एनबीसीसीआईको १९ सदस्यीय टोली ब्राजिल भ्रमणमा, नेपालसँगको व्यापारिक सम्बन्ध थप उचाइमा पुर्याउने
काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनबीसीसीआई)को प्रतिनिधिमण्डल एक हप्ते ब्राजिल भ्रमणमा गएका छन् । संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल फागुन ४ गतेदेखि फागुन १२ गते (१६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म) ब्राजिल भ्रमणमा रहने भएका हुन् । १९ सदस्यको उक्त टोली नेपाल र ब्राजिलबिचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पुर्याउनका लागी ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमणमा रहनेछन् । साथै, उक्त अवसरमा एक विशेष समारोहको आयोजना गरी ब्राजिलियन महामहिम राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले सम्पूर्ण टोलीलाई बिदाई गरेका थिए । उमेश रायमाझी र संयोजक नीरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ । प्रतिनिधिमण्डलमा नेपालका व्यापारी प्रतिनिधिहरू; विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईँ, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी, निर्मल राज पौडेलको सहभागिता रहेको छ ।
टर्कीका भुकम्प पीडितलाई महासंघले पठायो राहत सामग्री
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले टर्कीका भुकम्प पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । टर्कीमा गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूलाई सहयोग पुगोस भन्ने उद्देश्यले राहत सामाग्री हस्तान्तरण गरेको महासंघले जनाएको छ । महासंघले उक्त राहत सामाग्री गृह मन्त्रालय तथा राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो । महासंघले ज्याकेट, टाउजर, स्लीपीङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट लगायतका राहत सामाग्री पठाएको जनाएको छ । उक्त राहत सामाग्रीहरुमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले पनि सहयोग गरेको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको बताएको छ ।
कोइला अभावसँगै बन्द भयो हेटौंडा सिमेन्ट उत्पादन
काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ । उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गरे । कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ । लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो । दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको भए पनि पुरानो मेसिनरी समस्या र जनशक्ति अभावमा सो अनुसार उद्योगबाट सिमेन्ट उत्पादन हुन सकेको छैन । उद्योग विगत चार वर्षदेखि घाटामा छ । उद्योग विसं २०३३ मा एशियाली विकास बैंकको सहयोगमा स्थापना भएको थियो । रासस