युट्युब हेरेरै उद्यमी बनेका भुवनले तीन महिनामै असुल गरे लगानी

बझाङ । सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केही सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बनेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बनेका युवा हुन भुवन जोशी । करिब एक दशकसम्म शिक्षक पेसामा आबद्ध जोशीले युट्युबकै सहारामा गत वर्ष न्यू मालिका फुड्स एण्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याए । खप्तडछान्ना गाउँपालिका–७ धर्तिवाडा बझाङका जोशीले व्यवसाय सुरु गरेको एक वर्षमै दोब्बर कमाइ गरे । स्नातक उत्तीर्ण गरेलगत्तै निजी तथा सामुदायिक विद्यालयमा अध्यापन गराएका जोशी विद्यालयमा झन्झटिलो भएर काम गर्नुभन्दा स्वतन्त्र हुन व्यवसाय गर्न चाहन्थे । दैलेखको एक निजी विद्यालयमा तीन वर्ष र अछामको एक सामुदायिक विद्यालयमा छ वर्ष काम गरेपछि उनलाई कुनै नै कुनै व्यवसायमा आबद्ध हुने सोच पलायो । ‘अब कुनै न कुनै व्यवसायमा हात हाल्नुपर्यो सोचिसकेको थिएँ’, उनले भने , ‘दिनभरि विद्यालयमा पढाउँदा पनि डाकै सुकिहाल्ने । बिहान–बेलुका मोबाइल हेर्दैमा ठिक्क । एक दिन युट्युबमा प्रेरणादायी कथा सुन्दै गर्दा सडकबाट करोडपति भएका व्यवसायीसँग ठोक्किए । तिनका कुराहरू बुझ्दै जाँदा जुनसुकै पेसा व्यवसायमा पनि मेहनतले फल दिन्छ भन्ने बुझेँ र अछामबाट दशैँ बिदामा घर आएँ ।’ दशैँ बिदामा घर आएको बेलामा शिक्षक पेसा छोडेर व्यवसाय गर्छुभन्दा जोशीलाई परिवारले ठाडै अस्वीकार गर्यो । भएको शिक्षक पेसा छाडेर व्यवसाय गर्छु भन्दै डुल्न खोजेको भन्दै कसैले पनि उनको कुरा सुन्नै चाहेन । परिवारको सुझाव बेवास्ता गर्दै जोशीले विद्यालय छाडिदिए । आफू विद्यालयमा आउन नसक्ने भन्दै प्रअलाई टेलिफोन गरे र गाउँमै बस्न थाले । दुई–चार दिन परिवारमा नरमाइलो भयो । जोशी गडरायतिर डुलिरहेका थिए । पालिकाभरि नै डुले। बाहिरबाट ल्याएको चाउमिन महँगोमा किन्नुपर्ने व्यवसायीको गन्थन सुने । त्यसपछि उनको सोच चाउमिन उद्योगमा गयो । ‘गडरायमा चाउमिन उद्योग सञ्चालन गर्नुपर्यो भनेर कैलालीका उद्योगीसँग सल्लाह लिएँ’, उनले भने, ‘कैलालीबाट फर्कँदा मेसिनलगायतका सामान लिएर आएँ । युट्युब हेर्दै जडान गरेँ । त्यसरी नै सिके । युट्युब हेर्दै सिक्न एक महिना नै लाग्यो । त्यसपछि चाउमिन बनाउने भइसकेँ ।’ बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उनको दैनिकी भयो । विस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनालाई रोजगारीसमेत दिए । गत वर्ष गडरायलाई मात्र पुग्ने चाउमिन अहिले दुई पालिकाभर जान्छ । आजभोलि दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरिरहेको उनि सुनाउँछन् । जोशीको उद्योगबाट अहिले बझाङ, बाजुराका क्रमशः खप्तडछान्ना र खप्तडछेडेदह गाउँपालिकाका होटलमा चाउमिन छ्यापछ्याप्ती छ । जोशीका अनुसार मागअनुसार चाउमिन उत्पादन गरिन्छ । ‘हामी मागअनुसार चाउमिन उत्पादन गर्छौँ । नियमित डेढ क्विन्टल हो । मागअनुसार चार–पाँच क्विन्टल पनि बनाउँछौँ’, उहाँले भन्नुभयो । बाजुरामा मात्रै जोशीले उत्पादन गरेको चाउमिन दैनिक ७०–८० केजी जान्छ । बझाङमा भने माग पु¥याउनै नसकेको उनी बताउँछन् । उनी बजारमा चाउमिन पु¥याउन पनि आफैँ जान्छन् । बिहानभर चाउमिन बनाउने र दैनिक बिक्री गर्ने गरेको उनी बताउँछन् । तीन महिनामै असुल भयो लगानी जोशीले चाउमिन उद्योग सञ्चालन गरेको तीन महिनामै लगानी असुल भइसकेको थियो । ‘सुरूआती तीन महिनामै लगानी असुल भइसक्यो’, उनी भन्छन्, ‘अब जति गर्न सक्यो, त्यो आफ्नै फाइदा हुन्छ, तर भने जति पु¥याउन सकेको छैन ।’ उनका अनुसार अहिलेसम्म कतैबाट अनुदान सहयोग भने प्राप्त भएको छैन । ‘अहिलेसम्म माग गरेको ठाउँबाट केही पाइएन, अहिले पनि दुई ठाउँमा अनुदानका लागि निवेदन हालेको छु”, उनले भने, “अनुदान पाइयो भने उद्योग नै बढाउने थिएँ । दुई–चार जना कर्मचारीसमेत थपेर व्यवसाय बढाउने सोच छ । त्यसका लागि लागिरहेको छु ।’ जोशीले उद्योग सुरु गर्दा सुरुमा पाँच लाख लगानी गरेका थिए । ‘सुरु गरेको एक महिनामा सिक्नै लाग्यो । अलि–अलि बिक्री पनि भयो । दोस्रो महिनाबाट भने दशैँको सिजनमा गडरायमै चाउमिन जति पनि खपत हुने भयो । त्यही दुई महिनाको आम्दानीबाट लगानी असुल भयो । अहिले हरेक महिना डेढ–दुई लाखसम्मको कारोबार भइरहन्छ’, उनी भन्छन् । अहिले भुवनको काम देखेर परिवारमा पनि सबै खुसी छन् । ‘सुरुमा जागिर नछोड् भनेका हौँ’, उनका दाजु वाल्मीकि जोशीले भने, ‘अहिले भने घरमै भाइले धेरै राम्रो व्यवसाय गरिरहेको छ । त्यसको कामप्रति परिवारमा सबै खुसी छन् ।’ जोशी अहिले बेरोजगार युवाका लागि प्रेरणाका स्रोत भएका छन् । ‘काम गर्नेलाई यहाँ पनि राम्रै छ । यसै छान्नामा पनि चार–पाँचवटा चाउमिन उद्योग राम्रै चल्छन् । तर गर्ने मान्छे छैनन् । चाउमिनमा मात्रै नभई मिल, काठे उद्योग, तरकारी खेतीलगायतका काम गर्न सकिन्छ ।’ उनले चाउमिनमा भने कम मेहनत, छोटो समयमा धेरै राम्रो उपलब्धि हुने गरेको बताए। चाउमिनमा दैनिक चार घण्टा काम गरे पर्याप्त हुने उनी बताउँछन् । ‘दैनिक चार घण्टा त मेसिनमा पिठो तयार बनाउनसम्म खटेरै काम गर्नुपर्छ । बाँकी समय त बजार डुल्ने हो । यसमा खर्च पनि दाउरा र इन्धनमात्रै लाग्छ, धेरै खर्च पनि हुँदैन’, उनी भन्छन् । रासस

नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन्। पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् । नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ। राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुनसक्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताए । ‘यहाँ कृषि, पर्यटन र सेवामूलक उद्योग दर्ताको क्रम धेरै छ, सायद जिल्ला यसका लागि अनुकूल भएर हुनसक्छ, साथै कृषितर्फ राज्यले दिने अनुदान सहयोगका कारणसमेत आकर्षण भएको हुनसक्छ’, उनले भने । वाणिज्यतर्फ भने नवलपुरमा तीन सय ६८ वटा नयाँ व्यवसाय थप भएका छन् । ६ महिनाको अवधिमा यो सङ्ख्यामा नयाँ वाणिज्य दर्ता भएको कार्यालय प्रमुख खनालले बताए । नवलपुरमा उद्योग तथा वाणिज्यको कुल सङ्ख्या १५ हजार दुई सय ५० पुगेको छ । चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्यको सङ्ख्या जोड्दा यो मात्रामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य नवलपुरमा रहेका पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले बताए । जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य राजमार्गमा जोडिएका पालिकामा नयाँ थपिने क्रम धेरै रहेको छ। त्यसको तुलनामा पहाडी क्षेत्रमा भने निकै कम मात्रामा उद्योग तथा वाणिज्य थपिने क्रम रहेको छ। जिल्लाको सदरमुकाम कावासोतीसहित देवचुली, गैँडाकोट र मध्यविन्दुमा नयाँ उद्योग तथा वाणिज्य दर्ता हुने क्रम धेरै रहेको छ । यसैबीच उद्योग तथा पर्यटन कार्यालयले चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्य दर्ताबाट ४० लाख छ हजार राजस्व सङ्कलन गरेको छ। जसमध्ये उद्योग दर्ताबाट १८ लाख ८८ हजार छ सय २५ र वाणिज्य दर्ताबाट २१ लाख १७ हजार चार सय ५० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख खनालले बताए । रासस

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्योग सुरु

पर्वत। श्रमिकका रुपमा पाँच वर्ष दुवईमा बिताएपछि पर्वत पैँयू गाउँपालिका–६ साधनेका प्रेमचन्द्र भारतीले यतिबेला गाउँमै उद्यम सुरु गरेका छन् । गाउँमै केही गरौँ भन्ने उद्देश्यले उनले २५ लाख लगानीमा स्थानीयस्तरमै उत्पादित कृषिउपज तथा मसलाजन्य वस्तुको प्रशोधन,  प्याकेजिङ र ब्राण्डिङ सुरु गरेको हो । दुवईमा काम गर्दा सोचे जस्तो कमाइ नभएपछि स्वदेश फर्किएर उद्यमी बनेको उनको भनाइ छ । उनले आगामी दुई वर्षमा यहाँ उत्पादित वस्तुलाई विदेशसम्म पु¥याउने योजनाका साथ काम अघि बढाइएको बताए । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न, उत्पादनको बजारीकरण गर्नका लागि अग्र्यानिक खाद्य प्रशोधन तथा प्याकेजिङ उद्योगको स्थापना गरिएको उनको भनाइ छ । उनले कोदो, मकै, बोडी, सिलाम, राज्मा, गुन्द्रुक, मस्यौरा, टीमुर, लोकल चामल, घिउलगायतका उत्पादनलाई सङ्कलन, प्रशोधन तथा प्याकेजिङ गर्दै आएका छन् । उद्योगले हाल ‘गाउँले’ ब्राण्डमा फागुन १ देखि बजारमा पठाउने गरी तयारी गरेको गरेको उनको भनाइ छ । ‘स्थानीयतहमा उत्पादन भएका खाद्यान्न बजारसम्म नपुग्दा खेर जाने अवस्था थियो, बिक्री भएका उत्पादनले पनि उचित मूल्य नपाउने अवस्थालाई ध्यानमा राख्दै उद्योग स्थापना गरिएको हो’, भारतीले भने । स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको भनाइ छ । भारतीले सुरु गरेको उद्योगमा आवश्यक मेसिनरी उपकरण खरिदका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता ठकुरीले गरुेका छन्। ‘पालिकाभित्र उद्योग सञ्चालन गरी व्यवसायी र आत्मनिर्भर बन्न चाहेमा सहयोग गर्छौ’, उनले भने । रासस