उद्योगीलाई आश्वासन दिँदै अर्थमन्त्री पौडेलले भने : पुसभित्रै सबै माग सम्बोधन गर्नेछौं

काठमाडौं । बैंकको चर्काे ब्याजदरको विरोधमा आन्दोलन गर्दै आएका व्यवसायीले आन्दोलन स्थगित भएको जनाएका छन् । बुधबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको बताएका हुन । बैंकको चर्को ब्याजदरको विरोधमा आन्दोलनरत सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी आन्दोलन रोकेर अर्थमन्त्री पौडेलले बोलाएपछि काठमाडौं आएका थिए । अर्थमन्त्री पौडेलसँग बुधबार भएको वार्तासँगै आन्दोलन स्थगित भएको एक व्यवसायीले जानकारी दिए । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणको नेतृत्वमा अर्थमन्त्री पौडेल, राष्ट्र बैंकका गभर्नर महासप्रसाद अधिकारीसहित उद्योगी व्यवसायीहरूको वार्ता भएको थियो । व्यवसायीसँग मन्त्री पौडेलले पुस महिनाभित्र सबै माग सम्बोधन गर्ने आश्वासन पाएपछि आन्दोलन स्थगित भएको व्यवसायीहरुले बताएका छन् । यसअघि उद्योगी व्यवसायीहरूका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अर्थमन्त्री पौडेलसँग मंगलबार पनि भेटेर आफ्ना माग तथा सुझाव राखेका थिए।

सीमा क्षेत्रमा अवैध आयात र व्यापारमा कडाइ गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मेला महोत्सवको आवश्यक सहयोगको व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरेको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेर नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूले गर्नका लागि सहयोग गर्न आग्रह गरेको हो । महासंघका अध्यक्ष गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ गरेका थिए । ‘महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रवन्धका लागि अनुरोध छ, सिमाक्षेत्रबाट हुने अवैध आयात/व्यापार नियन्त्रणमा कडाइ गर्न आग्रह छ, शान्ति सुरक्षा कायम गर्नु पर्याे,’ उनले भने । गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेको बताएका छन् । महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा ल्याउने उनले बताए ।

निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, मनोबललाई उच्च बनाएर काम गर्छु : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधामन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुलाई मनोबल बलियो बनाएर काम गर्न आग्रह गरेका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले समस्या समाधानका लागि आफू प्रतिवद्ध भएको बताए । साथै उनले मनोबल दह्रो बनाएर अघि बढ्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । ‘अर्थतन्त्र जोगाउन सरकारले समर्थन गर्छ, तपाईहरू दह्रो मनोवलका साथ काम गर्नुहोस्, समस्याको समाधान गर्न हामी प्रतिवद्ध छौं, समस्या छ भने समाधान पनि गर्न सकिन्छ,’ उनले भने । आफ्नो कामको पहिलो शुरुवातनै महासंघको प्रतिनिधिमण्डलसँगको भेटबाट भएको उनले बताए । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट रहेको उनले बताए । ‘सरकार र निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको छ, निजी क्षेत्रको मनोवल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईहरूको मनोवललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुन्छ, म तपाईहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्ने छु,’ उनले भने । नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवहरुसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि सुुझाव समेत पेश गरेका थिए । अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रूपमा चालू पूँजी कर्जा मार्ग निर्देशन रहेको बताए । उनले यस व्यवस्थालाई कम्तीमा २ वर्ष स्थगन गर्न सुझाव दिए । तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रमा बहुुआयामिक असर परेको छ, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन सकेको छैन, विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेका छन्, उद्योगी व्यवसायीहरु बाध्य भएर सडकमा आउने परिस्थिति बनेको छ, त्यसको अन्त्य गरिदिनुपर्याे,’ उनले भने ।