कुल विदेशी लगानीमा चीनको हिस्सा ७९ प्रतिशत, प्राथमिकतामा सेवा क्षेत्र

<p>काठमाडौं । चालु आर्थिक वर्षमा भएको कुल विदेशी लगानीमध्ये चीनको हिस्सा निकै बढी देखिएको छ । कुल विदेशी लगानीमध्ये चीनबाट मात्रै ७९ प्रतिशत लगानी आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर १४ गतेसम्ममा २९ अर्ब ८५ करोड रुपैयाँको विदेशी लगानी आएको छ । यसमध्ये चीनबाट मात्रै २३ अर्ब ५४ लाख रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षमा भएको कुल विदेशी लगानीमध्ये चीनको हिस्सा निकै बढी देखिएको छ । कुल विदेशी लगानीमध्ये चीनबाट मात्रै ७९ प्रतिशत लगानी आएको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर १४ गतेसम्ममा २९ अर्ब ८५ करोड रुपैयाँको विदेशी लगानी आएको छ । यसमध्ये चीनबाट मात्रै २३ अर्ब ५४ लाख रुपैयाँ बराबरको लगानी आएको छ । कुल विदेशी लगानीमा चीनको हिस्सा ७८.८६ प्रतिशत छ ।

सो अवधिमा कुल १२० उद्योगमा विदेशी लगानी आएको छ । यसमध्ये चीनबाट मात्रै १०१ उद्योगमा लगानी आएको छ । चीनबाट आएको लगानीमध्ये ठूलो हिस्सा सेवामुलक क्षेत्रमा बढी छ ।

विभागका अनुसार चालु आर्थिक वर्षमा चीनबाट सेवामुलक क्षेत्रका ३४ उद्योगको लागि ११ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी आएको छ । सेवामुलक क्षेत्रका ३५ उद्योगमा विदेशी लगानी आएकोमा अर्काे एउटा उद्योगको लागि स्पेनबाट ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । सेवामुलक क्षेत्रका ३५ उद्योगका लागि कुल १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट ४ वटा लगानी प्रतिवद्धता आएको छ । प्रतिउद्योगमा १५ करोडका दरले ४ उद्योगमा ६० करोड लगानी प्रतिवद्धता आएको तथ्यांकमा उल्लेख छ ।
ऊर्जामूलक उद्योगमा नेदरल्याण्डबाट एक उद्योगमा ५ करोड ६० रुपैयाँ, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड लगानी आएको छ । जसमा चीनबाट दुई उद्योगमा २५ करोड, बेलायतबाट एक उद्योगमा ५ करोड र अमेरिकाबाट ३ उद्योगमा १५ करोड लगानी प्रतिवद्धता आएको छ ।

उत्पादनमूलक १९ उद्योगमा ३ अर्ब २४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । जसमा चीनबाट १४ उद्योगमा २ अर्ब, भारतबाट ३ उद्योगमा २४ करोड र सिंगापुरबाट १ उद्योगमा एक अर्ब र जापानबाट ५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा ९ अर्ब ५५ करोड रुपैयाँ प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै चीनबाट ४७ उद्योगमा ९ अर्ब १५ करोड लगानी प्रतिवद्धता आएको छ । यस्तैगरी, भारतबाट १ उद्योगमा ५ करोड, अमेरिकाबाट ३ उद्योगमा १५ करोड, स्वीटजरल्याण्डबाट, इटाली, फान्स र भितनामबाट एक/एक उद्योगमा ५/५ करोड लगानी प्रतिवद्धता आएको छ ।

Share News