उद्योग परिसंघले भन्यो- सुरक्षित रूपमा व्यापार व्यवसाय गर्न पाउनुपर्छ
काठमाडौं । नेपाल उद्योग परिसंघले शुक्रबार तिनकुने क्षेत्रमा भएका हिंसात्मक आन्दोलन, तोडफोड, लुटपाटजस्ता अराजक गतिविधिको विरोध जनाएको छ । निजी सम्पत्ति, सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान, विभिन्न कार्यालय तथा व्यापारिक गतिविधिमा भएको आक्रमण, आगजनी तथा लुटपाटको विरोध जनाउँदै संघले क्षतिपूर्तिको माग समेत गरेको छ । साथै उद्योग परिसंघले अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । ‘शुक्रबार निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुःखद् हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आमनागरिक, विभिन्न पेसा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय छ,’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघले माग गरेको हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भए पनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन निजी क्षेत्रले आग्रह गरेको छ ।
निजी सम्पत्तिमाथिको आक्रमण, आगजनी, लुटपाटप्रति महासंघको भर्त्सना, क्षतिपुर्तिको माग
काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निजी जायजेथा, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा भएको आक्रमण, आगजनी, लुटपाटप्रति भत्र्सना गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले निजी सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूप्रति खेद प्रकट गरेको हो । ‘चैत १५ गते काठमाडौंमा भएको आन्दोलन तथा प्रर्दशनका क्रममा मानवीय क्षतिसंगै धनजनमा भएको आक्रमण निक्कै दुखद छ ।सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाटका हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भर्त्सना गर्दै क्षतिपुर्ति हुनुपर्छ,’ महासंघको जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय रहेको महासंघले जनाएको छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति महासंघ घोर निन्दा र भत्र्सना गर्ने र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ । साथै, आन्दोलन तथा प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण सहीत परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ । शुक्रबार राजावादीको हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेका थिए । प्रहरीका अनुसार तीनकुनेमा रहेको मार्बल हाउस, अन्नपूर्ण मिडियाको कार्यालय, कान्तिपुर टेलिभिजनमा तोडफोड तथा आगजनी गरेका छन् । यस्तै, बालकुमारी पुल नजिकै रहेको भाटभटेनी सुपर स्टोर, जडीबुटीमा रहेको सरकारी उद्योग जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, आलोकनगरमा रहेको नेकपा समाजवादी पार्टी कार्यालयलगायतमा तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ । यस्तै, राजावादी समूहले तीनकुने, कोटेश्वर, बालकुमारी, नरेफाँटलगायत क्षेत्रहरुमा सयौं सवारीसाधनमा आगजनी समेत गरेका छन् । उक्त हिंसात्मक गतिविधिमा लाखौं करोडौं रुपैयाँको क्षति भएको बताइएको छ ।
१४ हजार नतिरेपछि १ करोड ६० लाखको ग्यास प्लान्ट अलपत्र
