लोजिस्टिक कष्ट कम गरौं, औद्योगिक उत्पादन बढाऔं : अध्यक्ष गोल्छा

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशमा औद्योगिक उत्पादन बढाउन नेपालको लोजिस्टिक कष्टलाई घटाउनुपर्ने बताएका छन् । शुक्रबार २८औं काग्रो दिवसको अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । उनले काग्रो व्यवसायमा लाग्ने लोजिस्टिक कष्ट कम गर्न नसकेसम्म औद्योगिक उत्पादन नबढ्ने बताएका हुन् । ‘उद्योग वाणिज्य महासंघले भिजन पेपर ल्याएको छ, यसको लक्ष्य भनेको २०३० सम्म आफ्नो अर्थतन्त्रलाई सय मिलियन डलर पुर्याउने हो, यसको लागि अध्ययन अनुसन्धान गरेर १० वटा क्षेत्रमा १०० वटा इनिसियटिभ लिएका छौं, यसलाई सरकारले सकारात्मक रुपमा हेरेको तर ओनसिप भने लिएको छैन, त्यसैले सरकारले यसलाई प्राथमिकता देओस् र ओनसिप लिएर छिट्टै एमओयू गरोस् भन्ने हाम्रो चाहना हो, उनले बताए । त्यसैले, अर्थतन्त्रमा रहेका समस्याहरु अर्थात विशेष गरी लोजिस्टिकमा गर्नुपर्ने विषयमा केन्द्रित भई रोडम्याप तयार पारेर अघि बढ्नु पर्ने अध्यक्ष गोल्छाको भनाई छ । त्यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले पनि काग्रो व्यवसायलाई थप व्यवस्थित पार्न निर्यातमा टीडीएस काट्ने अहिलेको नयाँ व्यवस्थालाई संसोधन गर्नुपर्ने बताएका छन् । यसले काग्रोमा आवद्ध भएका १२५ व्यवसायलाई मारमा परेको उनको भनाई छ । ‘कोभिडमा पनि चलायमान भएको काग्रो व्यवसायलाई व्यवस्थित गर्न डुवानी गर्दाको समस्यालाई समाधान गर्नुपर्छ, एयर काग्रोभन्दा पनि रोड काग्रो महंगो भएको छ, यसलाई घटाउनतर्फ लाग्नुपर्छ,’ उनले भने । अध्यक्ष मल्लले अहिले व्यवसायीहरुले बजारमा तरलता अभाव र बैंकको उच्च ब्याजदर भोगिरहेको अवस्थामा राष्ट्र बैंकले सार्वजनिक मौद्रिक नीति कसिलो र पेचिलो बन्दै गएको बताए । उनले मौद्रिक नीतिले विगतमा व्यवसायीहरुलाई दिएको सुविधा समेत कटौती भएको तथा बैंकको ब्याजदरको बेस रेटको प्रिमियम समेत ४ पतिशत लिने नीतिले अत्याधिक महँगी बढाउनसक्ने बताएका छन् । त्यसैगरी, संसदमा पुगेको आर्थिक ऐनलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर, २०३० ले औंल्याएका केही विषयहरुमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए । साथै, उनले नेपालको लजिस्टिक्स नीति अन्तिम चरणमा पुगेको समेत जानकारी गराए ।  

एफएनसीसीआईको भिजन पेपरमा सम्झौता गर्दै सरकार, अन्तर्राष्ट्रिय व्यापार सहजिकरणमा विशेष जोड

