डा. विवेक बिन्द्राले नेपाली लिडरलाई प्रशिक्षण दिने, २५० जना सहभागी हुन पाउने
काठमाडौं । भारतका मोटिभेसनल स्पिकर तथा नेतृत्व प्रशिक्षक डा. विवेक बिन्द्राले नेपालका विभिन्न क्षेत्रमा संलग्न लिडरहरुलाई प्रशिक्षण दिने भएका छन् । विभिन्न आठ विधामा विश्व कीर्तिमान राखेका डा. बिन्द्राले आगामी माघ ७ गते शुक्रबार एकदिने प्रशिक्षण दिने भएका हुन् । ‘एक्स्क्लुसिभ लिडरशिप’ नामक उक्त कार्यक्रम जिनियस इन्साइडर, बैंक तथा वित्तीय संघ नेपाल (सिबिफिन) र ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपको संयुक्त आयोजनामा हुन लागेको हो । आयोजक जिनियस इन्साईडरले पुस ८ गते पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम माघ ७ गते काठमाडौंको रेडक्रसमार्गस्थित ह्यात प्लेस होटलमा हुने जानकारी गराएको हो । प्रशिक्षण सो दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने छ । कार्यक्रमको उद्देश्य यो कार्यक्रम व्यवस्थापकीय कौशलता, नेतृत्व विकास, व्यावसायिक रणनीतिहरुको अवलम्बन र निर्णय लिने क्षमता विकाससँग सम्बन्धित विषयमा केन्द्रित रहनेछ । व्यवस्थापकीय कौशलता तथा व्यावसायिक रणनीति निर्माणका नयाँ आधार अवलम्बन गर्ने उद्देश्यले उक्त नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । डा. बिन्द्राको प्रशिक्षण रहने कार्यक्रमले कोरोना महामारीबाट सङ्कटग्रस्त बनेका उद्योग क्षेत्रका प्रतिनिधिका साथै विभिन्न उद्यमशीलमा संलग्न व्यवसायीलाई उनीहरु संलग्न क्षेत्रमा थप सफलता प्राप्त गर्न आवश्यक आशा, उत्साह, उत्प्रेरणा र हौसला प्रदान गर्ने आयोजकको विश्वास छ । उक्त प्रशिक्षणले कोभिड-१९ को माहामारीबाट संकटग्रस्त बनेका उद्यम तथा व्यवसायहरुको पुनरोत्थान, वर्तमान अवस्थामा गहिरिदो समस्याकोरुपमा देखापरिरहेको तरलता अभाव, यसका कारण, समाधानका उपायहरुका दिने छ । साथै, नयाँ उद्यम तथा व्यवसायको संचालन र व्यवसायलाई दीर्घकालिन रुपमा प्रगतिको पथमा कसरी लैजाने भन्ने विषयमा समेत हुने प्रशिक्षणले समग्र नेपाली उद्यमी तथा व्यवसायीहरुलाई बहुपयोगी एवं लाभदायी हुने छ । र, आध्यात्मिक पुस्तक गीताका साथै अन्य धार्मिक ग्रन्थका दार्शनिक पक्षबारे समेत प्रशिक्षणमा दिइने बताइएको छ । साथै, कार्यक्रमबाट प्राप्त हुने ज्ञान, सीप र कलाले नेपाली व्यवसायहरुको विकास एवं विस्तार, नेपाली उत्पादनलाई प्रतिष्पर्धी बनाई विश्वबजारमा चिनाउन, समग्र अर्थतन्त्रलाई बलियो र दिगो बनाउन समेत महत्वपूर्ण सहयोग पुग्ने आयोजक जिनियस इन्साइडरका अध्यक्ष डा राहुल सरावागीले बताए । कार्यक्रममा शिक्षाविद् भोजराज शाहले प्रशिक्षणमा सहभागी उद्यमीलाई वित्तीय क्षेत्रमा देखा परेको तरलता, आर्थिक मन्दीलाई सामना गर्न नयाँ चिन्तन तथा बहुआयामिक विचार निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आध्यात्मिक पुस्तक गीताका साथै अन्य धार्मिक ग्रन्थका दार्शनिक पक्षबारे समेत प्रशिक्षणमा दिइने बताइएको छ । को-को सहभागी हुन सक्छन् ? एक दिने प्रशिक्षणमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, स्कूल, कलेज, उद्योग, व्यवसायका अध्यक्ष, संचालक तथा उच्च पदस्थ अधिकारीहरु सहभागी हुन सक्ने छन् । यी क्षेत्रका करिब २५० जना उक्त प्रशिक्षणमा सहभागी हुन पाउने छन् । को हुन् डा. विवेक बिन्द्रा ? डा. विवेक बिन्द्रा बडा बिजनेस डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । विभिन्न प्रकारको व्यावसाय तथा उद्यम सञ्चालनमा सफल व्यक्तित्व भएका उनले अन्तर्राष्ट्रिय तहमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रशिक्षण दिएका छन् । डा. बिन्द्राले विगतमा शुन्य अवस्थादेखि सफल व्यवसायी भएका अन्तर्राष्ट्रिय व्यक्तित्वको कार्यशैली, जोखिम वहन गर्ने सक्षमताका विषय वस्तुसमेत प्रस्तुत गर्दै आएका छन् । उनले एक वर्ष अर्थात १५/१६ महिनाको अन्तरालमै ८ विधामा गिनिज बुक अफ वोल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका छन् ।
