महासंघको विधान संशोधनको मस्याैदा पेश
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका लागि मस्यौदा पेश भएको छ । महासंघको ५४ औं वार्षिक साधारण सभाबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट गठित विधान संशोधन समितिका तर्फबाट आज एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छा समक्ष महासघको विद्यमान विधान संशोधनको मस्यौदा पेश गरेको हो । महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । विधान संशोधन समितिका सभापति एवं पूर्व अध्यक्ष जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेश गर्नु भएको हो । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो । कार्यक्रममा सभापति जोशी र समितिका सह–सभापति एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानका वारेमा जानकारी गराए । महासंघका अध्यक्ष गोल्छाले स्वागत र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा समितिका सदस्यहरू क्रमशः पूर्व उपाध्यक्ष किशोर कुमार प्रधान, कार्यकारिणी समिति सदस्य डि.वि. बस्नेत, पूर्व कार्यकारिणी समिति सदस्यहरू अशोककुमार तोदी, सुनिल गोपाल श्रेष्ठ, सुनसरी उवासंघका पूर्व अध्यक्ष सरोज श्रेष्ठ, समितिका कानून विज्ञ डा. रूद्र शर्माको उपस्थिति थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचनको उपस्थिति थियो ।
नेपाली उत्पादनलाई बंगलादेशमा सजिलै भित्र्याउन आग्रह, परिसंघ र डिसिसिआईबीच भयो समझदारी
ढाका । नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ । नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष आग्रह गरेको हो । ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरेका हुन् । उनले नेपालका कृषि उत्पादनहरूका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विना अवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीहरूलाई आग्रह गरेका छन् । कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने संभाव्य क्षेत्रहरूबारे पनि छलफल भएको छ । अध्यक्ष अग्रवालले नेपालले काठमाडौं बाहिरका दुई सहर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सिधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई सुन्दर सहरहरूको पहुँच विस्तार गर्न सकिनेमा जोड दिए । नेपाल र बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि दुई देशबीचको सडक परिवहन सेवामा पनि जोड दिइएको छ । काठमाडौंबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । कार्यक्रमममा बंगलादेशका वाणिज्य सचिव तपन कान्ति घोषले दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता (प्रिफेरेन्सिएल ट्रेड एग्रिमेन्ट) टुंग्याउन आग्रह गरे । ‘सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘नेपालको तर्फबाट यसलाई अघि बढाउन तपाईंहरूले पनि पहल गर्नुस् ।’ परिसंघ डिसिसिआईबीच समझदारीपत्रमा हस्ताक्षर नेपाल उद्योग परिसंघ र ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (डिसिसिआई) बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र डिसिसिआईका अध्यक्ष रिजवान रहमानबीच हस्ताक्षर भएको हो । समझदारीपत्रमा दुवै संगठनले एक अर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने उल्लेख छ । समझदारीपत्रमा हस्ताक्षर गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि उद्योग लगायतका क्षेत्रमा ठूलो लगानीको संभावना रहेको र विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य हुन सक्ने बताए । समझदारीपत्रमा हस्ताक्षरसँगै भएको दुई देशका व्यवसायीहरूको छलफलमा बंगलादेशी उद्योगीले नेपालको जलविद्युत विकासमा चासो देखाएका छन् । कार्यक्रममा डिसिसिआईका अध्यक्ष रहमानले नेपाल र बंगलादेश सार्क, बिम्स्टेकलगायतका साझा मञ्चमा सक्रिय रहेको र अब निजी क्षेत्रले पनि आर्थिक सम्बन्ध विस्तारमा जोड दिने बताए । उनले बंगलादेशले तीव्र आर्थिक विकासमा गरेको मेहनत नेपालका लागि पनि उदाहरणीय हुने बताए । बंगलादेशले पछिल्लो ५ वर्षमा औषत ७ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि गरिरहेको छ। निजी