भारतबाट हुने अवैध आयातले नेपालगञ्जका उद्योग व्यवसाय धराशायी भएको गुनासो
नेपालगञ्ज । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरुपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक सङ्कटमा फस्नसक्ने उनले बताए । नेपालगञ्जका अगुवा व्यापारी कृष्णप्रसाद श्रेष्ठले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले सङ्घर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको जनाउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताए । आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गरे । भारतसँग जोडिएको बाँकेमा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरुपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उनको भनाइ छ । बाँकेको भारतसँग जोडिएको ६५ किमीको खुला सीमानाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ । ग्रामीण नाकामा रहेका सात छोटी भन्सार कार्यालय करिब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन् । छोटी भन्सार कार्यालय नहुँदा ग्रामीण नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेका कारण राजस्व सङ्कलन घटेको छ । रासस
हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो
हेटौँडा । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ । उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए । बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए ।
अढाई दशकपछि दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको कामले गति लिँदै
दोधारा चाँदनी । विसं २०५१ मा घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । अढाई दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिकास्थित औद्योगिक क्षेत्रको कार्यालय स्थापना भएसँगै कामले गति लिएको हो । विसं २०७७ फागनु १० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए। अहिले कार्यालय स्थापनासँगै औद्योगिक क्षेत्रको रूख छपानको काम अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक महिनाभित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर औद्योगिक क्षेत्रमा रूख कटान सुरु गरिने बताए । ‘म जति दिन मन्त्री रहन्छु औद्योगिक क्षेत्रको काम अघि बढाउन लाग्नेछु’, उनले भने, ‘एक महिनाभित्रै औद्योगिक क्षेत्रमा रूख कटानी हुन्छ लगत्तै यहाँ भौतिक पूर्वाधारका काम अघि बढ्नेछन् । अब पश्चिमबाट औद्योगिक विकास हुन्छ ।’ ‘औद्योगिक क्षेत्रको भोगाधिकार र अन्य प्राविधिक सबै समस्या समाधान गर्न मन्त्रालय लागेको छ’, मन्त्री भण्डारीले भने, ‘यो निमार्णका लागि बजेट पनि कमी हुन दिइने छैन ।’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सञ्जयलाल मानन्धरलेरूख छपानको काम सकिएलगत्तै मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्र भौतिक संरचना निर्माण अघि बढ्ने बताए । ‘रूख कटानपछि पहिलो चरणमा यहाँ बिजुली बत्तीलगायत आवश्यक काम गरिनेछ त्यसका लागि हामी प्रक्रियामा गइसकेका छौँ’, उनले भने, ‘दोस्रो चरणमा प्रशासनिक भवन र भौतिक पूर्वाधारहरु निर्माण हुनेछन् ।’ महाप्रवन्धक मानन्धरले उक्त औद्योगिक क्षेत्रमा एक उद्योगका लागि पाँच कट्ठादेखि पाँच बिघा जमिन छुट्याइएको बताए । ‘औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान गरेका छौं’, उनले भने, ‘उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजारले रोजगारी पाउनेछन् । औद्योगिक क्षेत्रमा एक सयवटा प्लट रहने गरी साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याइएको छ । ‘ नगर नगरप्रमुख भोजराज बोहराले औद्योगिक क्षेत्र निर्माणका लागि प्रक्रियागत उल्झनमै बढी समय लागे पनि अब ढिलाइ गर्न नहुने बताए । ‘वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार २७ हजार रूख भएको सो क्षेत्रमा अहिले ४१ हजार रूख छपान भएका छन्’, उनले भने, ‘औद्योगिक क्षेत्र स्थापनाका लागि नगरपालिका लागिपरेको छ । देखिएका प्राविधिक समस्या समाधानका लागि हामीले पहल गरिरहेका छौँ ।’ औद्योगिक क्षेत्रको कार्यालय स्थापनापश्चात् यहाँका वासिन्दामा समेत आशा जागेको छ । ‘अहिले रूख छपानको काम पनि भइरहेको छ कार्यालय पनि खुलिसक्यो अब त बन्छ होला ।’ औद्योगिक क्षेत्र नजिकै घर भएका धनबहादुर चौधरीले भने, ‘बने त हामीलाई पनि रोजगारी पाउने आशा छ छोराछोरीले रोजगारी गर्न विदेश जानुपर्ने थिएन ।’ यो औद्योगिक क्षेत्रको निर्माण भएपश्चात् सुदूरपश्चिमको आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ । रासस