कालीगण्डकीको बिजुली पनि भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँमा बिक्री
काठमाडौं । काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरु गरेकाे लागेको हो । प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्ने छ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ । वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात भएकाे विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’, घिसिङले भने । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ । प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश ः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ । यसैगरी, शनिबार प्रधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ ।
अर्थसचिवसहित जम्बो टोली लिएर अर्थमन्त्री बिरगञ्ज चिनी कारखानामा, दिए सञ्चालन गर्ने आश्वासन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीरगञ्ज चिनी कारखाना संचालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उनले जानकारी दिएका छन् । शनिबार बीरगञ्ज उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनीसहितको टोली बिरगञ्ज चिनी कारखानामामा पुगेर सञ्चालन गर्ने आश्वासन दिएर फर्केको हो । अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनीसहित राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान बीरगञ्ज चिनी उद्योगको निरिक्षण गरेका छन् । ‘बीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’ उनले भने, ‘६–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ उनले चिनी मिल संचालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन बीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए । वीरगञ्ज चिनी कारखाना रुस सरकारको सहयोगमा ०२१ सालमा स्थापना भएको हो । दैनिक १५०० टन उखु पेल्ने क्षमता यो उद्योगसँग छ । यो उद्योगमा सञ्चालनमा ल्याउन केही मेशिन मर्मत गर्नुपर्नेछ भने केही थप्नुपर्ने अवस्था रहेको एक सरकारी अध्ययनले देखाएको छ । बिरगञ्ज चिनी कारखाना ०६१ सालबाट बन्द छ । शर्माले आगामी आवको बजेटमार्फत् सो चिनिी कारखाना पुर्नसंचालनमा ल्याउने घोषणा गरेका छन् । उनले बजेट तथा सरकारको नीति–कार्यक्रमबाट बीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास दिलाए । कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले बीरगञ्जलाई वेवास्ता गरेको गुनासो गरेका थिए । सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल संचालनयोग्य रहेको जानकारी दिएका थिए । मन्त्री शर्माले पथलैया–बीरगञ्ज करिडोर, निजगढ बिमानस्थल र द्रुत मार्ग, चिनी कारखाना खोल्ने बिषय, सुख्खा बन्दरगाह, एकिकृत भन्सार जाँच चौकी निर्माणलगायतका माध्यमबाट बीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको बताए । यस्तै, आन्तरिक उत्पादन वृद्धिका माध्यमबाट दीगो अर्थतन्त्र निर्माण गर्ने, बिद्युतमा छुट दिएर स्वदेशी उद्योगको संरक्षण गर्ने, निर्यातमा ८ प्रतिशतसम्म प्रोत्साहन रकम दिने, तयारी र कच्चा बस्तुको आयातमा लाग्दै आएको भन्सार दरमा एक तहको अन्तर गर्नेलगायतका बिषयबस्तु राखेर देशभरका उद्योगीलाई सम्बोधन गर्नेक्रममा बीरगञ्जका व्यवसायी पनि समेटिएको बताए । यस्तै, उनले बाराको निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । बीरगञ्ज उद्योग बाणिज्य संघको ४६ आंै साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाए । ‘निजगढ बिमानस्थल बनाउनुपर्छ, बन्छ, यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उनले भने, ‘यो सरकारले निजगढ बिमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’ उनले त्रिभुवन बिमानस्थलको बैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ बिमानस्थल चाहिएको बताए । उनले निजगढ बिमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए । ‘मधेशलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ, यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तर्राष्ट्रिय यात्रुहरुलाई पनि आवात जावत गराउने हो’ उनले भने । सो कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताए । उनले कठिन आर्थिक अवस्थामा बजेट आएको बताउँदै दबाबमा रहेको अर्थव्यवस्थालाई सही दिशामा ल्याएर नेपाल र नेपालीको भाग्य बदल्ने प्रयत्न गरिएको बताए । ‘बजेटको माध्यमबाट आत्मनिर्भर हुने र उद्योग व्यापारलाई औद्योगिकरण गर्न खोजिएको छ’ अर्थ सचिव मरासिनीले भन्नुभयो, ‘निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा लिने संभवत सरकारको यो पहिलो दस्ताबेज हो ।’
बैंकले राम्रो साथ दिइरहेका छन्, युवाहरु ऋण लिएर व्यवसाय गर्नुस् : चन्द्र ढकाल
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताएका छन् । उनले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको आर्थिक समृद्धि र विकास पनि उनीहरुकै हातमा रहेकाे बताए । नेपाली युवा उद्यमी मञ्च चितवनको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै ढकालले उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आउन पनि युवाहरुलाई आह्वान गरे । उनले पहिलेजस्तो नभएर अहिले देशमा व्यवसाय गर्न सजह भएको र बैंक तथा वित्तीय संस्थाहरुले राम्रो साथ दिएको भन्दै देशका समग्र युवालाई देशभित्रै कुनै न कुनै व्यवसाय गर्न सुझाव दिए । वरिष्ठ उपाध्यक्ष ढकालले हाल देशमा व्यावसायिक वातावरण निर्माण भएको र देश विकास गर्नसक्ने क्षमताका युवाहरु उद्यमशीलतामा सहभागी हुँदा अझै राम्रो वातावरण बन्न जाने भन्दै नेपालका युवा व्यवसायीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष शिरिष पन्त, नेपाल युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष रितेश लामिछाने, उपाध्यक्ष सुवोधमान सैंजु, चितवन शाखाका अध्यक्ष राजेश गौतम लगायतले नेपालमा युवा उद्यमशीलताको वर्तमान अवस्था र आवश्यकतामाथि प्रकाश पारे । यसैबीच शुक्रबार साँझ सम्पन्न सो अधिवेशनले चितवन शाखाको अध्यक्षमा सूर्यभक्त अधिकारीलाई चयन गरेको छ । अधिकारी चितवनका इलेक्ट्रोनिक्स व्यवसायी हुन् । त्यसैगरी अधिवेशनले सो मञ्चको प्रथम उपाध्यक्षमा विकल दाहाल, द्वितीय उपाध्यक्षमा उमेश श्रेष्ठ, सदस्यहरुमा अजय गौतम, गोपाल, गौतम, निशान पौडेल, ई दीपक खनाल, राजन पौडेल र दिलीप पौडेल चयन भएका छन् ।