क्षेत्रलाई विकासको नेतृत्व दिइनुपर्छ- सचिव मोमेन बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले निजी क्षेत्रमार्फत विकासको नेतृत्व गराउनुपर्ने बताए । परिसंघसँगको छलफलका क्रममा उनले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सरकारी संयन्त्र उदार हुनुपर्नेमा समेत जोड दिए । उनले आर्थिक सम्बन्ध विस्तारमार्फत दुई देशबीचको व्यापार घाटा न्यूनीकरणमा पनि जोड दिए । ‘दुवै देश अहिले विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएका छन्, यस अवसरमा हामीसँग अवसर र चुनौति दुवै छन्,’ उनले भने, ‘अब दुई देशले आर्थिक सम्बन्ध विस्तारमा जोड दिनुपर्छ, व्यापार अभिवृद्धि गर्नुपर्छ ।’ बंगलादेश सरकारले नीति निर्माण गर्दा सधैं निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले यहाँ तीव्र आर्थिक र औद्योगिक विकास संभव भएको उहाँको भनाइ छ। बंगलादेशमा २५ प्रतिशत सांसदहरू निजी क्षेत्रमा सक्रिय व्यवसायी छन् । औद्योगीकरणमा उदाहरणीय- राई नेपाली राजदूतावास ढाकाका चार्ज डि अफेयर्स कुमार राईले आर्थिक विकास र औद्योगीकरणमा बंगलादेशले गरेको प्रगति उदाहरणीय भएको बताए । राजदूतावासमा आयोजित रात्रिभोजमा उनले नेपालले तीव्र औद्योगीकरणमा बंगलादेशबाट पाठ सिक्न सक्ने बताए । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक कुटनीति विस्तारमा राजदूतावासले आफ्नो भूमिका विस्तार गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बंगलादेशको ऊर्जा, उपभोग्य वस्तु लगायतका ठूला उद्योगीको उपस्थिति थियो । परिसंघ अध्यक्ष अग्रवाल नेतृत्वको टोलीले यसअघि बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदसँग भेट गरेको थियो । भेटमा नसरुलले नेपालका निजी क्षेत्रसँग सिधै विद्युत खरिद सम्झौता गर्न तयार रहेको बताएका थिए । बंगलादेशका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूसँगको भेट एवं औद्योगिक क्षेत्र भ्रमणमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा एवं उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे तथा राष्ट्रिय परिषद सदस्य लक्ष्मीप्रसाद सुवेदी, द्विराज शर्मा, राष्ट्रिय परिषद सदस्य एवं परिसंघ प्रदेश नं १ का अध्यक्ष भीमप्रसाद घिमिरे, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, महानिर्देशक यादवप्रसाद पौडेल, निर्देशक सविन मिश्र र सूर्य पेन्ट्स् एन्ड इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत अभिजित सुवेदीको उपस्थिति थियो ।
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस २ देखि आयोजना हुने
चितवन । उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौँ संस्करण हो । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए । प्रदर्शनी सम्पन्न गर्न दुई करोड ५० लाख हाराहारी खर्च हुने भन्दै संस्थागत रुपमा बचत रकम भने न्यून रहने उनको भनाइ थियो । उनले भने, ‘प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौँ ।’ यसबाट चितवन उद्योग सङ्घलाई भन्दा पनि यहाँका अन्य आर्थिक क्षेत्रलाई मद्दत पुग्ने उनको भनाइ छ । यसपटकको प्रदर्शनीबाट पाँच देखि सात लाखसम्म मात्र बचत हुने अनुमान गरिएको छ । प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्ने बताइएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण चीन, मलेसियाजस्ता देशबाट आउने प्रदर्शकहरु यसपटक आउन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सङ्घका उपाध्यक्ष एवं प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नवीनतम् प्रविधिको अनुशरणमार्फत औद्योगिक उत्पादकत्व वृद्धिसहित दिगो उद्यमशीलताका लागि उपयुक्त माध्यम बन्ने बताए । यसले स्वदेशी तथा विदेशी उद्योगी, व्यवसायीबीच भेटघाट तथा छलफल गर्नमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । भारतको च्याम्बर अफ कर्मसका प्रतिनिधिहरु समेत प्रदर्शनीमा सहभागी हुने कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा सङ्घका गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठाले प्रदर्शनीको महत्वका बारेमा जानकारी गराए ।