दुगड ग्रुपले २५ जना विद्यार्थीलाई उच्च शिक्षा अध्यनको लागि छात्रवृति दिने

काठमाडौं । एम भी. दुगड़ ग्रुपले २५ जना विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि छात्रवृति घोषणा गरेको छ । कम्पनीले अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सव अवसरमा आर्थिक स्थिती कमजोर भएका २५ विद्यार्थीको लागि छात्रवृति घोषणा गरेको हो । कम्पनीले अध्यक्ष दुगडको जन्मोत्सवको अवसरमा देशभर रहेको शाखामा रक्तदान कार्यक्रम गरी ६६६ युनिट रगत संकलन गरेको छ । यति मात्र नभएर कम्पनीले सोलुखुम्बु र रामेछाप जिल्लामा निशुल्क आँखा शिविर पनि संचालन गरेको छ । पुस १८ गते मंगलबार देखि २३ गते शनिबारसम्म सोलुखुम्बु र रामेछाप संचालित शिविरमा ९५० जनाले आँखा जाँच गरेका थिए । जसमध्ये ६० जनाको मोतियाबिन्दुको र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यकृया गरिएको थियो । त्यसैगरी कम्पनीका सम्पूर्ण कर्मचारीहरुले देशव्यापी रुपमै वृहत वृक्षरोपण गर्नेुको साथै विरगंजमा अवस्थित मानव सेवा आश्रमका ६४ जना वृद्धाहरुलाई खाना खुवाएका छन् ।    

तनहुँकाे उद्याेगमा नौ अर्ब २१ करोड लगानी, ३३ हजारलाई रोजगारी

तनहुँ । तनहुँमा सञ्चालित उद्योगमा करिब ३३ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । जिल्लामा सञ्चालनमा रहेका दश हजार ४२१ उद्योगमा उक्त सङ्ख्यामा मानिसले रोजगारी पाएका हुन् । तनहुँमा सञ्चालनमा रहेका उद्योगमा नौ अर्ब २१ करोड लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । प्रत्येक उद्योगमा करिब दश लाखका दरले लगानी भएको तथ्याङ्क रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । तनहुँमा हालसम्म एघार हजार १६२ उद्योग दर्ता भएकामध्ये दश हजार ४२१ वटा उद्योग सञ्चालनमा छन् । चालू आवमा मात्रै एक हजार नौ उद्योग दर्ता भएका छन् । पछिल्लो समय महिलाको नाउँमा फार्म नामसारी गर्नेको सङ्ख्या ९० प्रतिशत रहेको सो कार्यालयले जनाएको छ । अहिले पनि दैनिक १५ देखि ३० जना फार्म दर्ताको लागि उक्त कार्यालयमा जाने गरेका छन् । महिलाको नाउँमा फार्म हुँदा बैंकले उद्यमी कर्जा प्रवाह गर्न थालेपछि महिलाको नाउँमा फार्म दर्ता गर्नेको सङ्ख्या बढेको छ । कृषिजन्य, पशुजन्य, फर्निचरलगायतका उद्योगको सङ्ख्या पनि बढिरहेका छन् । साना उद्योगको लागि घरेलु कार्यालयमा दर्ता गरिए पनि १५ करोड देखि ५० करोडसम्मका उद्योग विभागमै दर्ता हुने प्रावधान छ । घरेलु कार्यालयले अनलाइन दर्ता प्रक्रियालाईसमेत अघि बढाएको छ । तथ्याङ्क सुरक्षित राख्न डिजिटलाइजेसन गरिएको छ । उनले भने, ‘शुरुमा काम गर्न समय लाग्ने र झन्झटिलो जस्तो देखिएपनि पछि खोजेको समयमा सहज, छिटो र काम गर्न सजिलो हुनेछ ।’ रासस