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताएका छन् । शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताए । उनले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर, २०३० ले औंल्याएका केही विषयहरुमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए । मन्त्री बडूले नेपालको लजिस्टिक्स नीति अन्तिम चरणमा पुगेको बताए । उनले सरकारले अन्तराष्ट्रिय व्यापार सहजिकरणको लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम गरिरहेको बताए । मन्त्री बडूले मल्टिमोडल ट्रान्सफर याक्टको समयसापेक्ष संशोधन तथा नियमावली तत्काल जारी गर्ने प्रतिवद्धता जनाए । ‘नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले उठाउँदै आएको भारतको बन्दरगाहदेखि वीरगञ्ज सुख्खा बन्दरगाहसम्मको रेल्वे सेवामा निजी क्षेत्रका रेल्वे सेवाप्रदायकहरुलाई अनुमति दिनुपर्ने माग सम्बोधन भएको छ । यसबाट कार्गो व्यवसायी आयात निर्यात व्यवसायीहरुले तुलानात्मक लाभ लिएको विश्वास लिएको छु, अन्तर्राष्ट्रिय व्यापार सहजिकरणको लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम भइरहेको छ, नेपालको लजिष्ट्रिक नीतिको मस्यौदा मन्त्रीपरिषद्मा पुगिसकेकाले अन्तिम चरणमा पुगेको छ । नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर, २०३० ले औंल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको छ । मल्टिमोडल ट्रान्सफर याक्टको समय सापेक्ष संशोधन तथा नियमावली यथाशीघ्र जारी गरिने छ । यो मस्यौदा निर्माण गर्ने कार्यमा नेफो सक्रियताप्रति धन्यावाद दिन चाहन्छ,’ उनले भने । त्यस्तै, कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले छिटै लजिस्टिक्स नीति कार्यान्वयनमा ल्याउने चरणमा पुगेको बताए । उनले मन्त्रालयले व्यापार सहजिकरणको लागि अन्य पूर्वाधार निर्माणको काम पनि गरिरहेको बताए । सचिव पोखरेलले चालु आर्थिक वर्षमा उत्पादन बढाएर निर्यात गर्नको लागि सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएकाले कार्गो व्यवसायीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । सरकारले व्यापार सहजिकरण गर्न निर्माण गरेका पूर्वाधारहरुका विषयमा सरकार समीक्षा गर्न तयार रहेको भन्दै तयार भएका पूर्वाधारहरुको पूर्ण प्रयोग गर्न सचिव पोखरेलले व्यवसायीहरुसँग आग्रह गरे ।

सिरहामा विद्युत् चुहावट सात प्रतिशत घट्यो, पाँच करोड बक्यौता रकम असुली

लहान । सिरहामा विद्युत् चुहावट सात प्रतिशतले घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७८/७९ मा सिरहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी आएको हो । एक हजार ९७२ नयाँ ग्राहक थपिएका छन् । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट घटेर २५ प्रतिशतमा झरेको हो । गत आर्थिक वर्ष २०७७/७८ मा ३२ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७८/७९ मा विद्युत् चुहावट २५ प्रतिशतमा झेरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए । यस्तै आव २०७८/७९ मा विद्युत्को महसुल नबुझाउने एक हजार ७९४ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार ३५४ ग्राहकबाट पाँच करोड दुई लाख ६७ हजार बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवको भनाइ छ । त्यस्तै केन्द्रले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई पक्राउ गरी जरिवानाबापत  १६ लाख ४१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो क्रममा ७९ विद्युत् उपकरणसमेत बरामद गरिएको प्रमुख यादवले बताए । त्यस्तै विद्युत् मिटरबाट विद्युत् चोरी गर्ने १५ जनामाथि कारबाही गरी २१ लाख १७ हजार राजस्व सङ्कलन गरिएको केन्द्रले जनाएको छ । रिकनेक्सन दस्तुरबापत नौ लाख ८५ हजार राजस्व सङ्कलन भएको यादवले जानकारी दिए । आव २०७८/७९ मा एक हजार नौ सय ७२ ग्राहक थपिएका छन् । योसँगै लहान क्षेत्रमा ग्राहकको सङख्या ६५ हजार तीन सय २४ पुगेको छ । यसअघि आव २०७७/७८ वितरण केन्द्रले रु एक करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो । रासस