नवलपरासीको अवैध क्रसर उद्योग बन्द
नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा कूल सात वटा क्रसर उद्योग रहेकोमा एउटा यस अघिनै बन्द थियो । मन्त्रालयको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । ‘बन्द गरिएका उद्योगलाई तीन दिनभित्र सक्कल कागजातसहित जिल्ला प्रशासन कार्यालयमा सम्र्पक राख्न भनिएको छ’, पोखरेलले भने । सुनवल नगरपालिका ११ को ईन्द्रेणी क्रसर उद्योग, सुस्ता गाउँपालिका ५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट नगरपालिका १३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल गाउँपालिका २ को मामाभाञ्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामग्री प्रालि, सुनवल नगरपालिका ४ को नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर गाउँपालिका ९ मा हुलाकी सडक आयोजनाद्वारा सञ्चालित क्रसरलाई बन्द गराइएको हो । सुनवल ४ मा रहेको लुम्बिनी रोडा क्रसर उद्योग यसअघि देखिनै बन्द छ । जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा थिए ।
गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय
गोरखा । गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिए । ‘दर्ता भई सञ्चालन रहेर पनि नवीकरण नभएका, आयोजनाको नाममा अनुमति लिएर आयोजना सम्पन्न भएपछि पनि सञ्चालन भइरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय बैठकले गरेको छ’, उनले भने, ‘त्यसबाहेक आयोजनाको नाममा अन्यत्र निर्माण सामग्री बिक्री गर्दै आएका क्रसर उद्योग तथा अवैध बालुवा प्रशोधन उद्योग पनि बन्द गर्ने निर्णय गरिएको छ ।’ गोरखामा सञ्चालनमा रहेका अधिकांश क्रसर उद्योग दर्ता भएर पनि नवीकरण नभएको र दर्ता भएको ठेगानामा सञ्चालनमा नरहेको पर्यटन तथा घरेलु उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलको भनाइ छ । जिल्लामा अहिले सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखकाली क्रसर उद्योगले दर्ता नवीकरण नगरी उद्योग सञ्चालन गरिरहेका छन् । यी उद्योगको २०७३/७४ मा नै म्याद सकिएको भए पनि अहिलेसम्म पनि नवीकरण नगरी सञ्चालनमा रहेको उनले बताए । बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका १२ भन्दाबढी बालुवा प्रशोधन उद्योग तत्कालका लागि बन्द गर्ने निर्णय गरेको उनले बताए । सञ्चालनमा रहेका बालुवा प्रशोधन कसरी सञ्चालन भइरहेका छन् भन्ने बारेमा सम्बन्धित स्थानीय तह अनविज्ञ छन् । बैठकले सञ्चालित प्रशोधन उद्योग कानुन विपरित भए नभएको अनुसन्धान गरेर मात्र थप निर्णय गर्ने उनले बताए । बन्द गरिएका उद्योगमा रहेका कच्चापदार्थ स्टक प्रमाणित गरी सात दिनभित्र विवरण पठाउन भनिएको छ । मापदण्ड विपरित रहेका उद्योग बन्द गराउन स्थानीय तहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय बैठकले गरेको प्रमुख थापामगरले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख थापामगरको अध्यक्षतामा भएको बैठकमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तन, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिना (साकार), गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आर्चाय लगायतको सहभागिता रहेको थियो ।
कपिलवस्तुका ३३ वटा अवैध क्रसर उद्योग बन्द
कपिलवस्तु । जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नविकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् । त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको ११ वटा, विजयनगर गाउँपालिकामा रहेको दुई वटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेको एक–एकवटा क्रसर उद्योग बन्द गराइएका हुन् ।