काठमाडौं । कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ । नगरपालिका-५ स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण भएको बायो ग्यास प्लान्टको विद्युत् महसुल नतिर्दा विद्युत् लाइन काटिएको थियो । विद्युत् लाइन काटिएपछि ग्यास वितरणको काम पनि ठप्प भएको छ । आसपासका ५५ घरमा पुर्याइएको ग्यास बन्द भएपछि करोडौँको संरचना अलपत्र परेको छ । गोबरबाट ग्यास उत्पादन गरेर दैनिक ४ घण्टा स्थानीयलाई ग्यास उपलब्ध गराउँदै आइएको थियो । गौशालामा पर्याप्त गोबर भए पनि ग्यास प्लान्ट बन्द भएको गौशाला सञ्चालन गर्दै आएको सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री बताउँछन् । उनका अनुसार नगरपालिकाले विद्युत्को महसुल नतिरेका कारण ग्यास प्लान्ट बन्द भएको छ । ‘दैनिक ४ घण्टा ग्यास प्लान्ट सञ्चालन हुन्थ्यो । अहिले बिजुलीको लाइन काटेपछि बन्द भएको छ,’ उनले भने, ‘हामीले बिजुलीको लाइन काटेको भनेर नगरपालिकालाई दुईपटक खबर गरिसकेका छौँ । त्यसको सुनुवाइ भएको छैन ।’ उनका अनुसार नगरपालिकालाई ग्यास प्लान्ट समितिको मातहतमा सञ्चालनका लागि आग्रह गरेको भए पनि त्यसको सुनुवाइ भएको छैन । ‘विद्युत्को लाइन काटेपछि पनि नगरपालिकालाई दुईपटकसम्म खबर गरेका छौँ । पत्र पठाएका छौँ । सुनुवाइ हुन सकेको छैन,’ उनी भन्छन्, ‘प्लान्ट सञ्चालन गर्न सक्यो भने त्यो राम्रो आम्दानीको स्रोत बन्न सक्छ । त्यो हुन सकेको छैन । करोडभन्दा बढी लगानी धोस्त हुने स्थितिमा पुगेको छ ।’ विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका अनुसार विद्युत् लाइन गत पुस २२ गते काटिएको थियो । १४ हजार ६४६ रुपैयाँ नतिरेपछि लाइन काटिएको वितरण केन्द्रका अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले उक्त रकम जरिवाना थपिँदै २५ हजार १७२ रुपैयाँ पुगेको छ । ‘लामो समयदेखि विद्युत् महसुल नतिरेका कारण लाइन काटिएको हो । बक्यौता तिरेपछि लाइन पुनः हामी जोडिदिन्छौँ,’ उनले भने । घरमा दैनिक पाइप लाइनबाट ग्यास आउन थालेपछि उत्साहित बनेका स्थानीय अहिले निराश भएका छन् । निरन्तरता हुने कुरामा सुरूदेखि शङ्कामा रहेका स्थानीय पुरानै स्थितिमा फर्किनुपरेको बताउँछन् । बायो ग्यासबाट खाना पकाउने बानी परेकाहरु पुनः एलपी ग्यासको सहारामा फर्किनुपरेको छ । जडान भएका उपकरणमा खिया लाग्न थालिसकेको छ । संरचना जीर्ण बन्दै गएका छन् । जडान भएदेखि ग्यास प्लान्टको मर्मतसम्भार हुन सकेको छैन । करिब १ करोड ६० लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको उक्त ग्यास प्लान्टबाट पशु मलमूत्र, जैविक फोहर र कृषि अवशेषमार्फत बायोग्यास उत्पादन गर्ने लक्ष्य लिइएको थियो । ग्यास प्लान्ट सञ्चालनका लागि आवश्यक प्रविधि, दक्ष जनशक्तिलगायत कुराको पनि अभाव देखिएको छ । नगरपालिकाले उपभोक्तालाई प्रतियुनिट ४५ रुपैयाँ महसुल तिर्ने गरी कार्यविधि पनि बनाएको छ । स्थानीयले उक्त दररेट महँगो भन्दै असन्तुष्टि समेत व्यक्त गर्दै आएका छन् । स्थानीय उपभोक्ता रमेश सिंहले सरकारको बेवास्ताका कारण सञ्चालनमा आइसकेको ग्यास प्लान्ट बन्द भएको बताए । ‘हामी उत्साहित थियौँ, घरघरमा पाइपबाट ग्यास बाल्न पाइन्छ भनेर । केही महिना सञ्चालन भएको ग्यास प्लान्ट एकाएक बन्द भयो । फेरि त्यहीँ एलपी ग्यासको सहायता लिनुपर्ने स्थिति आयो,’ उनले भने । दिनमा ४ घण्टा उपलब्ध गराउँदै आएको ग्यास २४ सै घण्टा हुने आशामा बसेका उपभोक्ता एकाएक ग्यास बन्द भएपछि निराश बनेको उनको भनाइ छ । नगरपालिकाको वन वातावरण तथा फोहर व्यवस्थापन उपशाखाका प्रमुख लोकबहादुर बुढाले उपभोक्ताले तोकेको मूल्य बढी भयो भन्दै विरोध गरेपछि प्लान्ट बन्द भएको बताए । ‘कार्यपालिकाले प्रति युनिट ४५ रपैयाँ तोकेको थियो । त्यो रकम बढी भयो भनेर उपभोक्ताले विरोध गर्दा बन्द गर्नुपरेको हो,’ उनले भने, ‘चाँडै प्लान्ट सञ्चालनका हुने गरी समन्वय भइरहेको छ ।’