गुडविल फाइनान्सको बोनस सेयर सूचीकृत
काठमाडौं । गुडविल फाइनान्सको ८.४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(बैशाख १६ गते) बिहीबार मात्रै ६ लाख ७२ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै, फाइनान्सको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
सीईडीबी हाइड्रोको आईपीओ भोलिदेखि भर्न पाइने, आगामी वर्षमै लाभांश दिने प्रक्षेपण
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि (अर्थात बैशाख १७ गते) देखि प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सो मध्ये कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फण्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ । कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बैशाख १७ गतेदेखि सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा बैशाख २१ गतेसम्म रहने छ । यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी गरी ३ वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका-०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ । कम्पनीले सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोको चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १३.०५ र प्रतिसेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ.व. २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आर्थिक वर्षमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख रुपैयाँ छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख रुपैयाँ पुग्ने छन् ।
निषेधाज्ञामा ‘टी प्लस वान’ भित्रै रकम तथा सेयर भुक्तानी गर्न ब्रोकरको आग्रह
काठमाडौं । धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकरर्स एशोसियसन अफ नेपालले लगानीकर्तालाई ‘टी प्लस वान’ अर्थात कारोबार भएको मितिको भोलिपल्टै रकम तथा सेयर भुक्तानी गर्न आग्रह गरेको छ । एशोसियसनले निषेधज्ञाको असहज परिस्थितिमा दोश्रो बजार कारोबार निरन्तरतारको लागि लगानीकर्ता समक्ष उक्त आग्रह गरेको हो । संघले खरिद रकम तथा बिक्री गरिएको धितोपत्र टी प्लस वान भित्र हस्तान्तरण गर्न सक्ने यकिन गरेर मात्रै कारोबार गर्न आग्रह गरेको हो । बैशाख १६ गते हुने निषेधाज्ञा अवधिमा लगानीकर्ताले चेक मार्फत खरिद रकम तथा भौतिक निर्देशन पूर्जी (डीआईएस) मार्फत बिक्री गरिएको ब्रोकरलाई उपलब्ध गराउन असहज हुने भएकाले बोर्डले लगानीकर्तालाई सो अनुरोध गरेको हो । त्यसैले, त्यस्ता माध्यमबाट मात्र रकम तथा धितोपत्र भुक्तानी गर्दै कारोबार गरिरहेका लगानीकर्ताहरुले विद्युतिय माध्यमबाट रकम तथा मेरो सेयर (ईडीआईएस) मार्फत सेयर भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । त्यस्तै, कारोबारको राफसाफ पश्चात लगानीकर्तालाई गर्नुपर्ने धितोपत्र तथा रकमको भुक्तानी समयमै गराउन ब्रोकर तयार रहेको संघले जनाएको छ । साथै, बैंक खाता अध्यावधिक नभएको, समयमै खरिद रकम भुक्तानी नगरेको, प्रणालीमा आउन सक्ने अनपेक्षित समस्या तथा कर्मचारी संक्रमित भई निश्चित क्षमतामा मात्र कार्यालय सञ्चालन गर्नु पर्ने बाहेका अवस्थामा ब्रोकरले समयमै बिक्री रकम तथा खरिद सेयर हस्तान्तरण गर्ने जानकारी गराएको छ । ब्रोकरले नेप्सेको निर्देशन पालना गर्दै विद्युतिय माध्यमको प्रयोग मार्फत सेयर कारोबार तथा राफसाफ निरन्तर गर्न तथा गराउने भएको छ ।