नेपाल उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न, राति ८ बजेदेखि मतगणना सुरु हुने

मतदान गर्दै अध्यक्ष चन्द्र ढकाल ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । महासंघको आगामी कार्यकालका लागि आज बिहानदेखि सुरु भएको मतदान केही बेरअघि मात्रै सकिएको हो ।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी सुरु गरिएको छ । 

समितिले आजै राति ८ बजेदेखि मतगणना कार्य सुरु गर्ने जानकारी दिएको छ । 

सोमबारदेखि सुरु भएको महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको हो ।

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् । उनीबाहेक अन्य विभिन्न पदाधिकारी र कार्यकारिणी सदस्य पदका लागि भने निर्वाचन भएको हो ।

निर्वाचनमा मुख्य दुई समूहबीच प्रतिस्पर्धा भएको थियो । स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूह र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबीच प्रतिस्पर्धा भएको हो ।

श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्ष उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उम्मेदवार छन् ।

त्यस्तै, हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । साथै महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी छन् ।

Share News