स्वदेशी वस्तुको उपयोग गर्न सके आयात घटछ
काठमाडौं । स्वदेशी वस्तुको उपयोग गर्नुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०७९।८० को कार्यक्रम कार्यान्वयन सम्वन्धी गरेको गोष्ठीमा सहभागीहरुले स्वदेशी वस्तुको प्रयोग गर्न सके मात्रै आयातलाई विस्थापन गर्न सहयोग मिल्ने बताए । सहभागी इन्जिनियरहरुलाई कार्यपत्र प्रस्तुत गर्दै नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले विदेशी वस्तुहरुको आयातले देश नै संकटतर्फ उन्मुख भइरहेको विषयलाई गम्भीर हुन सहभागी इन्जिनियरहरुलाई अनुरोध गरे । उनले यसकारण निर्माण क्षेत्रमा पनि स्वदेशी वस्तुहरुको उपयोगका लागि निर्माणकर्ताहरुलाई सिफारिस गर्न अनुरोध गरे । कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले स्वदेशी वस्तुका उपयोग नीतिलाई सरकारले अगाडि वढाउँदै लगेको बताए । उनले सवै नेपालीलाई स्वदेशी वस्तुको उपयोगका लागि आग्रह गरे ।
तनहुँका दस क्रसर उद्योग दर्ता बिना सञ्चालन
तनहुँ । जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन् । अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ । त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय, अन्तर्राष्टिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुई किलोमिटर, चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर र हाइटेन्सन लाइनबाट दुई सय मिटर दूरीमा उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ । कुनै सर्त पूरा नगरी र उद्योग पनि दर्ता नगरी सञ्चालन गर्ने उद्योगहरुमा विद्युत् आपूर्ति बन्द गर्न नेपाल प्राधिकरणमा पत्राचारका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ । जिल्ला अनुगमन समितिले विभिन्न मितिमा अनुगमन गरी मापदण्ड विपरीत सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न समितिले निर्णय गरे पनि अटेर गरी सञ्चालन गर्दै आएका जिल्ला समन्वय समितिका सुब्बा नरबहादुर मगरातीले जानकारी दिए। त्यसरी सञ्चालन भएका क्रसर उद्योगहरुमा शुक्लागण्डकी नगरपालिकाभित्र सात, म्याग्दे गाउँपालिकामा दुई र बन्दिपुरमा एकवटा छन् । शुक्लागण्डकी–७ स्थित ए सिक्स एग्रिगेट कम्पनी प्रालि, मेलमिलाप ढुङ्गा, बालुवा, गिट्टी उद्योग, शुक्लागण्डकी–२ मा एसएन एलए एग्रिगेट एन्ड क्रसर उद्योग प्रालि, सिद्धेश्वर एग्र्रिगेट एन्ड कङ्क्रिट ब्लक उद्योग, जय महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्रालि र शुक्लागण्डकी–५ स्थित प्रोपर कन्स्ट्रक्सन एन्ड क्रसर इन्डस्ट्रिज प्रालि छन् । त्यसैगरी म्याग्दे गाउँपालिका–४ र ५ मा क्रमश ः सेती दोभान ब्लक एन्ड एग्रिगेट उद्योग र ढोर बाराही एग्रिगेट इन्डस्ट्रिज रहेका छन् । अधिकांश क्रसर उद्योग घरेलु तथा साना उद्योग समितिलगायत अन्य निकायमा पनि दर्ता नगरी सञ्चालन गरेको भेटिएकाले बन्द गर्नका लागि निर्णय गरी सम्बन्धित पालिकामा परिपत्र गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।
सिरहामा एक हजार आठ सय ६५ नयाँ उद्योग दर्ता
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र ‘लोडसेडिङ’ले समेत खासै असर नपर्ने भएपछि जिल्लामा त्यस्ता उद्योग दर्ता गराउने क्रम बढेको हो । आर्थिक वर्ष २०७८/७९ मा एक हजार आठ सय ६५ नयाँ उद्योग दत्र्ता हुदाँ त्यसमा एक हजार २४३ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । दर्ता भएको नयाँ कृषिजन्य उद्योगमा कृषि, पशुपक्षी र माछापालनसम्बन्धी एक हजार एक सय २०, पशुपालनसम्बन्धी ७१, माछापालनसम्बन्धी १२, दुग्धजन्य उद्योग १४ वटा दर्ता भएको कार्यालय प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए । यस्तै आव २०७८/७९ मा सेवामूलक उद्योग चार सय ७७, उत्पादनमूलक उद्योग एक सय ४५ वटा दर्ता भएको प्रमुख यादवले बताए । यससँगै सिरहामा कृषि तथा वनजन्य उद्योग चार हजार १३, उत्पादन उद्योग एक हजार सात सय ५७ र सेवा उद्योग चार हजार सात १५ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या १० हजार तीन सय १५ पुगेको प्रमुख यादवले जानकारी दिए । यस्तै आव २०७८/७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट एक करोड ८१ लाख ३३ हजार दुई सय ९८ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव २०७७/७८ मा एक हजार नौ सय १३ नयाँ उद्योग दर्ता भएको थियो । अघिल्लो आव २०७७/७८ मा पनि सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय २२, सेवा उद्योगतर्फ छ सय पाँच र उत्पादन उद्योगतर्फ एक सय ८६ उद्योग दर्ता भएको थियो । अघिल्लो आव २०७७/७८ मा कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरापालनका १७ वटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । जिल्लास्थित बैंक तथा वित्तीय संस्थाबाट कृषिजन्य उद्योगमा ऋण लगानी हुन थालेको र अन्य उद्योगभन्दा कृषिजन्य उद्योगलाई बढ्दो लोडसेडिङले खासै असर नपार्ने भएकाले कृषिजन्य उद्योगतर्फ स्थानीयवासी आकर्षित भएको प्रमुख यादवको भनाइ छ । रासस