वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम
काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् । सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास निर्वाचित भएका हुन् । यस्तै, सङ्घको महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए । पदाधिकारीमध्ये सहसचिव पदका लागि मात्र मतदान भएको थियो । सङ्घको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ ।
विद्युत प्राधिकरणले उद्योगहरूमा दिउँसै रातको पार्यो: अध्यक्ष शोभाकर न्यौपाने
काठमाडौं । नेपाल स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले विद्युत प्राधिकरणले आफूहरुको उद्योगमा दिउँसै रातको पारेको आरोप लगाएका छन् । आइतबार नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले जानकारी नगराई १२/१३ घण्टासम्म लोडसेडिङ गरेको गुनासो गरे। डेडिकेटेड र ट्रंक लाइनको विवादित विषयलाई लिएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले आफ्नै मन लाग्दी गरेको भन्दै उनले आपत्ति जनाए । अहिले भैरहवा क्षेत्रमा दिनकै १२/१३ घण्टासम्म लोडसेडिङ भएको नेपाल स्टिल उत्पादक संघका अध्यक्ष न्यौपानेले गुनासो गरे । उनले भने, ‘हामीलाई लोडसेडिङबारे केही जानकारी नै गराउनु भएन्। बिचमै एक्कासी लाइन काटिन्छ । मिडिमामा १२ घण्टा हुने कुरा मिडियामा सुनिन्छ। तर अहिले १३, १४ घण्टासम्म विद्युत आउदैन् ।’ लोडसेडिङको कारण स्टिलको मूल्य ९ रूपैयाँ ३३ पैसा पुगेको दाबी गरे । उनले आफुहरुलाई चैत बैशाखदेखि असारसम्म पुरै बत्ती दिन सरकारलाई आग्रह गरे । उनले यसपछि १५ दिन बत्तीको लाइन काटेन पनि केही फरक नपर्ने बताए । उनले हाल उद्योगमा धेरै सुधार आइरहदाँ लोडसेटिङ गर्दा धरापमा पर्ने अवस्था आएको समेत बताए ।
दाङमा प्लाई उद्योगमा आगलागी, बाँके र रुपन्देहीबाट दमकल मगाएर निभाउने प्रयास
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताए । आगलागीको कारण खुल्न सकेको छैन ।