चार महिनामा १५० मेगावाटको विद्युत लोड स्वीकृति, २१० मेगावाटको जिआइएस सम्पन्न हुने चरणमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरुलाई करिब १११ मेगावाट विद्युत उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन गरिएको छ । साथै, ५ वटा उद्योगहरुले माग गरेको करिब ९८.८ मेगावाटको जिआइएसको प्रक्रियामा रहेको छ । लोड स्वीकृत,जिआइएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरुमा थप करिब ३६० मेगावाट विद्युत खपत हुने देखिएको छ । थप विद्युतको माग गर्नेमा अधिकांश स्टील र सिमेन्ट उद्योगहरु छन् । जिआइएसमार्फत लोड स्वीकृत गर्नुभन्दा पहिल उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले माग बमोजिम विद्युत उपलब्ध गराउन सकिने÷नसकिने अवस्थाको निक्र्यौल गरिन्छ । जिआइएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता भई लोड दिइन्छ । आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगहरुलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको छ । लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत सेवा उपलब्ध गराउन सयमसीमा सहितको प्रक्रिया निर्धारण गरिएको छ । ठूलो परिमाणमा विद्युत माग गर्ने ग्राहकहरुलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिनका लागि नियम अनुसार गर्नु पर्ने जिआइएसलाई व्यवस्थित र शीघ्र गर्न समयसीमा सहितको प्रक्रिया लागू गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताए। अहिलेको माग देशमा उत्पादित विद्युत यहींभित्र खपत गर्न उत्साहजनक रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । ‘औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ, लोड स्वीकृति भएका उद्योगलाई प्रसारण तथा वितरण प्रणालीले धानेसम्म तत्कालै विद्युत उपलब्ध गराएका छौं, केहीले लोड स्वीकृत गराएर आफ्ना संरचनाहरु बनाइरहेका छन्, त्यस्ता उद्योग सञ्चालनमा आउनु पहिले नै विद्युत दिने गरी लाइन तथा सबस्टेसनको विस्तार र सुदृढीकरण गरिरहेकाछौं,’ घिसिङले भने । ‘आफैंले प्रमुख उद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुकोे भ्रमण गरी त्यहाँको विद्युत आपूर्तिको अवस्था र आगामी दिनमा चाहिने लोडको जानकारी लिएको छु, योसँगै उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको छ,’ उनले भने । प्राधिकरणको विद्युत खपत बढाउने अल्पकालीन योजना अन्तर्गत विद्युत माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि प्राधिकरणले सुदृढीकरणको काम अगाडि बढाइएको छ ।
उद्योगीले गभर्नरलाई भनेः उद्योग चलाउन गाह्रो भयो, तत्काल तरलताको समस्या समाधान गरिदिनुस्
काठमाडौं । उद्योग संगठन मोरङले वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको संगठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार कार्यकक्षमा भेट गर्दै वित्तीय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथाशक्य समाधान गरि उद्योग व्यवसाय सञ्चालनमा सहजिकरणका लागी अनुरोध गरेको छ । अध्यक्ष प्याकुरेलले तरलताको चरम अभाव भएको कारण बैंक तथा वित्तिय संस्थाहरुले केही समयदेखि औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुको आयातका लागि प्रतित पत्र खोल्न समेत कठिनाई भएबाट औद्योगिक कच्चा पदार्थको अभावमा उत्पादन नै ठप्प पार्नुपर्ने विकराल अवस्था सिर्जना हुदै गएको तर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराएको बताएका छन । राष्ट्र बैंकद्धारा तोकिएका केहि विलासीताका वस्तुहरुको आयातमा प्रतित पत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरि स्वदेशी उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदम भन्दै यस प्रावधानबाट उत्पादनमुलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेशिनरीहरुको आयातको सहजिकरणमा मद्दत पुग्ने तर यसबाट विलासिताका वस्तुहरुको आयातमा एकाधिकार हुनसक्ने तर्फ सचेत हुनुपर्ने सुझाव संगठनले राष्ट्र बैंकलाई दिएको छ । उद्योगीहरुका सुझाव सुनिसकेपछि गर्भनर महाप्रसाद अधिकारीले उत्पादनमुलक उद्योगहरुलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुको नियमित आपूर्तिका लागी प्रतित पत्र खोल्न कुनै पनि कठिनाई हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले गर्भनर अधिकारीले विलासिताका केहि वस्तुहरुको आयातलाई निरुत्साहित गरेको र यसबाट उत्पन्न हुनसक्ने परिणामका बारेमा राष्ट्र बैंक सचेत रहेको बताएका थिए । साथै, गर्भनर अधिकारीले बैंक तथा वित्तिय क्षेत्रमा वित्तिय अनुशासन कायम गर्न चालु मौद्रिक नीति मार्फत सिसिडी रेसियोबाट सिडि रेसियोमा रुपान्तरण गरिएको कारणबाट तरलता अभाव नभएको स्पष्ट पार्दै तरलता अभावबाट अर्थतन्त्रलाई बचाउन राष्ट्र बैंकले विभिन्न वित्तिय उपकरण प्रयोग गरि तरलता पठाइरहेकोले अवस्था क्रमशः सुधार हुदै जाने बताए । संगठनले लगातार उठाउदै आएको उत्पादनमुलक क्षेत्रमा प्रवाह भएको तथा हुने कर्जाको व्याजदर एक अंकमा नबढ्ने गरि कायम गर्नुपर्ने, पुनरकर्जा तथा विभिन्न शिर्षक र क्षेत्रमा प्रवाह गरिने सहुलियतपूर्ण कर्जा अन्तरगतका सूविधामुलक कर्जाहरुलाई सहज र द्रुतगतिमा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकलाई आग्रह गरेको छ ।