कञ्चनपुरमै उखु उद्योग खुलेपछि किसानलाई बेच्न भारत जानुपर्ने बाध्यता हट्यो

महेन्द्रनगर । एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त छिन् । ‘पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्र्पकविहीन बने’, चौधरीले भनिन्, ‘विगतकोभन्दा यहाँका उखु किसान अहिले ढुक्क भएर मुनाफा आर्जन गरिरहेका छन् ।’ उर्मिला जस्तै कञ्चनपुरको दक्षिण क्षेत्रमा उखुखेती गर्ने सयौँ किसान अहिले बजारको समस्याबाट मुक्त छन् । यहाँको बेलौरी र पुनर्वासमा दुई ठूला चिनी उद्योग सञ्चालनमा आएपछि किसानलाई उखु पु¥याउन भ्याइनभ्याइ छ । ‘पहिले बैलगाडामा उखु बेच्न भारतसम्म जान्थ्यौँ’, उनले भनिन्, ‘अहिले गाउँमै उद्योग खुलेपछि किसान उखुखेतीप्रति आकर्षित भएका छन् ।’ कञ्चनपुरको बेलौरी, पुनर्वास, बेल्डाँडी र लालझाडी क्षेत्रमा सबैभन्दा बढी उखुखेती गरिँदै आएको छ । चिनी उद्योग सञ्चालनपछि यहाँ स्थापित कोल्हु भने विस्थापनका क्रममा रहेको बेलौरी नगरपालिका–७ टेडियाका कुलप्रसाद श्रेष्ठले बताए । उनले चिनी उद्योग सञ्चालनपछि किसानले उखुको उचित मूल्य पाइरहेको बताए । ‘पहिले १५० मा प्रतिक्विन्टल उखु बिक्री गरियो’, श्रेष्ठले भन्नुभयो, ‘अहिले प्रतिक्विन्टल रु साढे चार सयमा बिक्री हुँदैछ ।’ उनले दुई/तीन वर्षयता उखुको मूल्यमा सुधार आउँदा खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भइरहेको बताए । ‘मैले एक बिघा खेतमा उखु लगाएर जिविका चलाएको छु’, श्रेष्ठले भने, ‘अब विगतको जस्तो उखु बिक्री हुने तर पैसा नपाउने अवस्था हट्दै गयो ।’ दुई दशकदेखि उखुखेती गर्दै आएका श्रेष्ठले यहाँ विगतमा किसानले बिक्रीका लागि निकै सास्ती भोगेको बताए । यहाँ यस पटक उखु उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ । गत वर्ष बेलौरीस्थित महाकाली चिनी मिलले १६ लाख क्विन्टल र पुनर्वासस्थित भागेश्वर चिनी मिलले १२ लाख क्विन्टल उखु खरिद गरेका थिए । त्यसैगरी यहाँको पुनर्वास नगरपालिकाका उखु किसान रामदास बडायकले आफूहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य पाउनुपर्ने बताए । ‘विगतमा मिलसम्म उखु पुर्याए पनि वर्षाैंसम्म मूल्य नपाएर चित्त बुझायौँ’, उनले भने, ‘सरकारले मूल्य निर्धारण गरेरभन्दा पनि सो मूल्य किसानले पाए/नपाएका बारेमा नियमन गर्नुपर्छ ।’ बेलौरी नगरपालिकाको कृषि शाखा प्रमुख सुमनराज जोशीले जिल्लाको दक्षिणी भेग उखुको पकेट क्षेत्रका रुपमा विस्तार भइरहेको बताए । ‘बेलौरीमा ६ हजार ५०० बिघा क्षेत्रफलमा उखुखेती गरिँदैछ’, उनले भने, ‘तीन हजार ४०० किसान उखुखेतीमा आबद्ध छन् ।’ उनले हरेक वर्ष उखुको मूल्य वृद्धि हुँदै जाँदा किसानको उक्त खेतीमा आकर्षण बढ्दै गएको बताए । महाकाली चिनी मिलका प्रशासकीय अधिकृत कालुसिंह ठगुन्नाले मिलका लागि २५ लाख क्विन्टल उखु आवश्यक भएको बताए । ‘यस याममा पाँच लाख क्विन्टल खरिद गरेका छौँ’, उनले भने, ‘मिललाई आवश्यक उखु उपलब्ध हुन सकिरहेको छैन ।’ सो मिल २०६७ सालदेखि सञ्चालन गर्दै आएको ठगुन्नाले बताए । रासस