विश्वका ठूलाभन्दा ठुला कम्पनीको सेयर होल्डर बन्न पाइने अवसर सेयर बजारले नै दिएको हो । रमाईलो कुरा के छ भने सेयर किनबेच गर्दा ब्रोकरलाई कुनै शुल्क नै तिर्नु पर्दैन । उल्टो दिनभरि अनलाईन पढाउँछन् । सन् २०२० का उच्च रुपमा सेयर भाउ बढेका कम्पनीमा एमाजन, एप्पल, टेस्ला, निभिडिया भए । एक वर्षको अवधिमा जूमको सेयर मूल्य ४० डलरबाट ६ सय पुगेर अहिले ३ सय ५० को हाराहारीमा छ । विमान बनाउने कम्पनी वोईङको सेयर एक सय डलर भन्दा तल पनि आयो । गूगलको सेयर पनि एक हजार डलरभन्दा तल आएर अहिले १७ सय डलर पुगेको छ । सपिफाईको सेयर मूल्य पनि चार सयबाट १३ सय डलर पुग्यो । चाईनिज कम्पनी अलिबाबाको सेयर मूल्य पनि दुई सयबाट तीन सय १८ सम्म पुगेर फेरि अहिले २ सय ३५ डलरमा झरेको छ । टेस्लाको सेयर किन्नेले सन् २०२० मा धेरै कमाए । टेस्लाको सेयर मूल्य तीन सय डलरबाट २५ सय डलर पुग्यो । एक सेयर हुनेले पाँच सेयर थपेर पाएपछि मूल्य चार सय डलरमा आयो । फेरि अहिले सात सय डलर नाघेको छ । नौ महिनाको अवधिमा टेस्लाको सेयर तीन सयबाट ४ हजार डलर नाध्यो । एमाजनको सेयर १५ सयबाट ३५ सय डलर पूग्यो । फेसबुकको सेयर मूल्य पनि राम्रैसँग बढ्यो । सन् २०२० को अनुभवको आधारमा भन्नुपर्दा ठूलो र बढि सेयर मूल्य भएका कम्पनीको नै सेयर किन्नु पर्ने रहेछ । यो कम्पनीको सेयर धेरै बढ्यो, अब घट्छ होला भनेर नकिन्यो, त्यसैको मूल्य बढ्ने रहेछ । नाफा कमाउने र मूल्य बढिरहेका कम्पनीकै सेयर किन्दा कमाउन सकिने रहेछ । साना र सस्तो मूल्य भएका कम्पनीको सेयरमा कमाउने भन्दा गुमाउने संभावना बढि देखियो । सवै कम्पनीमा एउटै नियम त लाग्दैन । तर पनि पैसा लगानी गर्ने भनेको ठुला कम्पनीमा रहेछ । बजार घटे पनि ठुला कम्पनीको सेयर मूल्य नै पहिला बढ्ने देखियो । भ्याक्सिन आउने भएपछि कोरोनाका कारणले घटेका कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । हेरौं अब सन् २०२१ मा कुन कुन कम्पनीले धेरै कमाउने हुन् । कुन कुन कम्पनीले गुमाउने हुन् । (अमेरिकामा रहेका नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष सापकोटको फेसबुकबाट)

एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा

काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २.८५ प्रतिशत बोनस र कर बापत ०.१५ प्रतिशत नगद गरी ३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीकाे वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । २.८५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीले आईपीओ जारी गरेकै वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने भएकाे हाे । कम्पनीले गत साउनमा मात्रै कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता प्राथमिक सेयर निष्काशन गरेकाे थियाे । सम्बन्धित समाचार एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा

चन्द्रागिरी हिल्सको आईपीओ पुस २४ गतेदेखि भर्न पाइने

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी पुस २४ गतेदेखि दोश्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई निष्काशन गरी बाँडफाँड पश्चात अब सर्वसाधारणमा सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरिने छ । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा माघ ९ गतेसम्म पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।