सिँगटी हाइड्रोलाई आईपीओ जारी गर्न बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिँगटी हाइड्रो इनर्जी लिमिटेडलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले पुस २१ गते सिँगटी हाइड्रोलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यससँगै हाइड्रोले स्थानीय र सर्वसाधारणलाई गरी कूल ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँदरका ४३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राख्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउँछन्- बिक्री प्रबन्धक

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सबैले पाउने सेयर निश्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलले बैंकको आईपीओमा आवेदन दिने सबै आवेदकले बैंककाे सेयर हात पार्ने बताएको हो । हाल पुँजीबजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओ भर्ने कसैको पनि हात खालि नहुने अनुमान गरिएको क्यापिटलले जनाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालको पुँजीबजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन(आईपीओ) निष्काशन गर्दै छ । बैंकले आगामी माघ २ गतेदेखि माघ ६ गतेसम्म सो मात्राको अर्थात ८ करोड कित्ता सेयर बिक्रीमा राख्न लागेको हो । यस निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एनआईबिएल एस क्यापिटललाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेकोले यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुन गईरहेको छ । जम्मा २० अर्व चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्ब रुपैयाँ संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(एनआईएफआरए)को स्थापना बैंक तथा वित्तिय संस्था(बीएफआई), जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन 

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको १०.२७ प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ कायम रहेको छ । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको पनि बोनस पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर कारोबार प्रतिकित्ता १९३ रुपैयाँ रहेको छ । र, दुबै कम्पनीको सेयर मूल्य समायोजन पछिको मूल्यबाट सेयर कारोबार खुल्ने छ ।